बेलायतमा फेरि लकडाउन घोषणा

Southbank tower bridge istock 000035601518 small

एजेन्सी । नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार देशव्यापी लकडाउन घोषणा गरेका हुन । उनले लकडाउन फेब्रुअरी मध्यसम्म लागू हुने जानकारी दिए। कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तिव्र रुपमा फैलिन थालेको छ ।

प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन। उनले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गरेको वक्तव्यमा उल्लेख गरिएको छ । गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उनको भनाइ छ। “नयाँ प्रकारको भाइरस तिव्ररुपमा फैलिएको छ, त्यसैले यो समय उच्च सतर्कता अपनाउनु पर्ने समय हो,” उनले भने।

उनले बेलायती अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नु पर्ने अवस्था रहेको पनि उल्लेख गरेका छन। एक टेलिभिजनमा बोल्ने क्रममा उनले देशभरी फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरे।

मंगलबारदेखि लकडाउन अन्तर्गत प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ। भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ।

विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्किने भएका छन् । मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नु पर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ । अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत बृद्धि भएको छ।

प्रतिकृया दिनुहोस