पर्यटकीयस्थलमा बढ्यो चहलपहल  

Tourist nagarkot newskarobar

काठमाडौँ । पछिल्लो समय काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आउनेहरुको चहलपहल बढेको छ ।

जिल्लास्थित नगरकोट, धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, अनेकोटको भ्यूटावर र रोशीको तीनधारे झरनालगायत पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

ती पर्यटकीय क्षेत्रको रमणीयताले अधिकांश मानिसलाई लोभ्याउने गरेको छ । प्रकृतिको सुन्दरतामा रम्न चाहनेको अहिले ती क्षेत्रमा भीड नै लाग्ने गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयसम्म सुनसान बनेको पर्यटकीयस्थलमा घुम्न जाने आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको स्थानीयवासीको भनाइ छ । शान्त वातावरण र स्वच्छ हावापानी एवं सुन्दर दृश्यावलोकन गर्नका लागि ती पर्यटकीयस्थलमा हिजोआज सयौँको सङ्ख्यामा घुम्न जानेको लर्को नै देख्न सकिन्छ ।

यतिखेर अनेकोटको भ्यूटावर (दृश्यावलोकन स्तम्भ) मा आन्तरिक पर्यटकको आइरो लाग्ने गरेको स्थानीयवासी बताउँछन् । दशैँ र तिहार पर्वको समयमा भ्यूटावर घुम्न दैनिक पाँच सयभन्दा बढी पर्यटक आउने गरेका छन् ।

पछिल्लो समयमा आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बनेको सो स्थलमा पर्यटक मात्रै नभई वनभोज जाने र युगल जोडीको समेत रोजाइको स्थल बन्ने गरेको छ । भौगोलिक र प्राकृतिक सुन्दरताका कारण सो ठाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

पाँचखाल नगरपालिका–१ स्थित भौगोलिक हिसाबले अग्लो, रमणीय, हरियाली वनजङ्गल भएको र शान्त वातावरणमा बसेर नजिकबाट हिमशृङ्खला अवलोकन गर्न पाउने भएका कारण पनि यो ठाउँप्रति पर्यटकको आकर्षण बढ्दै गएको छ ।

स्थानीय सोनाम तामाङले बन्दाबन्दीको बेलामा फाट्टफुट्ट मात्रै घुम्न आउने गरेको पाइएकामा अहिले यो सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । बनेपा र धुलिखेलबाट निकै नजिक रहेको कारणले पनि धेरैजसो मानिस सो ठाउँमा पुग्ने गरेका छन् । तत्कालीन शान्ति मन्त्रालयको करिब रु ४२ लाख लागतमा पाँचतले दुश्याबलोकन स्तम्भ निर्माण गरेपछि पर्यटकको आकर्षण बढेको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै धुलिखेलको देवीस्थानडाँडा त्यहाँ रहेको प्राकृतिक चुच्चेढुङ्गाका कारण प्रख्यात छन् । अग्लो डाँडाबाट वरिपरिका सबै दृश्यका साथै हिमालका सुन्दर दृश्यावलोकन गर्न पाउने भएका कारण पर्यटक त्यहाँ आकर्षित भएका हुन् ।

बस्नका लागि प्रशस्त होटल र रेष्टुरेन्ट भएका कारण पनि आन्तरिक पर्यटकको आवागमनमा वृद्धि भएको स्थानीयवासी बताउँछन् । पछिल्लो समयमा नगरपालिका र प्रदेश सरकारको सहयोगमा देवीस्थानमा निर्माण भएको शान्ति उद्यान र बलभद्र कुँवरको शालिकसँगैको उद्यानका कारण यहाँको आकर्षण बढेको त्यहाँ घुम्न आउनेहरु बताउँछन् ।

पर्यटकका लागि अर्को आकर्षक गन्तव्य भनेको नमोबुद्ध हो । धार्मिक, ऐतिहासिक र प्राृकतिक सुन्दरताका कारण पछिल्लो समय त्यहाँ घुम्न जानेहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइन्छ । रोशी गाउँपालिका–ं २ काफलडाँडास्थित तीनधारे झरना पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

प्राकृतिक सुन्दरताका दृष्टिकोणले निकै मनमोहक रहेको सो झरना अवलोकनका लागि पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । महाभारत लेकको कञ्चन पानी, अग्लो झरना र हरियाली वनजङ्गलको बीचमा रहेको झरना पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

सडक पूर्वाधारको विकास भएका कारण साना सवारी साधन लिएर वनभोज गर्न समेत पाउने भएकाले पछिल्लो समय यो क्षेत्र साथीभाइ तथा पारिवारिक जमघटका रूपमा समेत विकास हुँदै गएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...