अमादब्लम आरोहणमा आकर्षण

Ambad himal

काठमाडौं । कोभिड–१९ महामारीका बीच सगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ ।

विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथा भन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ ।

यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका नेपाल र विदेशी सदस्य मंगलबार अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मंगलबार अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिंचाउँदै आरोहणमा उत्साह प्रदान गरेका छन् । उनले १४ पटक सगरमाथा आरोहण गर्ने क्यान्टनसँग अमादब्लमको आधार शिविरमा भेट हुँदा खुशी लागेको बताए ।

पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘बेलायती नागरिक क्यान्टनसहित आरोहण दलका नेपाली तथा विदेशी सदस्यहरुसँग अमादब्लम हिमालको आरोहणका क्रममा आधार शिविरमा भेट हुँदा खुशी लाग्यो । कोभिड– १९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेको छ । सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढौं ।’

पर्वतारोहण विषयमा जानकार नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पा संसारकै सुन्दर हिमाल अमादब्लम आरोहणमा खासगरी विदेशीको आकर्षण बढ्दो रहेको बताउँछन् । ‘अमादब्लम हिमाल पहिला सगरमाथाभन्दा पनि चर्चित थियो । विदेशीले यो हिमाल आरोहण गरेका छन्’, उनले भने ।

शेर्पाका अनुसार शरद तथा आरोहणका लागि चर्चित वसन्त ऋतुमा धेरै विदेशी आरोही अमादब्लम आरोहणका लागि आउने गरेका छन् । पछिल्ला वर्ष धेरै स्वदेशी आरोहीले अमादब्लम चढेका छन् । हालसम्म कति सङ्ख्यामा आरोहण भयो भन्ने यकिन विवरण छैन ।

वसन्तमा सगरमाथा, कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण, ल्होत्सेलगायत हिमाल आरोहणमा आरोहीको ओइरो लाग्ने गरेको छ । शरद् ऋतुमा साना चुचुरा चढ्न र पदयात्राका लागि धेरै विदेशी आउँछन् ।

यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६ हजार ८१४ मिटरको अमादब्लम हिमालको सफल आरोहण गर्नुभएको थियो । राजकुमार अब्दुल्लासहित १४ सदस्यीय टोलीले आमादब्लमको शिखर चुमेको हो । उक्त टोलीमा ६ विदेशी आरोही सदस्य थिए ।

त्यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली ८ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

कोभिड –१९ का कारण शिथिल मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिले विदेशी विशिष्ट व्यक्ति तथा स्वदेशी आरोहीबाट भइरहेका आरोहण र पदयात्राले थप उत्साह जगाएको छ । यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव गरेको सरकार तथा व्यवसायीको धारणा छ ।

कोभिड महामारीका अवस्थामा पनि स्वदेशी तथा विदेशी आरोहीको आरोहणले नेपालको पर्वतीय पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने विभागको पर्वतारोहण शाखा प्रमुख निर्देशक आचार्यले बताए । यी आरोहणले सन् २०२१ वसन्त ऋतुको आरोहणका लागि आधार तयार भएको उनको भनाइ छ ।

एशियन ट्रेकिङका संस्थापक आङछिरिङ शेर्पाले महामारीकै बीच अमादब्लमलगायत अन्य हिमालमा विशिष्ट व्यक्तिको आरोहणले पर्यटनमा उत्साह जगाएको र व्यवसायीलाई आशावादी तुल्याएको बताए । आरोहण, पदयात्रालगायत गतिविधिले पर्यटन छिट्टै पुरानै लयमा फर्किने उनको विश्वास छ ।

अहिले सेभेन समिट ट्रेक कम्पनीबाट आरोही मिङ्मा शेर्पा अमादब्लम हिमाल आरोहणको क्रममा छन् । अर्का आरोही टासीलाक्पा शेर्पाको टोली पनि अमादब्लम हिमाल आरोहणका लागि गएको छ । त्यस्तै अन्य कतिपय ससाना टोली आरोहणमा निस्किएका छन् । यही याममा एशियन ट्रेकिङबाट दावा स्टेभन शेर्पासहितको टोलीले मेरापिक र बरुन्छे हिमाल आरोहण गरेको छ ।

पर्यटन विभागको पछिल्लो विववरणअनुसार शरद ऋतुको आरोहणका लागि हालसम्म सात आरोही दललाई आरोहण अनुमति प्रदान गरिएको छ । आरोहणबाट कूल रु ३३ लाख ७४ हजार ८२ रोयल्टी सङ्कलन भएको छ ।

यस याममा आरोहण अनुमति लिएका हिमालमा मनास्लुमा दुई, अमादब्लममा दुई तथा बरुन्छेमा एक, ग्याल्जेनमा एक र हिम्लुङमा दुई आरोही टोली छन् । आरोही नोभेम्बर महिनाभर आउने भएकाले शरदमा १० देखि १२ आरोही समूह पुग्ने विभागको अनुमान छ । सन् २०१९ को शरद याममा मात्रै एक हजार २१० विदेशी आरोही हिमाल आरोहणका लागि नेपाल आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...