कास्कीमा आधुनिक ‘टेक्निकल सेन्टर’बनाइने

1556198509anfa logo1 e1445199209696

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा टेक्निकल सेन्टर (एन्फा एकेडेमी) निर्माण गर्ने भएको छ । फुटबलको सर्वोच्च नियमनकारी निकाय फिफाको आर्थिक सहयोगमा वडा नं ६ को भिँडाबारीमा करिब ५०० रोपनी जग्गामा आधुनिक र सुविधासम्पन्न फुटबल एकेडेमी निर्माणको तयारी गरिएको हो ।

एन्फाले एकेडेमी निर्माणका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर बोलपत्र आह्वानको तयारीमा जुटेको जनाएको छ । सो एकेडेमीलाई एन्फाले फुटबलको ‘ड्रिम प्रोजेक्ट’का रुपमा लिएको छ ।पोखराबाट १४ किमी दूरीमा अवस्थित भिँडाबारीमा सडक पूर्वाधारको पहुँच र माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खला समेतको दृश्यावलोकन गर्न सकिने भएकाले एकेडेमी निर्माणका लागि सो स्थल छनोट गरी दुई वर्षअघि देखि प्रक्रिया शुरु भएको थियो ।

एकेडेमी निर्माणका लागि एन्फा कार्य समितिले पहिलो चरणमा रु १७ करोड बजेट उपलब्ध गराउने निर्णय गरिसकेको एन्फा केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापाले बताए । विभिन्न चरणमा गरी सो परियोजनामा रु ८० देखि ९० करोडसम्म लगानी हुने बताइन्छ । उनका अनुसार परियोजना निर्माणका लागि बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको छ ।

एन्फाले प्रस्ताव गरेको सो बहुउद्देश्यीय परियोजनामा ५०० हजार दर्शक क्षमताको प्यारापिट सहितको फुटबल मैदान, दुई फुटसल मैदान, दुई अभ्यास मैदान, एक मुख्य मैदानसहित चार छात्रवास, दुई छात्रावास, प्रशासन भवन, चमेनागृह, दुई पाहुना ब्लक, जिम, मेडिकल तथा पुनस्र्थापना केन्द्र, आर्टिफिसियल मिनी पिच, दुईबीच फुटबल मैदानलगायत संरचना बनाउने योजना रहेको बताइन्छ । स्वदेशी तथा विदेशी क्लबका खेलाडीको अभ्यासस्थलका रुपमा त्यसलाई अघि बढाउने योजना छ ।

एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर), जमीन नाप जाँच लगायतका कार्य सम्पन्न भएर निर्माणका लागि बोलपत्र आह्वानको तयारी भए पनि त्यसअघि प्रस्तावित स्थलको दुबैतर्फ नदी तटबन्धनको कार्य गर्न एन्फाले प्रदेश सरकारलाई आग्रह गरेको माछापुच्छ्रेगाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

एन्फा केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले गत साता पोखरा आएर मुुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेट गरी परियोजना शुरु गर्नुअघि प्रस्तावित स्थल वरपर नदीले कटान गरेको क्षेत्र संरक्षणका लागि तटबन्धनको काम गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए । प्रस्तावित सो स्थलको यसअघि एन्फा पदाधिकारी तथा एएफसीका प्रतिनिधिले समेत निरीक्षण गरेका थिए ।

गाउँपालिका अध्यक्ष गुरुङले परियोजना माछापुच्छ्रेको मात्र नभएर गण्डकी प्रदेश तथा समग्र देशको फुटबलको श्रीवृद्धिका लागि महत्वपूर्ण रहेको बताए । उनले भने, “एन्फाले फिफासँग अनुरोध गरेर फिफाको आर्थिक सहयोगमा बन्ने यस परियोजनाका लागि गण्डकी प्रदेशका अन्यत्र पनि जमीन निरीक्षण गरिएकामा भिँडाबारीको यो ठाउँ उपयुक्त रहेको प्राविधिकले बताएपछि गाउँपालिकाले सो जग्गाको भोगाधिकार एन्फालाई दिइसेकको छ ।” केही व्यक्तिगत स्वामित्व तथा सार्वजनिक जग्गामा एकेडेमी बन्नेछ । व्यक्तिगत जमीनसमेत स्थानीयवासीले परियोजनाका लागि उपलब्ध गराएका छन् ।

मुुख्यमन्त्री गुरुङले शुक्रबार एन्फा टेक्निकल सेन्टरका लागि प्रस्तावित स्थलको निरीक्षण गर्र्दै परियोजना शुरुआत गर्नुअघि मर्दी र इदी खोलाले कटान गरेको जमीन संरक्षणका लागि प्रदेश सरकारले काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेशको गौरवको आयोजना प्रस्तावित ठाउँमै बन्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेकाले आवश्यक काम अघि बढाइने उनले स्पष्ट पारे ।

“नदी कटानको जोखिमलाई देखाएर यो परियोजना अन्यत्र जान्छ कि भन्ने आशङ्का रहेकामा त्यसअघि प्रदेश सरकारका तर्फबाट कटान नियन्त्रणका लागि के गर्न सकिन्छ भनेर हामी निरीक्षणका लागि आएका हौँ”, मुख्यमन्त्री गुरुङले भने, “पोखरा नजीकको यस ठाउँमा गण्डकी प्रदेशकै गौरवको परियोजना एन्फा टेक्निकल सेन्टर बनाउन आवश्यक कार्य गर्न सरकार प्रतिबद्ध छ ।”

सो परियोजनामा चौथो चरणसम्म रु ८० देखि ९० करोडको हाराहारीमा लगानी हुने एन्फाका अध्यक्ष शेर्पाले आफूलाई जानकारी गराएको बताउँदै उनले तटबन्धनका लागि यसअघि प्रदेश सरकारबाट बजेट विनियोजन नभएकाले अतिरिक्त निर्णय गरेर भए पनि काम गरिने बताए ।

गण्डकी प्रदेश सभा सदस्य रामजीप्रसाद बरालले सडक पहुँचबाट सुगम र रमणीयस्थलमा एकेडेमी बन्दा यसले फुटबल विकासमा योगदान पुग्ने भएकाले एन्फा एकेडेमीको प्रस्तावित स्थलसँगैको मर्दी र इदी खोलाको दुबैतर्फ नै कटान नियन्त्रणका लागि तटबन्धन गर्नुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...