साल्केको पोस्टमा बायर्नको ८ गोल

2020 09 19 eiodhonxsaqkbsh

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले साल्केविरुद्ध फराकिलो जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले साल्केविरुद्ध ८–० गोलको फराकिलो जित निकालेको हो । बायर्नको जितमा सेर्जी गनाब्रीले ह्याट्रिक गरे । त्यस्तै लेओन गोरेट्ज्का, रोबेर्ट लेवान्डोवस्की, थोमस मुलर, लोरी साने र जमल मुसिलाले एक एक गोल गरे ।

खेलको चौथो मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । त्यस्तै १९ औं मिनेटमा गोरेट्ज्काले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले थोमस मुलरको पासमा गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाएका हुन् ।

३१ औं मिनेटमा लेवान्डोवस्कीले गोल गरे । उनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा नै सानेको पासमा गनाब्रीले व्यक्तिगत दोस्रो गोल गरे । ५९ औं मिनेटमा सानेकै पासमा गनाब्रीले ह्याट्रिक पुरा गर्दै बायर्नलाई ५–० को अग्रता दिलाए ।

६९ औं मिनेटमा मुलरले गोल गरे । उनले लेवान्डोवस्कीको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेट नबित्दै बुन्डेसलिगामा डेब्यु गरेका सानेले गोल गरे । उनले आफ्नो डेब्यु खेलमा दुई असिस्ट र एक गोल गरे । ८१ औं मिनेटमा लेवान्डोवस्कीको पासमा जमलले गोल गर्दै बायर्नलाई ८–० गोलको जित दिलाए ।

जितसँगै बायर्नले नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । सिजनको पहिलो खेल खेलेको बायर्नले तीन अंक जोडेको छ । यता साल्केले सिजनमा खराव सुरुवात गरेको छ ।

प्रतिकृया दिनुहोस