कुवेतबाट आएका ८ महिलामा भेटियो संक्रमण, खरिपाटी क्‍वारेन्टाइनमा बसेका १० जनाको पुनः ‘नेजल स्वाब’को नमुना संकलन

Kharipati qwarentin

काठमाडौं । कुवेतबाट फर्किएर नेपाल आएका थप ८ महिलामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । जेठ ३० गते कुवेतबाट फर्किएका भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्‍वारेन्टाइनमा थिए ।

शनिबार कोरोना संक्रमण पुष्टि हुनेहरुमा मोरङ रतुवामाईकी ४२ र पथरीकी ४१ वर्षीया, कास्की घान्द्रुककी २३ वर्षीया, नवलपरासी देवचुलीकी २३ र कावासोतीकी २९ वर्षीया, झापा हल्दिबारीकी ३७ वर्षीया, सुर्खेत छिन्चुकी २८ र बाराकी २८ वर्षीया महिला छन् । जसमध्ये, ७ जनालाई पाटन अस्पताल र एक जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको छ ।

उनीहरु जजिरा एयरलाइन्सको जे–९ १५४१ नम्बरको उडानमार्फत जेठ ३० मा नेपाल आइपुगेका हुन् । जसमध्ये प्रदेश नम्बर १, २, ५, गण्डकी र कर्णाली प्रदेशका १ सय ३ जनालाई खरिपाटी क्‍वारेन्टाइनमा राखिएको थियो ।

वाग्मती प्रदेशका व्यक्तिलाई भने ललितपुर जावलाखेलस्थित स्टाफ कलेज क्‍वारेन्टाइनमा राखिएको छ । गैरकानुनी रूपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदारलाई कुवेत सरकारले पठाएको हो ।

यूएईबाट जेठ २३ मा आएर खरिपाटी क्‍वारेन्टाइनमा बसेका १० जनाको शनिबार पुनः ‘नेजल स्वाब’को नमुना संकलन गरिएको छ । यूएईबाट आएका एक महिला र पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस