सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट, कहाँ कति विनियोजन गरियो ? (पूर्ण विवरणसहित)

Dr yubaraj khatiwada 15

काठमाडौं । सरकारले लकडाउनकै बीचमा आउँदो वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएको छ ।

सरकाले ल्याएको बजेटमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च विनियोजन भएको छ ।

सरकारले आउँदो आर्थिक वर्ष २०७७र७८ मा ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । कोरोनाको कारण सबैजसो क्षेत्र प्रभावित हुने भएपनि सरकारले बजेटमार्फत आउँदो आर्थिक वर्षको लागि ७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको हो ।

चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशतको वृद्धिको लक्ष्य लिइएकोमा त्यसलाई घटाएर २ दशमलव ३ प्रतिशतमा झारिएको छ । भूकम्पपछिका ३ वर्षमा सरकारले लगातार झण्डै ७ प्रतिशतको दरले आर्थिक वृद्धिदर हासिल गरिरहेको छ ।

आउँदो आर्थिक वर्ष भने कोरोना भाइरसको कारण वृद्धिदर नकारात्मक हुनेसम्मको प्रक्षेपण भइरहेको छ । तर अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर हुने उल्लेख छ ।

आउँदो आर्थिक वर्षको १४ खर्ब ७४ अर्ब रुपैयाँको स्रोत जुटाउन सरकारले ८ खर्ब ८९ अर्ब ६२ रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । राजश्वबाट अपुग रकमको लागि वैदेशिक सहायता र ऋण उठाइने आउँदो आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा उल्लेख छ ।

सरकारले ६० अर्ब ५२ करोड रुपैयाँ वैदेशिक अनुदान आउने अनुमान गरेको छ । बजेट कार्यान्वयन गर्न अपुग हुने ५ खर्ब २४ रुपैयाँमध्ये वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब र २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख छ ।

गत डिसेम्बरको अन्त्यतिर चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण चैत ११ गतेदेखि लकडाउनका कारण देशका आर्थिक अवस्था डामाडोल बनेको छ । तर सरकारले गिर्दाे आर्थिक अवस्थालाई उकास्ने कार्यक्रम खासै नल्याएको प्रतिपक्ष दलको भनाई छ । तथापि सरकारले कोरोना नियन्त्रणका लागि निक्कै ठूलो धनराशी खर्च गर्ने गरी बजेट ल्याएको छ ।

गत वर्षमा भन्दा यो वर्ष स्वास्थ्य क्षेत्रमा भण्डै २२ अर्बले बजेट बढेको छ । यो वर्ष सरकारले स्वास्थ्य क्षेत्रको लागि ९० अर्ब ६९ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये ६ अर्ब कोरोना सङ्क्रमण नियन्त्रणको लागि मात्रै विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रको लागि ६८ अर्ब ७८ करोड विनियोजन गरेको थियो ।

सरकारले यो वर्ष शिक्षाको क्षेत्रमा बजेट बढाएको छ । आउँदो आर्थिक वर्षको लागि शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड विनियोजन गरेको छ । यो गत सालको भन्दा ८ अर्ब ७१ करोडले बढी हो । गत साल सरकारले शिक्षाका लागि १ खर्ब ६३ अर्ब छुट्याएको थियो । यो वर्ष पनि छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड, दिवा खाजा विस्तार लगायतका पुराना कार्यक्रमलाई नै निरन्तरता दिएको छ ।

सरकारले पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट दिने भएको छ । बजेट भाषणमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले कोरोनाले प्रभाव पारेको पर्यटन क्षेत्रका व्यवसायीहरुलाई चालु आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने बताउनुभयो । खतिवडाले हवाई सेवा, होटल, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवयासीलाई आर्थिक वर्ष २०७६र७७ को आय विवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिइने बताउनुभयो ।

सरकारले रेडियोमा रोयल्टी छुट र अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिने भएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने घोषणा गरेका छन् ।
सरकारले सूचना प्रविधिमा आधारित उद्योगको व्यवस्थापन गर्ने भएको छ । डिजिटल फ्रेमवर्कमार्फत सबै पालिकामा आउँदो आर्थिक वर्षभित्र भरपर्दो इन्टरनेट सुविधा उपलब्ध गराउने पनि सरकारले घोषणा गरेको छ । यस्तै सरकारले सबै प्रदेशमा सञ्चार ग्राम बनाउने घोषणा गरेको छ ।

सरकारले कोरोना नियन्त्रणको लागि खर्च कटौती गर्ने भएको छ । बजेटमार्फत कार्यालय सञ्चालन, इन्धन, मर्मत, वैदेशिक भ्रमण, सवारी साधन खरिद र मर्मतलगायतका खर्चमा उल्लेख बजेट कटौती भएको छ ।

कोरोनाको उपचार र रोकथाममा खटिनेबाहेक चिकित्सक, स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवकबाहेक अरुलाई दिइने प्रोत्साहन, जोखिम, अतिरिक्त समय भत्ता, खाना, खाना भत्तालगायतका भत्ता खारेज हुने भएका छन् । अत्यावश्यक सेवा दिने कार्यालयका बाहेकका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ती रोक्का भएको छ ।

सरकारले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम सक्न ५५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले घर, विद्यालयसहित सरकारी भवन तथा अन्य पूर्वाधारका काम आउँदो आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने बताए ।

सरकारले तीन वटा ठूला राजमार्गका लागि १८ अर्बभन्दा धेरै बजेट विनियोजन गरेको छ । पुष्पलाल राजमार्गको काम ३ वर्षमा सक्नेगरी ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

हुलाकी राजमार्ग ३ वर्षमा सक्नेगरी ७ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै मदन भण्डारी राजमार्ग निर्माणका लागि ५ वर्ष ३ अर्ब ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

सरकारले आउँदो आर्थिक वर्ष अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारका लागि १९ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको छ । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन बनाउने र सञ्चालन गर्ने बजेटमा उल्लेख छ ।

त्रिभुवन विमानस्थल विस्तार र स्तरोन्नति तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पनि बजेट विनियोजन भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्षेत्रमा बस्ती स्थानान्तरण र परिपथको लागि पनि बजेट विनियोजन भएको छ ।

सरकारले आउँदो आर्थिक वर्षको लागि शिक्षा क्षेत्रमा ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान घोषणा गरेर आउँदो आर्थिक वर्षमा नेपाललाई साक्षर घोषणा गर्ने सरकारले घोषणा गरेको छ ।

सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीलाई दिने गरिएको दिवा खाजाको व्यवस्था सबै जिल्लामा विस्तार गरिने पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए । यसबाट २८ लाख बालबालिकाका लाभान्वित हुनेछन् ।

सरकारले कृषि क्षेत्रका लागि ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक वर्षको बजेटभन्दा ७ अर्ब रुपैयाँ धेरै हो । बजेट सार्वजनिक गर्दे अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर ७ अर्ब रुपैयाँ बढाएर ४१ अर्ब ४० करोड रुपैयाँ पुर्याइएको बताए ।

 

प्रतिकृया दिनुहोस