अभिनेता इरफान खान आईसीयू भर्ना

Irfan khan

काठमाडौं । बलिउड अभिनेता इरफान खान मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । ५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् ।

उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए । गएको वर्ष सन् २०१९ मा इरफान खान लण्डनमा उपचार गराएर फर्किएपछि कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा रहेका थिए ।

फिल्म ‘अङ्ग्रेजी मिडियम’ का क्रममा उनको स्वास्थ्य स्थिति बिग्रिएको बताइन्छ । यस कारण कैयौँ पटक शुटिङ नै रोकिएको थियो । जब इरफान खान राम्रो भएको महसुस गर्थे तब शुटिङ हुन्थ्यो । भर्खरै मात्र इरफान खानकी आमा सईदा बेगमको जयपुरमा निधन भएको थियो ।

लकडाउनका कारण इरफान खान आफ्नी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएनन् । उनले भिडियो कलमार्फत उपस्थिति जनाएको बताइएको छ ।

इरफान खानका एक प्रवत्ताले निकालेको बयानमा भनिएको छ, ‘इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको कुरा साँचो हो । उनलाई कोलन इन्फेक्शन भएको छ । हामी सबै उनको बारेमा जानकारी दिइरहनेछौँ । अहिले उनी डाक्टरको निगरानीमा छन् । उनको शक्ति र साहसले उनलाई बिमारीसँग लड्न मद्दत गरिरहेको छ । उनको अपार इच्छा शक्ति र उनका चाहनेहरुको माया र आशीर्वादले उनी चाँडै नै ठिक हुनेछन् ।’

उनले ट्विट गरेका थिए, ‘जिन्दगी अचानक केही यस्तो हुन्छ, जसले तपाईँलाई अघि लिएर जान्छ । मेरो जिन्दगीमा पछिल्लो कही दिन यस्तै भइरहेको छ । मलाई न्युरोएन्डोक्राइन ट्युमर नामक बिमारी भएको छ । मेरा नजिकका आफन्तको माया र साहसले मलाई आश जगाएको छ ।’

 

 

प्रतिकृया दिनुहोस