जसले नारायणगोपालको गीतमा समेत संगीत दिए, भन्छन्, ‘पहिलेका गायकले धेरै नै साधना गर्थे’

काठमाडौँ । अहिले गायक बन्ने सबैमा लहर नै लागेको देखिन्छ । आफूलाई गाउन आओस् या नआओस गायकका रुमपा आफूलाई चिनाउन सबैले गीत रेकर्ड गराउँछन् । तर जतिबेला गीत रेकर्ड गर्न रेडियो नेपाल मात्र थियो, त्यतिबेला सीमित मात्र गायक थिए । 

लामो समय रेडियो नेपालमा काम गरेका सङ्गीतकार भुपेन्द्र रायमाझी भन्छन्, ‘पहिलेका पुराना गायक धेरै नै साधना गर्थे ।’अहिलेको आधुनिक प्रविधिले गायकलाई अल्छि बनाउँदै गएको उनी बताउँछन् । थप्छन्, ‘अहिलेका थोरै गायकले मात्र साधना गरेको देखिन्छ ।’

मेहेनत बिनाका गायक बजारमा आउनुले नेपाली सङ्गीत धारासायी बन्दै गएको उनी चिन्ता व्यक्त गर्छन् । उनलेनारायण गोपालको ‘बिरानो माया अधुरो रह्यो’ बोलको गीतमा सङ्गीत दिएका थिए । 

नारायण गोपालको गीतका लागि सङ्गीत दिएको त्यो गीत उनका लागि पहिलो र अन्तिम गीत बन्यो । नारायणगोपाललाई धेरैले घमण्डी गायक भने पनि उनि शालीन व्यक्तित्वका धनी भएको रायमाझीको बुझाइ छ । उनले भने, ‘उहाँलाई घमण्डी, जँड्याहा भन्नु गलत आरोप मात्र हो ।’

साधनालाई निरन्तरता

आफ्नो इच्छाशक्तीलाई निरन्तरता दिए एकदिन अवश्य सफल भइन्छ भन्ने उदाहरण सङ्गीतकार स्वयम रायमाझी हुन् ।

विसं २०३९ देखि रेडियो नेपालको वरिष्ठ सङ्गीतकारका रुपमा काम गरिसकेका रायमाझी आफू अहिले यो अवस्थामा रहनुको श्रेय आफ्नो साधनालाई नै दिन्छन् । सङ्गीतलाई पेशा नमान्ने समयमा परिवारको साथ र हौसला पनि उनका लागि त्यति नै महत्वपूर्ण थियो ।

विसं २०१६ मा मोरङ, विराटनगरमा जन्मिएका रायमाझी दुई दिदीबहिनी र तीन दाजुभाइमध्ये जेठो छोरा छन् । तीन दाजुभाइमध्ये उनलाई सानैदेखि सङ्गीतमा रुचि थियो । उनले भने, “मेरो रुचि देखेर बुवाले प्रवेशिका परीक्षापछि गितार किनिदिएका थिए जसका कारण केही सङ्गीतसम्बन्धी किताब किनेर घरमै सिक्न शुरु गरेँ ।”

उनले विराटनगरको तत्कालीन जनता माध्यमिक विद्यालयबाट २०३३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे भने विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट व्यवस्थापन सङ्कायमा आइकम सकेपछि बिकमका लागि काठमाडौँ आई मीनभवन क्याम्पसमा व्यवस्थापन सङ्कायमा भर्ना भई अध्ययनलाई निरन्तरता दिए । व्यवस्थापन सङ्कायमा भर्ना भए पनि उनमा सङ्गीतप्रतिको मोह भने हराउन सकेन । 

सुनामसँगको भेटले सङ्गीतमा थप रुचि 

काठमाडौँमा आइसकेपछि उनले शुभबहादुर सुनामबाट म्युजिक नोटेशनका बारेमा ज्ञान लिए । विभिन्न व्यक्तिसँग चिनजानका क्रममा उनको भेट नातिकाजीसँग भयो । उनसँगको भेटले उनलाई रेडियो नेपालामा सङ्गीतकारका रुपमा काम गर्ने अवसर समेत जुराइदियो ।

सोही क्रममा रायमाझीले विसं २०३९ मा रेडियो नेपालमा सङगीतकारका रुपमा काम गर्न शुरु गरे । त्यतिबेला विभिन्न गीतसङ्गीत रेडियो नेपालबाहेक अन्त स्वराङ्कन गरिँदैनथ्यो ।

गीत स्वराङ्कन गर्नका लागि रेडियो नेपाल मात्र हुँदा स्वर परीक्षणमा उत्तीर्ण भइसकेपछि छ महिनाको एक पटक गीत स्वराङ्कन गर्न पाइन्थ्यो । नेपालमा रेडियो नेपालबाहेक अन्य सङ्गीत रेकर्ड गर्ने ठाउँ नहुँदा हुनेखाने वर्गका व्यक्ति कोलकातामा गएर गीत रेकर्ड गर्थे । 

विसं २०४२ साउन ३ गते व्यक्तिगतस्तरबाट ‘म्युजिक नेपाल’ सञ्चालन भए पनि रेडियो नेपालसँग प्रतिस्पर्धा भने गर्न सकेन । पहिले अहिलेजस्तो डिजिटल प्रविधिको विकास नभएका कारण रेडियो नेपालमा प्रत्यक्ष रुपमा एकै समयमा रेकर्ड गरी चक्कामा राख्ने गरिन्थ्यो । 

सङ्गीतबाट मिलेको इज्जत

त्यतिबेला गायकले सङ्गीतकारलाई निकै मान्ने गर्थे । साधारण सङ्गीतकारका रुपमा काम गर्दा पनि उनले कहिल्यै अपमानजनक व्यवहार सहनुपरेन । उनले प्रेमध्वज प्रधान, बच्चुकैलाश, फत्तेमान, योगेश वैद्य, दीपक खरेल, प्रकाश श्रेष्ठ, रामा मण्डल, तारा थापा, रामकृष्ण ढकाल, शिव परियारलगायतको गीतमा पनि सङ्गीत दिएका छन् ।

रेडियो नेपालमा बज्ने प्रायः हरेक धूनमा रायमाझीले नै सङ्गीत दिनुभएको थियो । रेडियो नेपालमा मात्र नभई ‘कोशी एफएम’ र ‘बुटवल एफएम’ मा समेत उनले सङ्गीत दिएका छन् । रेडियो नेपालमा काम गर्दागर्दै रायमाझीले सन् १९९४ (विसं २०५०तिर) भारतको अलाहाबादबाट सङ्गीतमा स्नातक तह उत्तीर्ण गर्नुभएको थियो । सङ्गीतसम्बनधी अध्ययन गर्दैमा साधनाविना सिकेको कुरा पूर्ण नहुने उनको बुझाइ छ । 

पहिले गीत रेकर्डिङका क्रममा गीतकार, सङ्गीतकार र गायकको प्रत्यक्ष भेटघाट हुने भए पनि अहिले हुँदैन जसमा नयाँ प्रविधिको दोष रहेको उनको बुझाइ छ । पहिले सीमित कलाकार सबैबीच चिनजान हुने भए पनि प्रविधिको विकाससँगै अहिले त्यो अवस्था छैन ।

प्रविधिको कारण पनि अहिलेका कलाकारमा खासै निखारपना छैन । अहिले रेकर्डिङ स्टुडियो छनोट गर्ने स्वतन्त्रता पनि सबैमा छ । पहिले गीतको शब्दलाई पनि ध्यान दिइने भए पनि आजकलका गायक तथा स्रष्टाले शब्दमा ध्यान नदिएकामा उन दुखेसो पोखे । मौलिकपना हराउने र भ्रामक सन्देश जाने खालका गीत नगाउन उनि अहिलेका गायकलाई सुझाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...