लगातार ४० घण्टा नाँचेर गिनिज बुकमा नाम लेखाउदै रुबिसा श्रेष्ठ र एलिसा

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा नम्बर ६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्ने घोषणा गरेका छन्। बिहीबार काठमाडौ‌ंमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो। श्रेष्ठ दिदिबहिनीले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भर्‍याङ स्वयम्भुस्थित क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन्।

रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी छन्। कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले विश्व रेडर्क कायम गर्नको लागि श्रेष्ठ दिदिबहिनीलाई शुभकामना दिए। सांसद केसीले यो कार्यक्रमलाई सफल तुल्याउन आफ्नो तर्फबाट सबैखाले सहयोग रहने बताएका छन्।

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब अध्यक्ष ऋषि धमलाले श्रेष्ठ दिदिबहिनीले विश्व किर्तीमानी कायम गर्ने दाबी गरे। यसअघि पनि बन्दना नेपालले क्लबमार्फत नै विश्व किर्तीमानी गर्ने घोषणा गरेको र पछि सफल भएको धमलाले सुनाए। उनले भने,‘यसपटक पनि श्रेष्ठ दिदिबहिनीहरुले क्लबमार्फत यो घोषणा गरेका छन्, म ढुक्कका साथ भन्छु यिनीहरुले पनि विश्व किर्तीमानी कायम गर्नेछन्। मेरो शुभकामना छ।’ कार्यक्रममा गिनिज वल्र्ड रेकर्ड ईभेन्ट नेपालका अध्यक्ष सन्तोष लामाले यसअघि पनि आफूहरुकै संयोजनमा दुई वटा विश्व रेडर्क कायम भैसकेकोले यसपटक पनि सफल हुने बताए। 

कार्यक्रममा श्रेष्ठ दिदिबहिनीका बुवा सन्त प्रसाद श्रेष्ठले आफ्ना छोरीहरुमा सानैदेखि नृत्य प्रतिभा रहेको सुनाउँदै अब हुने कार्यक्रमबाट विश्व किर्तीमानी कायम हुने विश्वास व्यक्त गरे। यो इभेन्टलाई सफल तुल्याउनको लागि सबै नेपालीहरुलाई साथ र सहयोग गर्न उनले आग्रह पनि गरे। कार्यक्रममा विश्व रेकर्ड कायम गर्न लागेका श्रेष्ठ दिदिबहिनीले आफूहरुको तयारी राम्रो रहेको सुनाए।

उनीहरुले आफूहरु विश्व रेकर्ड कायम गरि नेपालको नाम विश्वसामू चिनाउने लक्ष्यतर्फ अघि बढेको र छिट्टै त्यो उद्देश्य पूरा हुने विश्वास दिलाए । उनीहरुका अनुसार अहिलेसम्म ३२ घण्टासम्म निरन्तर नृत्य गरिसकेकोले अब ४० घण्टा नृत्य गर्न कुनै अप्ठ्यारो छैन। यसअघि यो किर्तीमानी संयुक्त राज्य अमेरिकाका नागरिक ब्रेट ग्रिसवल्र्ड र जेनिफर ग्रिसवर्ल्ड को नाममा छ। उनीहरुले ३८ घण्टा ३० मिनेट निरन्तर नृत्य गरेका थिए।

 

प्रतिकृया दिनुहोस