यी हुन् दक्षिण एशियामा भएका पाँच ठूला डरलाग्दा उग्रवादी आक्रमण

काठमाडौँ । दक्षिण एशियाका कैयौँ देश उग्रवादी आक्रमणको शिकार हुँदै आएका छन् । श्रीलङ्कामा आइतवार भएका शृङ्लाबद्ध बम आक्रमणले त्यहाँ दशकौँसम्म चलेको गृहयुद्धलाई फेरि एक पटक स्मरण गराइदिएको छ ।

मङ्गलवार देशमा शोक मनाइँदैछ भने थप हमला हुन नदिन र शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन थाल्न भन्दै देशमा सङ्कटकाल घोषणा गरिएको छ। भारत, पाकिस्तान र अफगानिस्तानपछि सो सूचीमा अहिले श्रीलङ्का थपिएको छ । यी हुन् केही वर्षयता दक्षिण एशियाली मुलुकमा भएका पाँच ठूला आक्रमणः

पेशावर आक्रमण

सन् २०१४ को डिसेम्बर १६ मा पाकिस्तानको पेशावरस्थित एउटा सैनिक विद्यालयमा विस्फोट गराइएको थियो । आक्रमणमा १४१ जना मारिएका थिए जसमध्ये १३२ जना बालबालिका थिए । आक्रमणमा तालिबान विद्रोहीको हात रहेको थियो ।

तालिबान प्रवक्ताले सेनाले गरेको कारबाहीको जवाफस्वरूप आफूहरूले आक्रमण गरेको बताएका थिए । त्यसअघि पाकिस्तानी सेनाले उत्तरी वजिरिस्तान र खैबर क्षेत्रमा गरेको कारबाहीमा सयौँ लडाकु मारिएका थिए।

मुम्बई ताज आक्रमण

सन् २००८ को २६ नोभेम्बरमा भारतको मुम्बई शहरका कैयौँ स्थानमा आक्रमण भएको थियो । आक्रमणमा १७४ जनाले ज्यान गुमाएका थिए। आक्रमण ६० घण्टासम्म चलेको थियो।

मस्तङ्ग आक्रमण

सन् २०१८ को जुलाई १६ मा पाकिस्तानको बलुचिस्तान प्रान्तको मस्तङ्गमा एउटा चुनावी र्‍यालीमा आक्रमण भएको थियो । आक्रमणमा १४९ जनाको ज्यान गएको थियो । पाकिस्तान निर्माण भएयताकै त्यो दोस्रो ठूलो आक्रमण भएको बताइन्छ । जुलाई २५ मा आमनिर्वाचन हुने तय भएको पृष्ठभूमिमा त्यसको केही दिनअघि विस्फोट भएको थियो ।

काबुल आक्रमण

सन् २०१७ को मे ३१ मा काबुलस्थित जर्मन दूतावासनजिक गराइएको बम विस्फोटमा १५० जना मारिएका थिए भने ३०० जना घाइते भएका थिए । सन् २००१ यता अफगानिस्तानमा भएको त्यो सबैभन्दा ठूलो विस्फोट थियो।

श्रीलङ्का इस्टर आक्रमण

इसाई धर्मावलम्बीको इस्टर पर्वको दिन आइतवार आठ स्थानमा शृङ्खलाबद्ध विस्फोट गराइएको थियो ।आक्रमणमा ३१० जनाको ज्यान गैसकेको छ भने ५०० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा ३६ जना विदेशी नागरिक पनि रहेका छन् ।

अधिकारीहरूले स्थानीय न्याश्नल तौहिद जमात नामक जिहादी समूहले अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा आक्रमण गराएको हुन सक्ने बताएका छन् । आक्रमणपछि कैयौँ शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा मारिएकामध्ये अधिकांशको मङ्गलवार अन्तिम संस्कार गरिँदैछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...