अहो, यो त योनी नै पो रहेछ !

Trivuwan chanrda wagle

कामरूपाको लामो कपालले स्वामी जगत राधानारायणको अनुहारमा स्पर्श गर्छ । स्वामीजी बिस्तारै कपाल हटाउँछन् र एकपटक कामरूपालाई हेर्छन् । भित्र आँतबाट थर्र काम्छन् । अहो, मैले आफुँलाई बचाउनुपर्छ । यो मेरा लागि अग्निपरीक्षा हुनसक्छ । कसैले छल गरेको हुन सक्छ । स्वामीजी कामरूपाको टल्कदो हिमालको पर्याय शरीरबाट आँखा हटाउँछन् र टाढा जङ्गलतिर हेर्छन् । देख्छन्– युगल जोडी मृगको प्रेम प्रसङ्ग ।

बहकिन्छन् स्वामी हावाझैं

यी प्राणीले प्रेमको अभिलाषा बुझेका छन् । प्रेमको गहिराइ देखेका छन् । मानिस मात्र यस्तो प्राणी हो, जो प्रेमको गहिराईलाई कामवासनाका फित्ताले नाप्न चाहन्छन् । हरदिन हरसमय कामवासनाका लागि आतुर र तयार रहन्छ मान्छे । तर प्राणीहरूको यौन ऋतु वा चक्र हुन्छ । त्यो निश्चित अवधिभन्दा वरपर कुनै पनि पशुले रतिरागको आकांक्षा राख्दैनन् । पशु भनिएको प्राणीले अनुशासनमा यौन समागम गर्छ । मानिस उछृङ्खल हुन्छ । अनियन्त्रित तर तथाकथित सभ्य । सायद पशु हुन सकेन मानिस र कामेच्छा दमनका लागि योगका अनेक नानाभाँती उपाय अवलम्बन गर्छन् । बाबा हुन्छन् । स्वामी हुन्छन् । योगी वा जोगी बन्छन् ।

सायद मानिसले आफैंमाथि विश्वास गर्न नसक्दा यस्तो कृत्रिम उपाय अवलम्बन गर्नुपरेको होला । हाय, पशु तिमीहरूले काम, क्रोध, लोभलाई पराजित गरेका छौ । तिमीहरूलाई केले निर्दिष्ट गरेको छ ? धर्म, पाप, स्वर्ग, नर्क, नैतिकता, समाज केले तिमीहरू निर्दिष्ट छौ ? पशुले गरेका व्यभिचारका घटना समाचार बनेका छैनन् । तर धर्म, पाप, स्वर्ग, नर्क, नैतिकता, समाजको बन्धनमा बाँधिएको मानिसले नै यस्ता अनैतिक काम गर्छन् । किन मानिस आफंैसँग पराजित छन् । आऊ मृग मलाई तिम्रो रूप देऊ, मलाई अनुशासन र कर्तव्यका अग्ला चौघेराले बाँधिएको अश्लील मानिस हुनुभन्दा चौतर्फी स्वतन्त्र, स्वच्छन्द तर श्लील पशु हुनुछ । म तिमीहरूले जस्तै गहिरो, अथाह गहिरो र कामवासनाका मिटरफित्ताले मापन गर्न नसकिने अहेतुकी प्रेम गर्न चाहन्छु । म मेरा ध्यान, योगकर्म सम्पूर्ण रूपले पशुवत प्रेम बोध गर्न खर्चने छु । म नयाँ बाटो हिड्न तयार छु ।

स्वामीजीले विस्तारै कामरूपको कपाल आफ्नो अनुहारबाट हटाए । अबिरले बनाएको शिव नयनाकृतिको तस्बिर हातमा लिएर हेर्न थाले । अहो, हो त नि यो त योनी नै पो रहेछ ! ‘कामरूपा ! म मृग हुन चाहन्छु’ ठूलो आवाजमा स्वामीजी चिच्याउँछन् र कामरूपाको पुष्ट पाखुरा समाउँछन् । अबिरको तस्बिर हेर्छन् र भन्छन्– कामरूपा तिमी सत्य हौ, म असत्य । तिमी रहस्य हौ, म उजाड, सपाट, नाङ्गो दृश्य, तिमी चेतन हौ, म अवचेतन ...। अबिरले आँखा होइन, योनी नै बनाएको रहेछ । देवी पार्वतीको एउटा अङ्ग । त्यसो मात्र पनि होइन कामरूपाको यौनाङ्ग ।

कामरूपा म आजसम्म कसैसँग हारेको छैन तर म तिमीसँग हार्न चाहन्छु । ठूलाठूला देवताले नारी शक्तिसँग हारेका छन् । म तिमीलाई शक्ति बनाउन चाहन्छु र हार्न चाहन्छु तिमीसँग । म तिमीलाई किताब बनाएर तिमीभित्रको रहस्य पढ्न चाहन्छु । म तिमीलाई अनन्त आकाश बनाउन चाहन्छु र म सुख्खा धर्ती भएर तिम्रो वर्षाइले रूझ्न चाहन्छु । म चाहन्छु, तिम्रो प्रकाशमा छर्लङ्ग देखिने प्रदीप्त दर्शन ढुङ्गा बन्न अनि तिम्रो प्रकाशबिना अर्थहीन पत्थर बन्न । आऊ, कामरूपा म आज आफूलाई बिसर्जन गर्न चाहन्छु । तिमी न्यानो अग्निकुण्ड भएर मेरो होमन, मेरा दहन ग्रहण गर र मलाई तृप्त गर– स्वामीले कामरूपाको शरीरमा स्पर्श गरे र लामो सास फेरे ।

आँधीजस्तो सासमा स्वामी व्युझिए । स्वामीका दुबै हात छातीमाथि परेका रहेछन् । कति कडा र भ्रमित ऐठनयुक्त सपना । निथ्रुक्क पसिनाले भिजेका स्वामी कुशासन र मृगचर्मको आसनबाट उठे । दुई प्रहर रात बित्दै थियो । स्वामीजी उठेर धारामा गए । १०८ पटक गायत्री पुनःश्चरण गरे । गहुँत ल्याएर पञ्चगव्य बनाए । जनै फेरे र निधारमा विभूति, तिलक लगाए र भने ‘म एकपटक मरिसकें । अबको मेरो पुनर्जन्म होस् । रूख भएर जन्मन पाउँ ।’ स्वामीले वन्दना साथ याचना गरे ।

एक सय आठपटक ओम त्रयम्वकम यजामयी...महामृतुञ्जयको श्लोक पाठ गरे । पीठका अन्य वटुकहरूले स्वामीजीको यस्तोे कृत्य पहिलोपटक देखेका थिए ।

आँखा चिम्लेर स्वामीजी ध्यानमा बसे । अबिरले बनाएका शिवको नेत्र भनिएको तस्बिर योगीको बन्द आँखामा घुम्न थाल्यो । यो आँखा हो कि कामरूपाले भनेजस्तो स्त्री कामेन्द्रिय ?

स्वामीमा एकाग्रता भङ्ग भएको छ । स्थिरता छैन । अधीर । मुख सुकेको छ । छटपटी । स्वामीलाई कामरूपाको मुखमा तातो तेल खनाइदिन मन लागेको छ । स्वामीमा कामरूपाप्रति असाध्यै क्रोध र तिरस्कार उत्पन्न भएको छ ‘क्या घिनलाग्दी आइमाई, यत्रा लोग्ने मानिसबीच कामेन्द्रियका बारेमा खुलस्त बोल्न सक्ने ।’

स्वामीजीले अबिरको विवादास्पद पेन्टिङको प्रतिलिपि चित्र झिके, हेरे र ढोगे ‘ॐ नमः शिवाय !’

................                      .....................                    .................

कामरूपालाई निद्रा परेको छैन । जसरी पनि अबिरलाई जेल मुक्त गराउनुपर्छ भन्ने अठोटमा उनको मन अधीर छ । अधीरताले उनलाई स्थिर र ठोस हुनदिएको छैन । उठेर पानी खाइन् । अबिरका पेन्टिङमाथि स्वामीले गरेका समीक्षाको प्रकाशित लेख झिकेर पढिन् । उनलाई स्वामीजीको निर्मल दृष्टिप्रति दया लाग्यो ।

एक मन त कामरूपालाई लागेको थियो– स्वामीजीले भनेजस्तै अबिरको पेन्टिङलाई शिवजीको आँखा भनिदिउँ र उनलाई जेलबाट मुक्त गरूँ । अहँ, तर हुँदैन । यसो गर्नु आफैंले आफूलाई छक्काउनु हो, कामरूपाले त्यसो गर्नुहुँदैन कामरूपाले आफ्ना विचार सच्याइन् ।

कामरूपाका तर्कना अनियन्त्रित कुँदेका छन्–

स्वामी तिमी निर्मल त छौ तर अज्ञानले भरिपूर्ण छौ । कुन विज्ञानले मानिसका वा प्राणीका तीनवटा आँखालाई पुष्टि गरेका छन् ? प्राणी विज्ञान, शरीरशास्त्र कुन विधाले प्राणीका तीन आँखालाई मान्यता दिन्छन् ? अथवा तिमी नौ वा दश अवतारमा विश्वास गर्छौ भने पनि, मस्त्य, कुर्म, वराह, निरसिंह, बामन, परशुराम, राम, कृष्ण, बुद्ध कसका तीनवटा आँखा थिए ? अवथा, अब हुने भनिएको अवतार जसलाई कल्की नामाकरण गरिएको छ त्यसमा पनि तीनवटा आँखा हुने सम्भावना छैन । न त वानरदेखि मावनसम्मको प्राणीशास्त्रीय उद्विकासले यस्तो आँखाको अस्तित्व स्वीकार गर्छ ।

जे होस्, धर्म मानिसलाई एकाग्र गर्ने साधन हो । यो हुँदैनथ्यो भने मानिस कति उछृङ्खल हुँदो हो । मानिसलाई बन्धनमा राख्ने अमूर्त शक्ति हो धर्म । जसलाई विश्वासमा पालना गरिन्छ । धर्मलाई बुझ्ने, बुझाइने सन्दर्भमा दुईवटा अतिवाद छन् । एउटा अतिवाद धर्मका लागि नै सारा मानिस जन्मेका हुन् झैं गर्छ, जस्तो कि सारा मानिस धर्मका दास हुन् । अर्को अतिवादले धर्मलाई अफिम भन्छ, मानौं धर्म नामको कुनै पनि आचारसंहिता छैन । बन्धन छैन र छैन एकाग्रताको सूत्र । हो म पनि मान्छु धर्मलाई कर्मकाण्डमा मात्र सीमित गर्नुहुँदैन । यसलाई मानव स्वभाव अध्ययनको माध्यम बनाइनुपर्छ ।

धर्म विश्व मानव कल्याणका लागि बनाइएका विधि, आचारसंहिता वा निर्देशन हुन् भनेर बुझ्दा हामी धेरै फराकिलो भइने छ । यस सन्दर्भमा अमेरिकी अभिनेता विल स्मिथ –१९६८) ले ‘म विश्व धर्मको विद्यार्थी हुँ जसबाट मानिसहरू के गरिरहेका छन् भन्ने बुझ्नका लागि मलाई ठुलो ज्ञान मिलेको छ’ भनी गरेका टिप्पणीको सन्दर्भ यहाँ बिर्सन हुँदैन हामीले । त्यसैले मेरा लागि धर्म मानिस, उसको समाज, संस्कृति अध्ययन गर्ने प्रयोगशाला हो जसले मानव सभ्यताको व्याख्या, स्थापना तथा पुनर्जागरणको जानकारी प्रवाह गर्छ । म धर्मलाई उन्मुलन गर्नुपर्छ भन्दिन बरु आजसम्म धर्मलाई बुझ्ने र बुझाइने गरिएको रुढ अतिवादको उन्मुलन गर्नुपर्छ भन्ने मान्यता राख्छु । संस्कृतिको एउटा पाटो हो धर्म, जसलाई विश्वास, मूल्य र आस्थामा भेट्न सकिन्छ । त्यसैले संस्कृतिलाई धर्म र परम्परामा मात्र बुझ्नुहुँदैन ।

बेलायती विद्वान् इ.बि टेलरले संस्कृतिको फराकिलो परिभाषा दिएका छन् । मानिसले समाजमा रहेर जेजस्ता कला, बुद्धि, नैतिकता, विश्वास र अन्य दक्षताहरू जो सिकेका छन्, ती सबै संस्कृति हुन् । धर्म त्यसैले संस्कृतिको एउटा सानो पाटो हो, विश्वास हो । स्वामीजी, म तिम्रो विश्वासलाई सम्मान गर्छु तर धार्मिक आस्थामाथि विश्वास गर्न असमर्थ छु । हरेक व्यक्ति र समाजमा प्रचलित विश्वासको सम्मान गर्नु मेरो धर्म हो तर तिमी धर्ममाथि विश्वास गर्छौ जो विज्ञानले परिभाषित र निरूपण गर्न सकिँदैन ।

म विज्ञानबाट विश्वासलाई निरूपण गर्न चाहन्छु । जस्तो कि तिमीले धर्ममाथि विश्वास गरी ढुङ्गा, माटो, पात सबैमा ईश्वर देख्छौ भने म त्यसलाई सम्मान त गर्छु तर विश्वास गर्दिन । सर्वदेवतावाद (पोलिथिजम) मा विश्वस्त जोगी, योगी, धर्मभीरुहरूप्रति मेरो अगाध स्नेह, करुणा र सम्मान छ कि तिमीहरू धर्मका नाममा लिङ्ग वा योनीको पूजा गर्छौ । भौतिक लिङ्ग वा योनीको शाश्वत र सौन्दर्य पक्षलाई अस्वीकार गर्ने अनि कल्पना, निराकार वा अस्तित्वहीन योनी वा लिङ्गको पूजा गर्ने ? कति यान्त्रिक भएका मानिस धर्मको नाममा ?

तिमीहरू असाध्यै ठुलो अन्धकारमा छौ । तिमीहरू आँखा खोलेर संसार हेर्न चाहन्नौ आँखा चिम्लेर बुझ्न चाहन्छौ । तिमीहरूको बुझाइ त्यसैले हात्ती छामेजस्तो अपूर्ण रहंदै आएको छ । अपूर्ण मात्र होइन, खोटी रहँदै आएको छ । तिमीहरूको अज्ञानतालाई म आदर व्यक्त गर्न चाहन्छु जसले तिमीहरूलाई अनुशासनबद्ध बनाएको छ । अन्यथा यस्तो बद्धताबाट भङ्ग हुने थियौ तिमीहरू । तिमीहरू योनीलाई सृष्टि मान्छौ, म शरीर । फरक कति भो त ? सृष्टि र शरीर वा शरीर र सृष्टि । आखिर कुन विज्ञानले अस्वीकार गर्छ मान्छेको शरीर सृष्टिको कारण र परिणाम होइन ? फरक यति हो तिमी अवचेतनमा शरीरलाई सृष्टि देख्छौ म चेतनाले सृष्टिलाई शरीर अर्थात आकारमा देख्छु । तिमी र मेराबीच अवचेनत र चेतनको भिन्नता हुन सक्छ स्वामीजी ।

कामरूपा मुस्कुराउँदै उठिन् र भनिन्, ए स्वामी, अबिरले बनाएको तस्विरलाई तिमीले शिव नेत्र जो दख्यौ र त्यसलाई अगाध आस्थाले प्रणाम ग¥र्यौ, म तिमीसँग अत्यन्त आभारी छु कि तिमीले स्त्री, सृष्टि शक्तिको पूजा ग¥यौ तर दुःखी छु तिमीले अवचेतनमा मात्र नारीको सम्मान ग¥यौै र चेतनामा नारीप्रति उपेक्षा भाव राखेर स्वामी भयौ । नारी रहस्यमा पराजित भएर तिमीले पलायनको बाटो अवलम्बन ग¥यौ । ध्यान र योगको नाम दिएर । योगी र जोगीको रूप लिएर । के नारी तिम्रालागि अस्पृश्य वस्तु थिए । अर्थहीन पदार्थ थिए ? तिमी एउटा अतिवाद हौ । म तिमी र तिमीजस्ता पात्रलाई उपमा बनाएर त्यस्ता व्यक्तिलाई खुला आँखा तथा विवेकले संसार हेर्न आग्रह गर्छु जो महिलालाई अति अतिवादले हेर्छन् र छुनै चाहँदैनन् ।

नारी सौन्दर्य, नारी रहस्य र नारीको शाश्वत शक्तिलाई अवहेलना र छिछि दुर्दुर गर्छन् अनि गुहेश्वरी वा कामाख्यादेवीको पूजा गर्छन् । अर्काथरि पात्र छन् जो महिलालाई कामवासनाको पिण्ड मात्र देख्छन् । कोही कृषि औजार वा श्रमिक उत्पादनको वस्तुमात्र ठान्छन् महिलालाई । मानिस हो, क्या अज्ञानतामा चलेको छ तिमीहरूको अतिवाद ।

कामरूपाले मस्तिष्क पर्दामा स्वामी जगत राधानारायणको आवरण देखिन् । चाहे घृणाले वा उत्सुकताले स्वामीले आफूलाई तिखा नजरले हेरेका कामरूपाले अनुभव गरेकी थिइन् । परोक्षरूपमा कामरूपा अवचेतन स्वामीभित्र रहेको सुषुप्त मानिसको परीक्षण लिन चाहन्थिन् जो दबिएर रहेको स्वामीको बलात् नियन्त्रणमा । उनले अनुभव गरेकी थिइन्– प्रहरी कार्यालयको कार्यक्रममा आफूले खाएका खाना, अन्य मासिनसँग आफूले गरेका व्यवहार र हाउभाउलाई स्वामीले रहस्यपूर्ण तरिकाले हेरका थिए ।

कामरूपालाई लागेको थियो– स्वामीको जानकारीमा म परेको छु । चाहे तिरस्कार वा आकर्षणले । के स्वामीले विज्ञानलाई जिते ? के स्वामीमा मानव स्वभाव नष्ट भएको छ ? होइन भने उनी कसरी नारी रहस्य र सौन्दर्यबाट निवृत्त हुन सक्छन् ? म त्यो जान्न चाहन्छु– कामरूपाले निर्णय गरिन् ।

बागमतीको किनारै किनार गोकर्णेश्वर र त्यहाँबाट केही मैदानी बाटो हिडेर जङ्गलै जङ्गल काठमाडौँ र भक्तपुर काटेर काभ्रेको घना जङ्गलमा रहेको स्वामीको आश्रममा जाने निधो गरिन् कामरूपाले ।

कामरूपा स्वामीलाई सम्मान गर्थिन् तर स्वामीमा अघोर अचेतन, अज्ञानता र गैरवैज्ञानिक चिन्तनको जड रहेको छ भन्दै कामरूपा त्यस्तो अवस्थामा परिवर्तन ल्याउन चाहन्थिन र आफूले स्वामीलाई भेट्न चाहेको खबर पठाइन् तर स्वामीले आफूले कुनै पनि नारीलाई एक्लै नभेट्ने जानकारी दिंदै कामरूपाको प्रस्ताव अस्वीकार गरिदिएपछि स्वामीलाई भेट्ने कामरूपाको योजनामा पूर्णविराम लाग्यो ।

यहींनेर कामरूपा स्वामीको पराजय देख्थिन् र भन्थिन् ‘उहाँमा आत्मविश्वास छैन र नारीसँग टाढा बस्नुहुन्छ । उहाँले चाणक्य नीतिमा भनिएको आगोको नजिक ध्यू र नारी नजिकको पुरुष ठोस र स्थिर रहन सक्दैन भन्ने साँगुरो चिन्तन पढ्नुभएको छ । त्यही चिन्तनबाट दीक्षित स्वामीलाई फराकिलो चिन्तनमय संसारमा ल्याउन सकिएमा हिन्दु धर्मको पुनर्भाष्यमा सहयोग पुग्ने विश्वास कामरूपालाई थियो ।

कामरूपाको बुझाइमा हरेक स्वामी तथा योगीहरू जो नारीसँग टाढा रहन चाहन्छन् उनीहरू स्वविश्वासमा पराजित मानिस हुन् । उनीहरू कमजोर मानिस हुन् र उनीहरूले नारीलाई कमजोर देख्छन् । महिलासँगै खाइखेली गरेर पनि नैतिकताको बन्धनमा बाँधिन सक्ने पो इन्द्रिय विजयी । विचरा ! नारीभन्दा दश कोश टाढा बसेर इन्द्रिय विजय गरेको छु भन्नु त अपरीक्षित मानिसको कथन मात्र हो । जसको परीक्षा नै भएको छैन उसलाई कसरी उत्र्तीण भन्ने ?

(त्रिभुवनचन्द्र वाग्लेद्वारा लिखित उपन्यास अबिरको केही अंश । स्वदेश प्रकाशनबाट प्रकाशित उपन्यास अबिर चाँडै आउँदैछ ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...