स्वीडेनको संघर्षपूर्ण जित, ३ अंक जोड्यो स्वीडेनले

Swiden koriya khel

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ को खेलमा स्वीडेनले जित हात पारेको छ । जितसँगै स्वीडेनको पनि ३ अंक भएको छ ।

दक्षिण कोरियाविरुद्ध स्वीडेनले पेनाल्टीबाट गोल गर्दै १–० गोलको संघर्षपूर्ण जित निकालेको हो । यसअघि पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

खेलको ६५औं मिनेटमा दक्षिण कोरियाका खेलाडीले स्वीडेनका खेलाडीलाई आफ्नो डिबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट स्वीडेनका आन्ड्रेयस ग्रान्कभिष्टले गोल गर्दै १–० गोलको जित दिलाएका हुन् ।

५६ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको स्वीडेनले प्रहार गरेका १५ सटमा ४ सट पोस्टको दिशामा थियो । कोरियाले ५ सट प्रहार गरे पनि त्यसले पोस्टको दिशा लिन सकेन ।

दक्षिण कोरियाले अन्तिम समयमा निकै आक्रमक खेलेको थियो । सुरुवाती समयमा आक्रमक खेलेको दक्षिण कोरियाले पहिलो हाफको मध्य समयदेखि राम्रो खेल्न सकेन । १–० गोलको पछि रहेको दक्षिण कोरियाले पटक–पटक गोल गर्ने प्रयास गरे पनि सफल हुन भने सकेन ।

प्रतिकृया दिनुहोस