ट्राफिक नियम उल्लंघन गर्ने पूर्वयुवराज पारसले तिरे पाँच सय जरिवाना

Paras

काठमाडौ । पूर्व युवराज पारस शाहले ट्राफिक नियम उल्लंघन गरेवापत पाँच सय रुपैयाँ जरिवाना तिरेका छन् ।

गत सोमबार जवलाखेल चोकबाट ट्राफिक नियमको बेपर्बाह गर्दै थापाथलीसम्म आएको बा १४प २१३१ नम्बरको गाडीलाई रोकेर ट्राफिक प्रहरीले जरिवाना तिराएको हो ।

जावलाखेल चोकमा प्रहरीले पारसको गाडी रोक्न खोज्दा अटेरी गरेर गाडी पुल्चोकतिर हुइँकिएको थियो । त्यसपछि जावलाखेल ट्राफिकले तत्काल हरिहरभवनको प्रहरीलाई फोन गरेर एउटा गाडी अनियन्त्रित गतिमा त्यतातिर आउँदै छ । चालक विदेशीजस्तो देखिन्छ । दुर्घटना निम्त्याउन सक्ने खतरा छ । नियन्त्रणमा लिनू’ भनेको थियो ।

हरिहरभवनको ट्राफिकले पनि पारसको गाडी रोक्ने प्रयास गरेको थियो । तर, त्यहाँको प्रहरीले पनि रोक्न नसकेपछि कुपन्डोलमा पनि रोक्ने प्रयास असफल बनेको थियो । अन्ततः थापाथली ट्राफिकले ४/५ वटा गाडी सडकमै राखिदिएपछि मात्रै पारसले गाडी रोकेका थिए ।

थापाथली ट्राफिकको फन्दामा परेपछि पारसले ट्राफिकसँग लाइसेन्स देखाएका थिए । तर, ट्राफिकसँग उनले पटकपटक कागजपत्र मागे पनि नपाएपछि पारस गाडी चलाएर लाइसेन्स र ब्लुबुक छाडेर माइतीघरतर्फ हुइँकिएका थिए ।

त्यसको केहीबेरपछि उनका अंगरक्षकले थापाथली ट्राफिक प्रहरी कार्यालयमा ५ सय रुपैयाँ तिरेर पारसको लाइसेन्स र ब्लुबुक लगेका थिए ।

प्रतिकृया दिनुहोस