विद्यालयमा नै जातीय छुवाछूत : डोम महिला भान्से राखेपछि खाजा कार्यक्रम तीन दिनदेखि बन्द

Dom

सिरहा । जातीय छुवाछूत र भेद्भावलाई कानुनले निषेध गरी दण्डनीय बनाएको छ । तर सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित सामुदायिक विद्यालयमा जातीय छुवाछूतको कारणले तीन दिनदेखि खाजा कार्यक्रम नै बन्द गरिएको छ ।

विद्यालयमा शिक्षिकामाथि जातीय छुवाछुत भएको भन्दै खाजा कार्यक्रमको लागि विद्यालय व्यवस्थापन समितिको बैठकले डोम समुदायकी स्थानीय भालसैर मरिकलाई भान्से नियुक्त गरेपछि कथित उपल्लो जातिका भनिनेहरुले खाजा कार्यक्रम नै बन्द गराएका हुन् ।

कसरी बाहिरियो घटना ?

गोविन्दपुरस्थित जनता आधारभूत विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता गीता रोक्का मिझारले टिफिनको समयमा आफैले खाजा झिकेर दिएकी थिइन् ।

सहजकर्ता मिझारले खाजाको लागि पकाइएको चना छोएको भोलिपल्ट जेठ २१ गते प्रधानाध्यापक जनदीश यादव र भान्सेले भान्साको चाबी नै लुकाएका थिए । त्यसपछि चाबी खोजी गर्ने क्रममा महतोले मिझारलाई ‘तल्लो जातकी’ भन्दै विद्यालयमै गालीगलौज गरेकी थिइन् ।

आफैं कार्यरत विद्यालय जस्तो ठाउँमा जातीय रुपले भेद्भाव र अपमान गरिएपछि सहजकर्ता मिझारले विद्यालय प्रशासनमा उजुरी दिइन् । तर, उनको उजुरीको सुनुवाई भएन ।

यता प्रधानाध्यापक यादवले भने उजुरीको विषयमा शिक्षकहरुसँग बसेर छलफल गर्ने तयारी गरिरहँदा अभिभावकहरु आएर सोधखोज गरेपछि घटना बाहिर गएको बताए ।

समितिले राख्यो डोम महिला भान्से

विद्यालयमा शिक्षिकामाथि जातीय छुवाछूत गरिएपछि स्थानीय दलित अभिभावकहरुले गत जेठ २५ गते विद्यालय व्यवस्थापन समितिको बैठकमार्फत् भान्से महतोलाई हटाएर भालसैर मरिक र उनको सहयोगीको रुपमा उर्मिला मिझारलाई नियुक्त गरेका थिए । भान्से नियुक्त गरिएपनि विद्यालय प्रशासनले भान्साको चाबी नदिइएपछि उनी तीन दिनदेखि विद्यालय आउँदै फर्किंदै मात्र गर्ने गरेकी थिइन् ।

उनलाई नियुक्त पर्सीपल्ट फेरि अर्को निर्णय गरियो । वडाध्यक्ष रामपुकार कामती र प्र.अ.यादवको मिलेमतोमा समितिको अर्को बैठकको माइन्युट खडा गरी मिझारको नाममा ‘मलाई खाजा बनाउने अनुभव नरहेकोले विद्यालयको नियमित सरसफाइको काम गर्न मञ्जुर छु,’ भन्ने व्यहोराको निर्णय गरिएको थियो ।

तर, मरिकले आफूले त्यस्तो कहिले पनि नभनेको बताउँछिन् । भनिन्, ‘मैले खाजा बनाउन आउँदैन भनेकै छैन, मलाई डोम भनेर हेपिएको हो ।’ डोम महिलालाई भान्से राखे अन्य समुदायका विद्यार्थीलाई विद्यालय पठाउनु हुँदैन भन्दै समितिका अध्यक्ष दाउद राइन स्वयम् घर–घर पुगिरहेको गाउँलेहरु बताउँछन् ।

कानुन अनुसार कारवाही  : प्रमुख जिल्ला अधिकारी

विद्यालय जस्तो ठाउँमा गरिएको जातीय विभेदको घटनाको विषयमा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले त्यसमा संलग्न जोसुकैलाई कानुन अनुसार कारबाही हुने बताए । ‘कानुनले बन्देज गरेको जातीय छुवाछूत गर्ने, उक्साउनेहरुलाई कानुन अनुसार कारबाही गर्छौं’ पण्डितले भने ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...