मानव तस्करद्वारा २३ नेपाली नाइजेरियामा बन्धक

Bandhak

काठमाडौ‌ । गैर कानुनी बाटोबाट अमेरिका जान लागेका २३ जना नेपाली नाइजेरियामा बन्धकसरह बनाइएका छन् ।

मानव तस्करहरुको समूहले २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पर्याएका थिए । उनीहरुलाई लेगोसमा राखिएको बिचल्ली पारिएकामध्ये बाग्लुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्र बताए ।

रवीन्द्रका अनुसार उनीहरू सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ । दिल्ली, लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भन्दै मानव तस्करले नाइजेरिया पुर्‍याएर बन्धक बनाएका हुन्। ‘३० मध्ये ६ जना दलालको चंगुलबाट उम्केर काठमाडौं आएका रहेछन्, उनीहरूले काठमाडौंमा प्रहरी र परराष्ट्रमा दिएको निवेदनपछि एक जना स्थानीय एजेन्टलाई शुक्रबार पक्राउ गरिएको थाहा पाएको छु,’ रवीन्द्रले भने ।

रविन्द्रले अमेरिका जान २५ लाख रुपैयाँ दलाललाई बुझाएका थिए । विदेश उडेका सबैलाई काठमाडौंबाट दिल्ली हुँदै बैंकक र त्यहाँबाट लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भनिएको थियो।

रवीन्द्रले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिएको निवेदनमा मानव तस्करीमा संलग्न जेसन श्रीश (राजु), बैंकक बस्ने गोविन्दराज भारती (राज) र धोजेन्द्र दगामी मगरलाई पक्राउ गर्न तथा बिचल्लीमा परेका नेपालीलाई घर फिर्ताको पहल गर्न आग्रह गरिएको छ।

लेगोसमा राखिएका मध्ये ७ जनालाई एउटै होटल र अन्यलाई भिन्न ठाउँमा लुकाएर राखिएको कन्सुलरलाई जानकारी गराइएको छ । बिचल्ली पर्नेहरू सबै बाग्लुङ र म्याग्दीका हुन्।

प्रतिकृया दिनुहोस