नारायणगढ–मुग्लिन सडकः दैनिक ६ घण्टा बन्द हट्यो

Muglin  sadak

चितवन । राजधानी काठमाडौंको लाइफलाईन नारायणगढ–मुग्लीन सडकमा कालोपत्रे गर्ने काम सकिएको छ ।

कालोपत्रे पुरा भएसँगै दैनिक ६ घण्टा बन्द हुँदै आएको यो सडकको बन्द पनि खुलेको छ । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन ।

३३.२ किलोमिटर यो सडक निर्माणका लागि हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्द गरेर काम गर्ने गरिन्थ्यो ।

गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।

आयोजनाका सूचना अधिकारी शिव खनालले भत्काइएको तीन वर्षपछि सडकखण्ड पूर्णरुपमा कालोपत्रे गर्न सफल भएको बताए ।

निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो यो आयोजना सम्पन्न हुने क्रममा छ । आयोजनालाई तीन खण्डमा विभाजन गरी अलग-अलग ठेकेदारहरु मार्फत निर्माणको काम अघि बढाइएको थियो । जसअन्तर्गत आँपटारी-दासढुंगा खण्ड निर्माणको जिम्मा लिएको बीएलए निर्माण कम्पनीले १०.४५ किलोमिटर सडकको सबै स्थानमा दोस्रो तहको पिच सकिसकेको छ भने २ किलोमिटर सडकमा तेस्रो तहको पिच पनि निर्माण भैसकेको छ । यो कम्पनीको भौतिक प्रगति ९१.२ प्रतिशत रहेको छ ।

त्यस्तै दासढुंगादेखि सिमलताल खण्डको निर्माणको जिम्मा लिएको लामा कन्सट्रक्सन कम्पनीले १०.६९ किलोमिटर मध्ये तीन तहकै पिच निर्माणको काम सम्पन्न गरिसकेको छ । यसको भौतिक प्रगति ९७.५० प्रतिशत रहेको छ ।

सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम रौतहा निर्माण कम्पनीको १२.१५ किलोमिटरमा पहिलो तहको र ११.८ किलोमिटरसम्म दोस्रो तहको पिच सकिएको छ । यो खण्डमा तेस्रो तहको पिच शुरु भएको छैन । अन्य दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले बढी जोखिमयुक्त क्षेत्रमा पर्दछ ।

समग्रमा ३३.२ किलोमिटरमध्ये ३२.७ किलोमिटरसम्म दोस्रो तहको पिच सकिएको छ । १२.७ किलोमिटरमा तेस्रो तहको पिच सकिएको छ । हालसम्म आयोजनाको ९१ प्रतिशत काम सकिएको छ ।

प्रतिकृया दिनुहोस