गणतन्त्रमा पनि सधैं दलित पीडित !

Dalit news

काठमाडौं । गणतन्त्र आएको १३ वर्ष पुग्दा पनि दलित समुदायले पीडा खेपिरहनु परेकोमा दलित राजनीतिक संघ संस्था र अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।

कयौ ज्ञात अज्ञात घटनाहरुमा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिहरु लगायत समग्र दलित समुदाय अपमानित भइहेका कारण त्यस्ता घटनामा संलग्नलाई कारवाहीको माग पनि गरेका छन् ।

विभिन्न राजनीतिक पार्टीआवद्ध नेपाल उत्पीडित जातीय मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल दलित मुक्ति मोर्चा, जातीय समता समाज र दलित विकास समिति, दलित गैरसरकारी महासंघ, वादी विकास समिति, दलित नागरिक समाज, समता फाउण्डेशन, राष्ट्रिय दलित नेटवर्क, दलित सेवा संघ र दलित महिला संघ गरी ११ वटा संघसंसथाहरुले विज्ञप्ती जारी गर्दै पछिल्ला दिनमा दलित समुदायमाथि भइरहेका छुवाछूतका घटनाको निन्दा गरेको छ ।

यस्तो छ विज्ञप्ती
हामी संघीय गणतन्त्र घोषणा र छुवाछूतमुक्त राष्ट्र घोषणाको १३ औं वर्षमा प्रवेश गरेका छौ । साथै दलित पक्षीय कानून जातीय भेदवाव तथा छुवाछूत (कसूर र सजाय ऐन) २०६८ जारी भएको ७ वर्ष व्यतीत भई नेपालको संविधान जारी भएको समेत ३ वर्ष व्यतीत भईसकेको छ । वर्तमान नेपालको संविधानले जातीय छुवाछूत तथा विभेद विरुद्धको हक र दलितको हकलाई मौलिक हकको रुपमा संस्थागत गरेको छ । नेपालका तीन वटै तहको निर्वाचन सम्पन्न भै नेपालको संविधान कार्यान्वयन भइसकेको अवस्था छ । सुशासन, स्थिरता र सम्वृद्धिको लागि ‘सम्वृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मुल नाराको साथ सिङ्गो राष्ट्र अघि बढिरहेको वर्तमान परिस्थितिमा नेपालका दलित समुदायले अझै पनि अत्यन्तै निर्मम प्रकारका जातीय छुवाछूत, उत्पीडन तथा ज्यादतीहरुको सामना गर्नुपरेको छ । यसै सन्दर्भमा तपसिलमा उल्लेखित जातीय आधारमा गरिएका केही प्रतिनिधिमुलक घटना तथा ज्यादतीहरुलाई वुदागतरुपमा प्रस्तुत गर्दै आवश्यक कानूनी कारवाहीको लागि जोडदार माग गर्दछौं :—

१. झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नंं. ६ स्थित श्रीकृष्ण द्धैपायन गुरुकुल वेद विधाश्रमले दलित समुदायका विधार्थी विकास कार्की ढोलीलाई अध्ययनको लागि भर्ना गर्ने सन्दर्भमा जातीय विभेद गरेको घटना व्यापकरुपमा प्रचारमा रहेको छ । घटनाका विषयमा जाहेरी दरखास्त दिएकोमा सो तर्फ कुनै कानूनी प्रकृया अगाडि नबढाई स्थानीय प्रहरी प्रसाशन मुकदर्शक भएको घट्ना भत्र्सना योग्य छ ।

२. अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १० निवासी कक्षा १० मा अध्ययनरत १५ वर्षिय समिता नेपालीलाई स्थानिय यूवा राजु अधिकारीले बलात्कार पश्चात हत्या गरेको छ महिना बितिसक्दा पनि अपराधीलाई कुनै कार्वाही भएको छैन । निज पीडितकी आमा न्यायको खोजीमा काठमाडौंमा भौतारिएकी छन् ।

३. सुनसरी र मोरङ जिल्लामा अन्तरजार्तीय विवाह गर्ने जोडीलाई जातीय भेदभाव गरि गाउँ निकाला गरिएको कार्यप्रति गहिरो खेद प्रकट गर्दै न्यायको लागि जोडदार माग गर्दछौं ।

४. ललितपुरको नख्खु कारागारमा बर्दिया जिल्लाका २१ वर्षीय युवक भक्तबहादुर सुनारको हत्या भएकोमा उक्त घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक कानूनी कारवाहीको लागि जोडदार माग गर्दछौं ।

५. कन्चनपुर, डोटी, अछाम र हुम्ला जिल्लामा दलितहरुमाथि भएको अमानवीय व्यवहारप्रति ध्यानाकर्षण गराउँदै उचित कानूनी कारवाहीको लागि जोडदार माग गर्दछौं ।

६. काभ्रेपलान्चोक जिल्लाका अजित मिजारको शव हालसम्म पनि काठमाडौंस्थित टिचिङ अस्पतालमा रहेकोमा अदालतबाट न्यायपूर्ण फैसलाको अपेक्षा गर्दछौं साथै लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कार्वाहीको माग गर्दछौं ।

७. माथि उल्लेखित घटनाहरु केवल प्रतिनिधिमुलक घटनाहरु मात्र हुन् । कैयौ ज्ञात अज्ञात घटनाहरुमा दलित समुदायबाट निर्वा्चित जनप्रतिनिधिहरु लगायत समग्र दलित समुदाय अपमानित भएका समाचारहरु दिनहुं छापाहरुमा आईरहेका छन् । तसर्थ माथि उल्लेखित विभिन्न घटनाहरुप्रति नेपाल सरकारलाई गम्भिर हुन आग्रह गर्दै घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन एक संसदीय समिति वा उच्चस्तरीय छानविन समिति गठन गरि स्थलगत अध्ययन गरि दोषीलाई कानूनी कारवाही र पीडितलाई न्याय र क्षतिपूर्ति सहितको न्याय प्रदान गर्न तथा जातीय छुवाछूत र भेदभावको समस्यालाई दीर्घकालिनरुपमा समाधान गर्नका लागि उपयुक्त उपाय तथा व्यवस्था गर्न जोडदार माग गर्दछौ । हाम्रा मागहरुका सम्बन्धमा तत्काल सुनुवाई नभएमा अन्य आन्दोलनका बाटाहरु अवलम्वन गर्नकोे लागि बाध्य हुने व्यहोरा यसै प्रेस विज्ञप्तीमार्फत अवगत गराउन चाहन्छौ ।

हस्ताक्षरकर्ता
प्रतिनीधि सभा तथा राष्ट्रिय साभाका माननीय सांसदज्यूहरु
१. जीतु गौतम, अध्यक्ष : नेपाल उत्पीडित जातीय मुक्ति मोर्चा
२. शम्भु हजारा पासवान : कावा अध्यक्ष, नेपाल दलित संघ
३. तिलक परियार : संयोजक, नेपाल दलित मुक्ति मोर्चा
४. गौरा नेपाली : के.स. जातीय समता समाज
५. मुक्तबहादुर महते : उपाध्यक्ष, दलित विकास समिति
५. भक्त विश्वकर्मा : वरिष्ठ उपाध्यक्ष, दलित गैरसरकारी महासंघ
६. महेश नेपाली : कार्यकारी निर्देशक, वादी विकास समिति
७. मोतिलाल नेपाली : संयोजक, दलित नागरिक समाज
८. प्रकाश नेपाली : प्रतिनीधि, समता फाउण्डेशन
९. गणेश विश्वकर्मा : राष्ट्रिय दलित नेटवर्क
१०. चक्रमान विश्वकर्मा : अध्यक्ष, दलित सेवा संघ
११. रेनु सिजापति : महासचिव, दलित महिला संघ

प्रतिकृया दिनुहोस