बलात्कार आरोपी धरौटीमा छाड्ने न्यायधीशमाथि छानविन गर्न माग

Gang rape

काठमाडौं । सप्तरी जिल्ला अदालतले सामुहिक बलात्कार घटनाका मुख्य आरोपीलाई सामान्य धरौटीमा रिहा गर्न आदेश दिएपछि पीडित परिवार मर्माहत भएको छ । पीडितले न्याय सम्पादनमा गम्भिर त्रुटि गरिएको भन्दै न्याय परिषदले छानविन गर्नुपर्ने माग गरेका छन् ।

शम्भुनाथ नगरपालिका–३ कचन्दाहाकी दलित युवतीमाथि सामूहिक बलात्कार प्रकरणका मुख्य आरोपी मनोजकुमार साहलाई जिल्ला अदालत सप्तरीले ३५ हजार रुपैया धरौटीमा छाडिदिएको हो । उनलाई न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो ।

अन्य आरोपी भने कारागार चलान गरिएका छन् । जिल्ला अदालतका दुई न्यायाधीशले एउटै मुद्दा र कसुरमा फरकफरक आदेश गरेका हुन् ।

२०७४ फागुन २७ गते राति कान दुखेको औषधि खरिद गर्न गइरहेकी ती युवतीलाई स्थानीय दुई युवाले बलात्कार गरेका थिए । उनीहरूले युवतीको मुखमा कपडा कोचेर नजिकै खेतमा पुर्‍याएका थिए । ती युवकले अरू पाँचजनालाई समेत फोनबाट बोलाई बलात्कार गर्न लगाएका थिए । तत्कालै घटनाबारे जानकारी पाएको जिल्ला प्रहरीले अजयकुमार चौधरी र एटलान्टिक चौधरीलाई नियन्त्रणमा लिएको थियो । मुख्य आरोपी मनोजकुमार साहसहित पाँचजना फरार थिए ।

अजय र एटलान्टिकलाई जिल्ला सरकारी वकिल कार्यालयले ०७४ चैत २६ गते जिल्ला अदालतमा पेस गरेकामा न्यायाधीश धु्रवराज त्रिपाठीको इजलासले उनीहरूलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको थियो । प्रहरीले गत वैशाख २८ गते मुख्य आरोपी साहलाई पनि नियन्त्रणमा लियो । तर, साहले आफू अदालतमा उपस्थित भई धरौटीमा छुटेको बयान दिएपछि सप्तरी प्रहरीले आश्चर्य जनाएको छ ।
फरार सूचीमा रहेका साह वैशाख २७ गते नै अदालतमा पेस भइसकेका थिए । आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी कसुरदार होइनन् भन्ने अनुमान गर्न मिल्ने अवस्था नदेखिँदा पछि प्रमाण बुझदै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाल मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को देहाय (५) र (१०) नम्बरबमोजिम निज प्रतिवादीबाट ३५ हजार धरौटी लिई तारिखमा राख्नू ।’

 

प्रतिकृया दिनुहोस