पारसको कीर्तिमान, क्रिकेटको वर्चस्व

Pasjasio

काठमाडौँ । राष्ट्रिय कप्तान पारस खड्का र उनका प्रशिक्षक जगत टमाटाले कीर्तिमान बनाएको दिन नेपाली क्रिकेटले एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड २०७४ मा वर्चस्व जमाएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित अवार्डमा पारस चौथोपल्ट वर्षका उत्कृष्ट खेलाडी बने भने टमाटाले वर्ष प्रशिक्षकको उपाधि हात पारे । पल्सर स्पोटर्स अवार्डका विजेता क्रमश शोभा गौचन महिला, स्यान्टु श्रेष्ठ पिपुल्स च्वाइस, अशोक केसी लाइफटाइम, हिमाल अर्याल पारा, जगत टमाटा प्रशिक्षक, पारस खड्का पुरुष र करण केसी स्पेसल ।

आर्मी अफिसर्स क्लबमा बिहीबार सम्पन्न प्रतिष्ठित स्पोर्ट्स अवार्डमा युवा क्रिकेटर सन्दीप लामिछाने र करण केसीले क्रिकेटको वर्चस्व कायम राखे । सन्दीपले वर्षका युवा खेलाडी र करणले स्पेसल अवार्ड हात पारे ।

समग्रमा ८ विधामध्ये ४ विधा क्रिकेटको नाममा रह्यो । ब्याडमिन्टनकी शोभा गौचनले वर्षकी उत्कृष्ट खेलाडी महिला, फुटबलका अशोक केसीले लाइफटाइम एचिभमेन्ट अवार्ड र बास्केटबल–क्रिकेटका हिमाल अर्यालले पारा एथलिट अवार्ड हात पारे । टेबलटेनिसका स्यान्टु श्रेष्ठको नाममा पिपुल्स च्वाइस अवार्ड रह्यो । टेबलटेनिसले दोस्रोपल्ट पिपुल्स च्वाइसको अवार्ड जितेको हो ।

पारसले यसअघि २०६६, २०६९ र २०७० सालमा पनि यो अवार्ड जितेका थिए । उनी चारपल्ट वर्षका उत्कृष्ट खेलाडी हुने पहिलो हुन् । पारस २०६४ सालमा यस अवार्डमा उत्कृष्ट युवा खेलाडी बनेका थिए । वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पाउँदा पारस आफैं आश्चर्यमा थिए । उनले भने, ‘मलाई केही आश्चर्य लागिरहेको छ किनभने यो अवार्ड सन्दीप ९लामिछाने० जितका लागि हकदार थिए ।’

पारसले वर्षको उत्कृष्ट खेलाडी बन्नेक्रममा सन्दीपसहित ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्कीलाई उछिने । नेपाललाई ऐतिहासिक वान–डे अन्तर्राष्ट्रिय मान्यता दिलाउने क्रममा कप्तान पारसले विश्व क्रिकेट लिग डिभिजन २ मा १ शतक र १ अर्धशतकसहित २ सय ४१ रन बनाएका थिए ।

नामिबियामा उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी थिए । लगत्तै जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा पारसले २ सय ३१ रन बनाउँदा अफगानिस्तान र स्कटल्यान्डविरुद्ध अर्धशतक बनाए । पारसकै कप्तानीमा विरागटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग र टिम चौराह धनगढीले डीपीएल उपाधि जितेको थियो ।

टमाटा दोस्रोपल्ट उत्कृष्ट प्रशिक्षक हुने केवल दोस्रो र पहिलो नेपाली हुन् । टमाटाले यसअघि २०६८ मा यो अवार्ड जितेका थिए । क्रिकेटकै प्रशिक्षक पुबुदु दासानायकेले २०६९, २०७० मा यो उपाधि जितेका थिए । टमाटाले क्रिकेटकै विनोद दाससहित फुटबलका छिरिङ लोप्साङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई पछि पारे ।

टमाटाको प्रशिक्षणमा नेपाल विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बन्नुका साथै विश्वकप छनोटमा आठौं हुँदै वान–डे अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बनेको थियो । यसअघि पनि पाँचपल्ट मनोनयनमा पर्दा छोरीकै अगाडि यसपालि अवार्ड थाप्न पाउँदा आफूमा छुट्टै खुसी रहेको टमाटाले जनाए ।

सन्दीपले वर्ष २०७४ मा कुल ८४ विकेट लिएका थिए । त्यसमा आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा २४ विकेट लिएका थिए । नेपालबाट सबै खाले एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली कीर्तिमान बनाएका सन्दीपले नेपाललाई एसीसी यू–१९ एसिया कपको सेमिफाइनल पुर्‍याउन पनि योगदान दिएका थिए । यसक्रममा नेपालले पहिलोपल्ट भारतलाई पराजित गरेको थियो ।

सन्दीप हाल दिल्ली डेयरडेभिल्सबाट इन्डियन प्रिमियर लिगमा खेलिरहेकाले अवार्ड कार्यक्रममा उपस्थित थिएनन् । उनको अवार्ड प्रशिक्षक विनोद दासले लिएका थिए । सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेन्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान, बक्सिङकी पुनम रावललाई अवार्ड जित्नेक्रममा पन्छाए ।

महिला वर्ष खेलाडीको अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले जितिन् । उनले योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दिपेश धामीसँगै मिक्स डबल्सको उपाधि जितेका थिए भने नेपाल इन्टरनेसनल सिरिजमा दिपेशसँगै मिक्स डबल्समा उपविजेता बनेका थिए । मञ्चको छनोट समितिले गरेको छनोटमा शोभाले बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई उछिनेकी थिइन् । नविता दुई वर्षअघिकी पिपुल्स च्वाइसकी विजेता हुन् ।

यसपालि पिपुल्स च्वाइसको अवार्ड जितेका स्यान्टुले झन्डै ४२ प्रतिशत मत पाए । भलिबलका मानबहादुर श्रेष्ठ दोस्रो, सन्दीप लामिछाने तेस्रो, फुटबलका किरण चेम्जोङ चौथो र गल्फकी प्रतिमा शेर्पा पाँचौं स्थानमा रहे । पिपुल्स च्वाइसका लागि ५० प्रतिशत एसएमएस मत, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र राष्ट्रिय खेलका प्रशिक्षकबाट समान २५ प्रतिशत मत जोडिएको थियो ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष र महिला, प्रशिक्षक र पिपुल्स च्वाइस विजेतालाई पल्सरको एनएस १६० सीसीको मोटरसाइकल प्रदान गरिएको थियो । अन्य चार विधाका विजेताले नगद ५० हजार रुपैयाँ पाए । सवै विधामा मनोनयनमा पर्नेलाई टाइमेक्स घडी, न्यु होराइजन कार्पेट प्रालिको कार्पेट, डिसहोमको सेटअप बक्स र सूर्य नेपाल, साहस स्पोर्टसको उपहार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...