पूर्व डिआईजी नवराज सिलवालबारे फेरि अनुसन्धान हुने

Silwal

काठमाडौं । प्रहरी महानिरिक्षक बढुवाका लागि सरकारी कागजात किर्ते गरेको अभियोग लागेका एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको अभियोगबारे पुनः अनुसन्धान हुने भएको छ ।

सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएकाले यससम्बन्धी फाइल महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौंलाई फिर्ता गर्न लागिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । तीन महिनाअघि प्रहरी परिसरले फाईल सरकारी वकिलको कार्यालयमा पठाएका थियो ।

प्रहरी महानिरीक्षक बढुवाका क्रममा कार्यसम्पादन मूल्यांकन किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सरकारका नाममा आदेश दिएको थियो । त्यसपछि सरकारले सिलवालले नै किर्ते गरेको अभियोग लगाएर सरकारी वकिलको कार्यालयमा कारबाहीका लागि अभियोगसम्बन्धी फाइल पठाएको थियो । कार्यालयले फाइल मुल्तबीमा राखेको थियो ।

महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारले सिलवालविरुद्ध प्रहरी परिसर काठमाडौंमा पुस ५ मा जाहेरी दर्ता गरेको थियो । जाहेरीलगत्तै प्रहरी मुख्यालयले सिलवाललाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो । ललितपुरले सिलवाल फेला नपरेको पत्र काठमाडौं परिसरलाई पठाएको थियो । त्यसपछि अभियोगको फाइल सरकारी वकिलको कार्यालयमा पठाइएको थियो ।

 

प्रतिकृया दिनुहोस