रियल मड्रिड सेभिलसँग पराजित

Rma

काठमाडौँः लिभरपुलविरुद्ध च्याम्पियन्स लिग उपाधिको भिडन्तको तयारीमा रहेको रियल मड्रिड स्पेनिस ला लिगाको गएराति भएको खेलमा सेभिलसँग पराजित भएको छ ।

ला लिगामा यो पटक संघर्षरत रियललाई सेभिलले ३–२ गोल अन्तरले पराजित गरेको हो । सेभिलसँग पराजित भएपछि रियल उपाधि जितिसकेको बार्सिलोनासँग १८ अंकले पछाडि परेको छ र ऊ ला लिगामा तेस्रो स्थानमा खुम्चिएको छ । रियल स्टार स्ट्राइकर रोनाल्डोबिना नै मैदानमा उत्रिएको थियो । रोनाल्डो घाइते भएका कारण सेभिलविरूद्ध खेल्न सकेनन् ।

सेभिलललाई महत्वपूर्ण जित दिलाउने क्रममा खेलको २२ औँ मिनेटमा बेन एल्डरले गोल गरे । त्यसैपछि खेलको ४५ औँ मिनेटमा लायुमले अर्को गोल थपे ।

पहिलो हाफमा २–० ले अघि बढेको सेभिलविरुद्ध ५८ औँ मिनेटमा रियलले पेनाल्टीको मौका पायो । तर, उसका कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्न सकेनन् ।

खेलको ८४ औँ मिनेटमा सेभिलले सर्जियो रामोसबाटै आत्मघाती गोल उपहार पाउँदै ३–० ले अघि बढ्यो । तर खेलको अन्तिममा रियलले खेलमा फर्किने कोशिश गर्यो ।

उसका लागि ८७ औँ मिनेटमा मायोरलले पहिलो गोल गरे । त्यसपछि खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा सर्जियो रामोसले पेनाल्टीबाट गोल गर्दै अन्तर ३–२ मा झारे ।

यो पराजयपछि रियल ३६ खेलबाट ७२ अंकसहित लिगको तेस्रो स्थानमा छ । समान खेलबाट एट्लेटिको मड्रिड ७५ अंकसहित लिगको दोस्रो स्थानमा छ । यसअघि नै उपाधि पक्का गरिसकेको बार्सिलोनाले समान खेलबाटै ९० अंक जोडिसकेको छ ।

प्रतिकृया दिनुहोस