साढे ३३ किलो सुन प्रकरण : न दशी, न साबिक बयान

Gold


काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा अदालतसामु पेस गरिएका अभियुक्तहरुमध्ये एक जना बाहेक सबैले बयान फेरेका छन् ।

अदालतमा अभियुक्तहरुले बयान फेर्नु र मुख्य दशी साँढे ३३ किलो सुन नभेटिनुले मुद्दा कमजोर बन्न सक्ने देखिन्छ । यसअघि दशी फेला परेकै कतिपय मुद्दामा समेत अभियुक्त उम्केका छन् ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका ३० जनामध्ये २९ जनाले बयान फेरेका हुन् । शाक्यको हत्या र सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिमा दिएको भन्दा फरक बयान उनीहरूले जिल्ला अदालत मोरङमा दिए ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा पाँच दिन लगाएर बयान सकिएको हो । कृष्ण भनिने नरेन्द्र कार्कीबाहेक सबैले बयान फेरेका हुन् ।

कार्कीले पनि सनम शाक्य हत्या प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । अदालतमा उनले मोहन काफ्ले, सनम शाक्यसहित आफू पनि पीडित भएको बताएका छन् । बयानका क्रममा उनले १२ फागुनदेखि नै आफू चूणामणि उप्रेती ‘गोरे’को अपहरणमा परेको बताएका छन् । उनले अदालतसमक्ष प्रहरीलाई दिएकै जस्तो बयान दिएका हुन् । उनले पनि आफू सुन तस्करीमा रहेको स्वीकार गर्न मानेका छैनन् । गोरेको ड्राइभरका रूपमा काम गरेको बताउँदै उनले आफू सुन तस्करी प्रकरणमा भने संलग्न नभएको बयानमा जिकिर गरेका छन् ।

अदालतमा उपस्थित कार्कीले केहीबाहेक बयान नफेरे पनि प्रहरी जवान खड्काले भने जिम्मेवार अधिकारीलाई दिएको भन्दा विपरीत बयान दिएका छन् । अर्का तोलाङ्गेले पनि बयान पूर्ण रूपमा बदलेका छन् । तस्करी प्रकरणमा जोडिएर फरार रहेका बहालवाला एसएसपी श्यामबहादुर खत्रीका चालक खड्कालाई सुन तस्करी प्रकरणबारे धेरै जानकारी थियो ।

खड्का पक्राउ परेपछि खत्री फरार भएका हुन् । पूर्वडीआईजी गोविन्द निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल र डीएसपी सञ्जय राउतका बारेमा धेरै जानकारी भएका खड्काले समेत बयान फेरेपछि अनुसन्धान टोली आफैं छक्क परेको छ । यस्तै, एयरपोर्टभित्रको सेटिङबारे जानकार तोलाङ्गेले पनि बयान फेर्दै आफ्नो संलग्नता नरहेको र आफू निर्दोष भएको बयान दिएका छन् ।

प्रहरीले सुन तस्करी प्रकरण र शाक्य हत्या अनुसन्धान प्रकरणमा बहालवाला सात प्रहरीसहित ३० जनालाई पक्राउ गरेको थियो । पूर्वडीआईजी निरौला, एसएसपी दिवेश लोहनी, एसपी खनाल, प्रहरी नायब उपरीक्षक राउत, प्रजित केसी, प्रहरी हबल्दार अम्बरबहादुर थापा मगर र विष्णु खड्कालाई पक्राउ गरेको थियो ।यस्तै, पक्राउ पर्ने अन्यमा टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान, बालकृष्ण सञ्जेल, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, संवीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा तामाङ, हेमन्त गौतम, राजु महर्जन, राजु थापा, अमरमान डंगोल र तुलाराम थारू छन् ।
को को छन् फरार ?

प्रहरीले मुद्दा दायर गरेका ६३ मध्ये ३० जना प्रहरीको न्यायिक हिरासतमा छन् । बाँकी ३३ जना अझै फरार छन् । यस प्रकरणमा मुछिएका मुख्य अभियुक्त मानिएका चूणामणि उप्रेती ‘गोरे’ र एसएसपी श्यामबहादुर खत्रीसहितका ३३ जना फरार छन् ।

धरान घर भई काठमाडौंमा गोल्ड सिल्भर प्यालेस सञ्चालन गर्दै आएका सुनील श्रेष्ठ, भोजपुर दिङ्ला घर भई काठमाडौं बस्दै आएकी रक्षा भण्डारी, मोरङ सुनवर्षी नगरपालिका–६ का अर्जुनप्रसाद खरेल, पवैत पैयू गाउँपालिका–७ का रोशन भन्ने गुप्तलाल भुसाल, काभ्रेपलान्चोक घर भएका रामहरि कार्की, पोखरा लेखनाथ महानगरपालिका–२१ का प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ का सञ्जय अधिकारी र समीर अधिकारी फरार सूचीमा छन् ।

धनकुटा घर भई काठमाडौं बस्दै आएकी गीता श्रेष्ठ, चूणामणि उप्रेती, गोरेकी श्रीमती मोरङ उर्लाबारीकी नर्बदा खरेल उप्रेती, मोरङ कानेपोखरी–४ का माधव आचार्य, मोरङ सुन्दरहरैचाका ओमप्रकाश नेवार, चितवन जगतपुर–७ का प्रहरी हबल्दार अम्बरबहादुर थापा मगर, सुनसरी धरानका सुनीलकुमार अग्रवाल, झापा शिवसत्तासी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाल, उर्लाबारी नगरपालिका–७ घर भई काठमाडौं बस्दै आएका रमेश उप्रेती, काठमाडौंमा बाजेको सेकुवा पसल सञ्चालन गर्दै आएका चेतन भन्ने चेतनाथ भण्डारी, काठमाडौं बानेश्वरका प्रमोदकुमार श्रेष्ठ, इटहरी–६ का वेनु श्रेष्ठ, काभ्रेपलान्चोक बेथान चोक गाउँपालिकाका हरिशरण खड्का, बाग्लुङ काठेखोला गाउँपालिका–७ का कमल कार्की, काठमाडौं १६ का मणिराज चौलागाईं, सिन्धुपाल्चोक सुन्दरी गाउँपालिका–१ का शिवकुमार गुभाजू, हेटौंडा उपमहानगरपालिका–४ का सुरेन्द्र गौतम, झापा मेचिनगरका रुस्तम मिया भन्ने मोहमद उस्तम मिया, सोलुखुम्बु दूधकुण्ड नगरपालिका–८ का टुकबहादुर मगर, मोरङ उर्लाबारीका भविन तामाङ, काठमाडौं महानगरपालिका–२९ बस्ने एम के भन्ने मोहनकुमार अग्रवाल र काठमाडौं नागार्जुन नगरपालिका–४ का छिरिङ वाङगेल घले फरार छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...