एन्फा अध्यक्षमा कर्माछिरिङ निर्वाचित

गणेश थापाको एकाधिकार तोडियो

Aanfa

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार कर्माछिरिङले ६३ मत पाएका छन् भने अर्का प्रत्यासी मणि कुँवरले जम्मा १२ मत पाए ।

केन्द्रीय कार्यसमितिमा सबै कर्माछिरिङ समूहबाटै बिजयी भएका छन् । चार उपाध्यक्षमा क्रमशः पंकजविक्रम नेम्वाङ, वीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह विजयी भएका छन् ।

११ जना कार्यसमिति सदस्यहरू पनि कर्मा समूहबाटै बिजयी भएका छन् । सदस्यमा दावा लामा, निरोज खड्की, पूर्णमान चित्रकार, रविन्द्रनाथ श्रेष्ठ, मधुसुधन उपाध्याय, प्रदेश सिंह राठोर, दिवेश व्यञ्जनकार, दिर्घबहादुर केसी, विजय घले, रत्नकुमार श्रेष्ठ र किरण राई विजयी भएका छन् ।

यससँगै एन्फा औपचारिक रुपमा गणेश थापाको छत्रछायाँबाट मुक्त भएको छ । थापामाथि १८ कार्तिक २०७१ मै फिफाले प्रतिबन्ध लगाएको थियो । ३० कार्तिक २०७२ मा फिफाले थापामाथि १० वर्षसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी कडा प्रतिबन्ध लगाएको थियो । तर, एन्फामा उनको हालीमुहाली कायमै रह्यो । उनले चाहेका पात्रहरु नै एन्फाको नेतृत्वमा पुगे ।

एन्फामा शुद्धीकरण अभियान चलाएका कर्माछिरिङले प्रत्यक्षरूपमा कुवँरलाई हराएको देखिए पनि खासमा यो लडाइ गणेश थापासँगै थियो ।

प्रतिकृया दिनुहोस