मन्त्रीले पनि हाले पत्रकारको चुनावमा भोट

Sah

काठमाडौं । नेपाल पत्रकार महासंघको प्रदेशस्तरीय निर्वाचनमा मन्त्रीले पनि भोट हालेका छन् । प्रदेश नम्बर २ को निर्वाचनमा प्रदेश सरकारका कृषि तथा भूमिव्यवस्था मन्त्री शैलेन्द्र साहले भोट हालेका हुन् ।

उनी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य हुन् । साह संघीय समाजवादी फोरम नेपालबाट मन्त्री बनेका हुन् । यस्तै, पछिल्लो समयमा सकृय राजनीतिमा रहेका संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का मुख्यसचिव शम्भु झाले पनि सप्तरी शाखाबाट मतदान गरेका छन् । झा यसअघि नेपाल पत्रकार महासंघ सप्तरी शाखाको अध्यक्ष र केन्द्रीय सदस्य थिए ।

राजपा नेपालका केन्द्रीय सदस्य अमरनाथ मण्डलले पनि सप्तरी शाखाबाटै नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनमा मतदान गरेका छन् । एमाले नेता सुखराम यादवले पनि पत्रकारहरुको निर्वाचनमा मतदान गरेका छन् ।

यादव स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिकाको मेयर पदका लागि चुनाव लडी पराजित भएका थिए । मण्डल र यादव धेरै पहिलादेखि नै सप्तरी शाखाको सदस्य रही राजनीतिक पार्टीमा लागेर राजनीति पनि गर्दै आएका छन् ।

शनिबार भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा तीन मुख्य दल कांग्रेस, एमाले र माओवादी निकटका पत्रकार संगठनहरुले केन्द्रबाटै पद बाँडफाँड गरेर निर्वाचनमा भाग लिएका छन् भने ती दल इतरका पत्रकारले छुट्टै उम्मेदवारी दिएका छन् ।

कतिपय पत्रकारहरुले निर्वाचनमा सिन्डिकेट भएको भन्दै भोट हालेनन् । धेरैजस्तो ठाउँमा तीनै संगठनबाट वागी उम्मेदवार उठेर आधिकारिक उम्मेदवारलाई पराजित गरिदिएका छन् ।

प्रतिकृया दिनुहोस