घरमा समय नदिएको भन्दै श्रीमानद्धारा उपमेयर कुटिइन्

Muna adhikari kunwar godavari

काठमाडौं । स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक समेत रहेने नगरपालिकाको उप–प्रमुख आँफै घरेलु हिंसाको सिकार बनेकी छन् ।

काठमाडौंको गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी कुवँर श्रीमानको कुटाइबाट घाइते भएकी हुन् । मुनाका श्रीमान ध्रुव कुँवरले घरायसी विवादमा उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

मंगलबार राती श्रीमानको कुटाइले घाइते बनेकी उप–प्रमुख अधिकारी बुधबार महानगरीय प्रहरी परिसर जावलालखेल आएकी थिइन् । उनले विनाकारण श्रीमानले कुटेको भन्दै प्रहरीमा बयान दिएकी छिन् ।

अहिले उप–प्रमुखका श्रीमान कुँवर महानगरीय प्रहरी परिसर जावलाखेलको नियन्त्रणमा छन् । प्रहरीले नियन्त्रणमा लिएका उनका श्रीमान् धु्रव कुवँरले निर्वाचनयता आफूहरूबीच बेमेल बढ्दै गएको बताए । उनले भने, ‘निर्वाचित भएयता परिवारलाई समय दिनै छाडिन्, पहिले–पहिले मिलेर खाना पकाउँथ्यौं, दुःखसुख साटासाट हुन्थ्यो, अहिले रातीसम्म पनि घर आउँदिनन्, यही विषयमा हाम्रो झगडा भएको हो, मेरो कुरा अटेर गरेकोले मैले हात उठाएकोे हुँ ।’

वृतका प्रहरी निरीक्षक सुन्दर चौलागाईले कुटपीटपछि उपप्रमुखकको आँखामा गम्भीर चोट लागेको र शरीरभरि निलडाम रहेको जानकारी दिए ।

स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकामा नेपाली काङ्ग्रेसबाट उपप्रमुख बनेर अधिकारीले चुनाव जितेकी थिइन् । जनप्रतिनिधि बनिसकेपछी श्रीमान ध्रुव कुँवर र उनीबीच झगडा हुन थालेको पारिवारिक स्रोतको भनाई छ । प्रहरीले अहिले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले श्रीमान श्रीमतीबीचको झगडा भएका कारण मेलमिलाप सेलमा पठाइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस