चार वर्षमा चारसय २१ पटक सुन तस्करी

'राप्रपा नेता भुजुङ गुरुङ तीस वर्षदेखि सुन तस्करीमा'

Gold

काठमाडौँ । साँढे ३३ किलो सुन प्रकरणमा छानविन गर्न गठन भएको विशेष समितिले ६३ जना विरुद्ध मोरङ जिल्ला अदालतमा संगठित अपराध, तस्करी र कर्तब्य ज्यान मुद्दा दायर गरेको छ । १७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ बिगो मागदाबी गरिएको सो मुद्दासँगै समितिले सुन तस्करीबारे धेरै तथ्यहरु सार्वजनिक पनि गरेको छ ।

प्रतिवादीहरूको बयानका आधारमा पछिल्लो चार वर्षयता ठूलो परिमाणमा नियमित तवरमा सुन तस्करी भइरहेको देखिएको छ । विशेष समितिले ४ सय २१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा सुन तस्करीका मुख्य व्यक्ति भनिएका गोरे भन्ने चुडामणि उप्रेतीको अनामनगरस्थित फ्ल्याटबाट बरामद गरिएका ९ डायरीमा उल्लेख भएको सुन ल्याउने व्यक्तिको नाम, परिमाण, ल्याएको मिति र ल्याउने भरियाको नामसमेत समावेश छ । अभियोगपत्रमा २०१५ जुलाईयता ४ सय २१ पटक ल्याइएको उल्लेख छ ।

तस्करको समूहले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीका उच्च अधिकारीहरूसँगको मिलेमतोमा कसरी गुपचुप अवैध स्वर्ण धन्दा चलिरहेको थियो भन्ने प्रतिवादीहरूको बयानबाट खुलेको देखिन्छ ।

संगठित तस्करको समूहले फ्लाई दुबई र थाई एयरलाइन्समार्फत दुबईबाट सुन ओसारेको तथ्य अनुसन्धानले देखाएको छ । दुबईबाट आउने सुन मुख्यतस् दुई तरिकाले विमानस्थलबाट बाहिरिने गरेको देखिन्छ ।

पहिलो तरिका बिस्कुट आकारको सुन विमानभित्रको ट्वाइलेटमा हाल्ने र फ्लस गर्ने । उक्त सुन विमान ल्यान्ड भएपछि सफाइ मजदुरका रूपमा जाने कर्मचारीले ट्वाइलेटको दिसापिसाब जाने पाइप खोलेर दिसापिसाब सफा गर्ने भाँडामा राखेर बाहिर ल्याउने ।

दोस्रो तरिका भनेको विमानभित्र झोलामा राखेर ल्याइएको सुन विमानबाट ओर्लिने क्रममा प्रयोग हुने भर्‍याङयुक्त गाडी (र्याम) को माथिल्लो भागमा बनाएको प्वालभित्र खसाल्ने । यसरी खसालिएको सुन भर्‍याङको तल्लो भागमा गएर जम्मा हुन्थ्यो । यात्रु ओर्लिसकेपछि भर्‍याङयुक्त गाडी (र्याम) पार्किङमा लगिन्थ्यो । सीसीटीभीको कभरेज नहुने उक्त क्षेत्रमा राति भर्‍याङबाट सुन निकालेर बाहिर निकालिन्थ्यो ।

अभियोगपत्रमा गोरेको फ्ल्याटमा भेटिएको डायरीमा तस्करीको सुन ओसारपसारमा प्रहरीसँग सहयोग लिएबापत क–कसलाई कति रकम दिइएको थियो भनेर पनि उल्लेख छ जसमा डीआईजी, एसएसपी, एसपी, डीएसपी र जवानलाई कुन समयमा कति रकम दिइएको थियो भन्ने उल्लेख छ । गोरेले तस्करीको सुन ओसारपसारमा सहयोग गरेबापत विभिन्न पटक गरेर प्रहरीलाई २ करोड बीस लाख ७७ हजार रुपैयाँ दिएको देखिन्छ ।

स्रोतका अनुसार विशेष समितिले हस्तलिखित सबै डायरी परीक्षणका निम्ति प्रहरीको विधिविज्ञान प्रयोगशालाका पठाएको छ । परीक्षणपछि ती अक्षर कहिले लेखिएका थिए, ती एकै व्यक्तिले लेखेका हुन् कि फरक–फरक व्यक्तिले भन्नेजस्ता तथ्य खुल्नेछन् ।

राप्रपा नेता भुजुङ गुरुङ तीस वर्षदेखि सुन तस्करीमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङले प्रहरीसँग बयानका क्रममा आफु तीस बर्षअघिदेखि संगठित सुन तस्करीमा संग्लन रहेको बताएका छन् । भुजुङले बयानका क्रममा आफुसँग आरके ज्वेलर्सका साहु राजेन्द्रमान शाक्य पनि संग्लन रहेको बताएका छन् ।

गुरुङले बयानका क्रममा भनेका छन् ‘२०४४/४५ सालतिर नै मैले थाई एयरमार्फत सुन ल्याएर काठमाडौंका सुन पसलमा बेच्ने काम गर्थे । २०६९ देखि म चुणामणि उप्रेतीसँग जोडिएँ । मोहन अग्रवाल, छिरिङ वाङ्गेललगायतका साथी मिलेर सुन तस्करीको योजना बनायौं । मैले गोपाल कुमार श्रेष्ठसँग सल्लाह गर्दा उनले प्लेनको ट्वाईलेटको फोहोर फाल्ने डस्टविनमा सुन लुकाउने र उक्त सुन थाई एअरवेजमा सरसफाईको काम गर्ने कर्मचारीमार्फत बाहिर निकाल्न सकिने र विमानको ग्यारेजमार्फत विमानस्थल बाहिर सुन निकाल्न सकिने योजना बन्यो । सुन तस्करी गर्ने क्रममा मोहनकुमार अग्रवाल र निजका तीन जना दाजुभाई, पवन अग्रवाल, दरबारमार्गका सुन पसले राजेन्द्र शाक्य पनि कारोवारमा संग्लन थिए ।’

३३ किलो सुन कहाँ छ ?
गत ९ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको भनिएको तस्करीको ३३ किलो सुन ओसारपसारमा संलग्न भनिएका एक जनाको हत्या भइसकेको छ । उच्चपदस्थ प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । उनीहरूलाई सुनको अवैध कारोबार, अपहरण, हत्या र संगठित अपराधसम्बन्धी अभियोग लगाइएको छ । तर, त्यसको जड सुन कहाँ पुग्यो भन्ने रहस्य अदालतमा समेत खुलाइएको छैन ।

कसैले त्यसलाई गलाएर बेचिएको भनेका छन् भने कतिपयले अन्यत्र पठाइसकिएको, गाडिएको वा विमानस्थलबाटै नबाहिरिएको जस्ता अनुमान गर्दै आएका छन् । अर्का थरीले मुख्य तस्कर र प्रहरीकै मिलेमतोमा गायब पारिएको अनुमान गरेका छन् । भरिया भनिएका व्यवसायी सनम शाक्यको हत्यारा पत्ता लगाउन सक्ने प्रहरीले सुन बरामद नगर्नुलाई ‘रहस्यमय’ भन्ने पनि छन् ।

प्रतिकृया दिनुहोस