माईभ्यालीको उपाधी थ्रीस्टारलाई !

Mai valley

इलाम । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि रुस्लान थ्री स्टार फुटबल क्लबले चुमेको छ । उपाधिका लागि प्रतिस्पर्धामा रहेको लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।

निर्धारित समय दुवैतर्फबाट गोलरहित बराबरी भएपछि खेल १५ मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । थ्री स्टारका चर्चित स्ट्राइकर विमल घर्तीमगरको पासमा सुनील बलले विपक्षी मनाङको गोल पोस्टमा बललाई जाली चुमाए । विमलले उत्कृष्ट ड्रिबलिङसहित डि–बक्स छेउबाट दिएको छोटो पासलाई सुनीलले सहज सदुपयोग गरे ।

जितसँगै विजेता थ्री स्टारले नगद ६ लाख ६६ हजार र माइभ्याली गोल्डकपको उपाधि ‘मेयर्स कप’ हात पारेको छ । उपविजेता मनाङले नगद ४ लाख र उपविजेताको ट्रफीमा चित्त बुझाएको छ । यो जित नै थ्री स्टारलाई सिजनको पहिलो उपाधि विजेता बनाउनसमेत सफल भएको छ । गत सिजनमा पनि थ्री स्टारले मनाङमाथि ५ पटक विजय हासिल गरेको थियो । फाइनल खेलको म्यान अफ् दि म्याच मनाङका हेमन गुरुङ घोषित भए ।

उपविजेता मनाङका कप्तानसमेत रहेका राष्ट्रिय टिमका कप्तान विराज महर्जनले म्यान अफ् दि सिरिजको पुरस्कारस्वरूप स्कुटी हात पारे । बेस्ट गोलकिपर एलन नेउपाने, डिफेन्डर पिटर, मिडफिल्ड सुनील बल, फरवार्ड मार्टिन र प्रशिक्षक मेघराज केसी घोषित भए । उनीहरू सबै विजेता थ्री स्टार क्लबका खेलाडी हुन्।

सर्वाधिक गोलकर्तामा नवीन लामा, रोजिन सुब्बा, मनिष थापा र युवराज खड्का संयुक्त रूपमा घोषित भए। उनीहरूले समान २–२ गोल गरेका थिए। प्रतियोगिताका उदीयमान खेलाडी माइभ्यालीका दर्शन गुरुङ भए । पुरस्कृत खेलाडी र प्रशिक्षकले जनही १५ हजार र सर्वाधिक गोलकर्ताले संयुक्त रूपमा २५ हजार नगद पाए ।

वैशाख ६ मा सुरु प्रतियोगिताका प्रत्येक दिनका म्यान अफ् दि म्याचलाई नगद १० हजार र चाँदीको मेडल प्रदान गरिएको थियो। प्रतियोगितामा ए–डिभिजन क्लबसहित नेपाल, भारत र बंगलादेशका १२ टिम सहभागी थिए । प्रतियोगितामा ३ विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब, आयोजक माइभ्याली क्लब, पोखराको कास्की–११, संकटा, लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी, रुस्लान थ्री स्टार, रमपम झापा–११, भारतको दुर्गापुर स्टिल र युनाइटेड सिक्किम तथा बंगलादेशको कावरान प्रगति संघले सहभागिता जनाए ।

माइभ्यालीको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लब र दोस्रो तथा तेस्रो संस्करणको उपाधि रमपम झापा–११ ले जितेका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...