‘गुराँसको राजधानी’मा गुराँस टिप्न प्रतिबन्ध !

Tmj

तेह्रथुम । ‘गुराँसको राजधानी’ भनेर चिनिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले गुराँसको फूल टिप्न प्रतिबन्ध लगाएको छ ।

थोरै मात्रामा फूलेको गुराँसका फूल समेत पर्यटकले टिपेर लैजान थालेपछि ‘गुराँसको फूल जोगाऔं’अभियान सुरु गरिएको वन कार्यालयले जनाएको छ । घुम्न आउनेले पर्यटकले गुराँसको फूल टिपेर लैजाने र फूल टिप्दा हाँगा समेत भाँच्न थालेपछि वन कार्यालयले फूल टिप्न नै प्रतिबन्ध लगाएको हो ।

फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्ष समेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सुचना नै प्रकाशित गरेर फूल टिप्न प्रतिबन्ध लगाएको हो । सूचना बेवास्ता गरी कसैले फूल टिप्ने र हाँगा भाँच्ने कार्य गरेको पाइए कार्यस्थलमै कारबाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।

फूलसँगै हाँगा भाँच्दा गुराँसको बोट सुक्ने वन प्राविधिकहरुको भनाइ छ । लालीगुराँस नगरपालिकाको देउरालीबाट सुरु हुने गुराँस क्षेत्रमा यतिबेला दैनिक ५ सय बढीको संख्यामा पर्यटक आइरहेका छन् । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फूलीरहेका छन् ।

गुराँसको सौन्दर्यमा रमाउन र घना गुराँसे जंगलमा घुम्न आउने पर्यटकले गुराँसको फूल टिपेर लैजाने गरेका छन् । सवारी साधनमा आउने यस्ता आन्तरिक तथा बाह्य पर्यटकले फूल टिपेर गाडीमा लोड गरेर समेत लैजाने गरेका छन् ।

स्थानीयले गुराँस टिपेर जुस, वाईन र रक्सी समेत बनाउने गरेका छन् । जसले गर्दा पनि गुराँसे जंगलमा फूल मासिने क्रम बढेको इलाका वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत देवनाथ शाहले बताए ।

फूल टिप्ने क्रम रोक्न वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिका पदाधीकारी र वन कर्मचारी समेत परिचालन गरेको छ ।आवश्यक परे प्रहरीसमेत परिचालन गरेर भए पनि गुराँसको फूल टिप्ने काम रोकिने वन अधिकृत पोखरेलको भनाइ छ ।

वन कार्यालयले पर्यटक फर्किने मुख्य नाका, सहायक नाका, गौंडा तथा जंगलबाट फर्किंदा पहिले भेटिने बजारका चौक र जंगल क्षेत्रमै गोप्य रुपमा सुराकी खटाएको छ । छद्मभेषमा खटिएका निगरानीकर्ताले फूल टिपेको भेटेमा समाएर वन कार्यालयलाई बुझाउनेसम्मको अधिकार पाएका छन् । पक्राउ परेकाहरुलाई वन ऐन तथा नियमावलीअनुसार कारबाही गरिने वन कार्यालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष गुराँस कम फूलीरहेको कार्यालयले जनाएको छ ।
गुराँसका कारण प्रदेश नम्बर १ कै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको टिएमजे क्षेत्रको गुराँस वन संकटमा पर्ने भन्दै स्थानीयले चिन्ता जाहेर गरेका छन् ।

नयाँ वर्षको अवसरका वैशाख १ गते यहाँ घुम्न आउने करिब ५० हजार पर्यटकले गुराँस टिपेर लगेका थिए ।

प्रतिकृया दिनुहोस