मिस नेपालको गुनासो ‘सरकारले प्राथमिकता दिएन’

Miss nepal

हेटौंडा । मिस नेपाल २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको गुनासो गरेकी छन् ।
मंगलबार हेटौंडामा आफ्ना कम्युनिष्ट बाबु आमा प्रतिनिधि सभाका सांसद विरोध खतिवडा र प्रदेश ३ की सांसद मुनु सिग्देललाई दायाँ बायाँ राखेर श्रृंखलाले मिस नेपालले विश्वमा देशको प्रतिनिधित्व गर्ने भएपनि सरकारले कम प्राथमिकता दिदै आएकोमा गुनासो पनि पोखिन्। ।

उनले भनिन्– ‘मिस वल्र्डमा शृङ्खला भनेर बोलाईदैन, मिस नेपाल भनेरै चिनिन्छ,’ उनले भनिन् ‘त्यसलाई बुझेर सरकारले महत्व दिए विश्वभरै राम्रो सन्देश जान्थ्यो र हामीलाई उत्साह मिल्थ्यो।’खेलाडीहरुलाई जस्तै सरकारले मिस नेपाललाई पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिईन् ।


‘मिस वल्र्डमा बालिका बलात्कार, बालबालिका शिक्षा, महिला शिक्षालगायतका धेरै बिषय छन्,’ उनले भनिन् ‘दीर्घकालिन प्रभाव पार्ने बिषयलाई छनौट गरेर मिस वल्र्डमा प्रस्तुत गर्नेछु ।’ पूर्व मिस नेपाल ईशानी श्रेष्ठले मिस वल्र्डको हालसम्मको ब्यूटी विथ प्रपर्स उपाधीसहित उत्कृष्ट ५ मा पर्न सफल रहेको भन्दै आफुले पनि राम्रो उपलब्धी हासिल गर्न पहल गर्ने बताईन् । मिस नेपाल भएपछि केही उदाहरणीय काम गृह जिल्लामै गर्ने पनि खुलासा गरिन्।

यसैबिच, मिस नेपाल खतिवडाले मंगलबार गृहनगर हेटौंडामा मानवसेवा आश्रममा आश्रित ७५ जना बृद्धबृद्धा र बालबालिकालाई खाना खुवाईन् । आमा मुनु सिग्देल र बाबु बिरोध खतिवडासहित आश्रम पुगेकी उनले बृद्धबृद्धालाई चकलेट बाँडेर खुशी पनि साटिन्।

त्यस्तै, मिस नेपाल खतिवडालाई जिल्ला युवा समिति, प्याब्सन, लायन्स क्लबहरु, सम्पूर्ण जेसिजहरु, लियो क्लबहरु र राष्ट्रिय सौन्दर्यकर्मी संघले हेटौंडामा मंगलबार सम्मानित गरेको छ । उनलाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सम्मान पत्र र खादा ओडाएर सम्मान गरेकी हुन् । सम्मानपछि बोल्दै प्रदेश प्रमुख कोईरालाले मिस नेपालले नेपालको महिला, बालिका र उनीहरुको शिक्षालगायत सामाजिक मुद्धालाई उठान गर्नुपर्नेमा जोड दिईन्।

प्रतिकृया दिनुहोस