एन्फा निर्वाचन तत्काल गर्न एएफसीको निर्देशन

Afc anfa

काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) स्थगित गरिएको चुनाव तत्काल गर्न निर्देशन दिएको छ । एएफसीले एन्फालाई पत्र लेखेरै निर्वाचनको मिति तत्काल तोक्न भनेको हो ।

‘एन्फाको निर्वाचन समिति एक्लैले बाह्य हस्तक्षेपबिना चुनावी विषयबारे निर्णय गर्ने पनि स्मरण गराउन चाहन्छौं,’ एएफसीका महासचिव दातो विन्डसोर जोनद्वारा हस्ताक्षरित पत्रमा लेखिएको छ ।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र मकवानपुरका तत्कालीन ‘वरिष्ठ उपाध्यक्ष’ मनीष श्रेष्ठले आफ्नो जिल्लामा निर्वाचन नभएकाले केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदा आफ्नो प्रतिनिधित्व नहुने र हक खोसिने भन्दै उजुरी गरेपछि उच्च अदालत पाटनका न्यायाधीश राजकुमार बनको इजलासले उक्त निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन नगर्न नगराउन भनी ८ चैतमा अन्तरिम आदेश दिएको थियो । त्यसैले तेस्रोपल्ट तोकिएको मिति १४ चैतमा पनि निर्वाचन स्थगित गरिएको थियो ।

यसअघि २३ पुस र त्यसपछि ११ माघमा मिति तोकेर पनि एन्फाले विविध कारण देखाउँदै चुनावको मिति सारेको थियो ।

तर अहिले भक्तपुर र मकवानपुर दुबै जिल्लामा निर्वाचन समेत सम्पन्न भईसकेको छ । उच्च अदालतको आदेशपछि एन्फाले मकवानपुरमा चैत २३ र भक्तपुरमा चैत २७ मा निर्वाचन सम्पन्न गर्‍यो । त्यसैले उजुरीकर्ताको माग पूरा भइसकेको र अब निर्वाचनको बाटो खुलेको बताइएको छ । 

एसियाली फुटबलको सर्वोच्च संस्था एएफसीले एन्फालाई पत्राचार गर्दै भनेको छ, ‘एएफसीले एन्फाको चुनावी अधिवेशनको विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । विवादित दुई जिल्ला संघ भक्तपुर र मकवानपुरमा सफलतापूर्वक निर्वाचन सम्पन्न भइसकेको छ । यस विषयलाई समाधान गर्न निरन्तर गरिएको प्रयासप्रति एन्फाको प्रशंसा गर्दर्छौं । अब निर्वाचन समितिले तत्कालै एन्फा चुनावको मिति तोक्ने आशा छ ।’

यसअघि निर्वाचन स्थगित भएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले एन्फालाई तत्काल निर्वाचन नगरे चुनाव कारबाही गर्ने चेतावनी दिएको थियो । लगत्तै ७७ मध्ये ४७ मतदाताले समस्या समाधान गर्ने उपयुक्त विकल्प निर्वाचन नै भएकाले कारबाही नगरी निर्वाचनको वातावरण बनाउन फिफालाई गुहारेको थियो ।

सहिद स्मारक लिगका क्लबहरूले पनि एन्फा निर्वाचन चाँडै गरेर चार सिजन बन्द गरिएको ए डिभिजन लिग पुन: सञ्चालन गर्न सार्वजनिक रूपमै आग्रह गरिसकेका छन् । अध्यक्षको उम्मेदवार कर्माछिरिङ शेर्पाको समूहले पनि पत्रकार सम्मेलनमा गरेरै चाँडै चुनाव गर्न माग गरेको थियो । आफ्नो अवस्थाअनुकूल नरहेकाले एन्फाको संस्थापन पक्षले नै चुनाव गर्न नचाहेको आरोप पनि छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...