पर्यटकको पर्खाइमा बागलुङको गाजा दह

Untitled

बागलुङ । प्राकृतिक सुन्दरतायुक्त गाजाको दह पर्यटकको पर्खाइमा छ ।

जैमिनी नगरपालिका ३ स्थित दह जिल्लाको पर्यटकीय गन्तव्यमध्येको एक हो । सदरमुकामदेखि मोटरमा २४ किमी पार गरेपछि दह पुग्न सकिन्छ । पदयात्रामा रमाउने पर्यटक भने चार/पाँच घण्टामा दह पुग्न सक्छन् ।

दुई हजार ८ सय मिटरको उचाइमा अवस्थित दहलाई स्थानीयले प्रकृतिको अनुपम देन मान्छन् । सांस्कृतिक कारणले पनि दहको महत्व बढी छ ।

दहबाट देखिने हिमाली दृश्यले त झन सबैको मन लोभ्याउने गरेको छ । वसन्त याममा ढकमक्क फुल्ने गुराँसले दहको सौन्दर्य बढाउने गरेको छ । स्थानीयले दहको सौन्दर्य बिग्रन नदिन संरक्षण योजना ल्याएका छन् । दहको पुरानैस्वरुप यथावत रहेको स्थानीय रामबहादुर छन्त्यालले बताए ।

दह क्षेत्रलाई प्राकृतिक, धार्मिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । गाजा दह संरक्षण समितिका अध्यक्ष गोपाल छन्त्यालले सम्भावना भएर पनि दह ओझेलमा परेको बताए ।

पर्यटकीय पूर्वाधार बनाउन सके पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ । ‘दह संरक्षणको लागि केही काम भएको छ’ अध्यक्ष छन्त्यालले भने, ‘पर्यटक तान्न अन्य पूर्वाधार आवश्यक छ ।’ दह घुम्नका लागि आन्तरिक पर्यटक गए पनि बाह्य पर्यटक पुग्न सकेका छैनन् । विद्यालय र विभिन्न संघसंस्थाले अवलोकन भ्रमण दहमा लैजाने गरेका छन् ।

घना जंगलको बाटो हिमाल हेर्दै पदयात्रा गर्नेका लागि गाजा दह महत्वपूर्ण गन्तव्य बन्ने देखिन्छ । बागलुङ बजारदेखि पर्यटकीय गाउँ भकुण्डे, सिगाना, रेशको चापाखर्क हुँदै गाजाको दह पुग्न सकिन्छ ।

गाजा दह यात्राको क्रममा धौलागिरि, अन्नुपूर्ण, माछापूछ्रे लगायतका दर्जन बढी हिमाल देख्न सकिन्छ । बीचमा खाजा खाने ठाउँदेखि र दहमै पुगेपछि रात बिताउन होटलको समेत व्यवस्था छ । खाना र आवासको लागि कुनै समस्या नरहेको स्थानीय होटल व्यवसायी बताउँछन् ।

दहको पर्यटन विकासका लागि पर्यटन कार्यालय पोखराले पनि बजेट उपलब्ध गराउँदै आएको छ । सो बजेटबाट दहको वरिपरि तारजाली र पर्खाल लगाउनेलगापयतका काम गरिएको छ ।

केही वर्षअघि दहको समग्र विकासको लागि गुरुयोजना बनाइए पनि सो अनुरुप काम हुन भने सकेको छैन । गुरुयोजनाले दह नजिकै ‘भ्यू टावर’, पदमार्ग, सामुदायिक लजजस्ता पूर्वाधार निर्माणको लक्ष्य लिएको थियो । पूर्वाधार बनाएर उचित प्रचारप्रसार गर्नसके दहमा पर्यटन विकासको प्रचुर सम्भावना देखिन्छ ।

प्रतिकृया दिनुहोस