वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण शुरु

Himal aarohan

काठमाडौँ । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् ।

सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् ।

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमतिप्राप्त गरेका छन् । यीमध्ये १५ वटा सगरमाथा आरोहण समूह छन् । आरोहणका लागि अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने विभागको अनुमान छ ।

आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । ६ हजार ५ सय मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताए । हिमाल आरोहणलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन विभागले यसवर्षदेखि कडाइ गरेको उनको भनाइ छ ।

आरोहीहरु हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखिमात्र आरोहण शुरु हुने जनाइएको छ । कतिपय आरोहण समूह आउन अझै केही दिन लाग्ने भएको छ ।

विभागबाट अनुमति प्राप्त गर्ने दल तथा आरोहीको संख्यात्मक विवरण हेर्दा सन् २०१७ मा ४३ वटा समूहका ३६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३१८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सन् २०१७ मा २९१ समूहका दुई हजार २२६ जना र सन् २०१६ मा २७८ समूहका एक हजार ९३४जना आरोहीले सगरमाथा सहितका हिमाल आरोहण अनुमति लिएका थिए ।

यद्यपि, सन् २०१७ मा कति आरोहीले सगरमाथा चढे भनेर अहिलेसम्म यकिन विवरण आएको छैन । विभागको पर्वतारोहण शाखाका अनुसार आरोहणका केही फाइलमो ‘भेरिफाई’ नभएकाले आरोहीको संख्या यकिन नभएको हो ।

सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने र सो अबधिको आरोहणलाई हेर्दा सन् २०१७ मा १०८ समूहका ८३४ जनाले र सन् २०१६ मा ९८ समूहका ७४०जनाले हिमाल आरोहण गरेको देखिन्छ ।

सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति ९विदेशी० सँग ११ लाख दस्तुर लिन्छ । नेपालीले ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखि १ करोडसम्म खर्च गर्छन् ।

ट्रेकिङ क्याम्प नेपालका सञ्चालक वाङ्चु शेर्पाका अनुसार एक आरोहीले सगरमाथा आरोहणका लागि राजस्वबाहेक ३० लाखभन्दा बढी खर्चनुपर्छ । सगरमाथा जाने एक समूहमा सातदेखि बढीमा १५ जनासम्म हुन्छन् ।

सेभेन समिट ट्रेक्स कम्पनीबाट यो याममा ५ वटा समूहले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् अघिल्लो वर्ष ६ वटा समूह थिए । सगरमाथा आरोहणमा जाने धेरैजसो चिनियाँ र युरोपेली मुलुकका आरोही रहेको कम्पनीका व्यवस्थापक निमेष कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...