सेना विनाको जर्नेल र जनता विनाको राप्रपा उस्तै उस्तै

होस् र चेत नगुमाएको राप्रपाले कहिले गर्ने समिक्षा ?

Janakraj pathak

२०४६ को परिवर्तनपछि बहुदलीय प्रजातन्त्र र संवैधानिक राज संस्थालाई स्वीकार गर्दै, नेपाल अधिराज्यको संविधान ०४७ को परिधिभित्र रहि एकै दिन दुई वटा पार्टी गठन भए । ती पार्टी हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी । जुन पार्टीको नामको पछाडी मात्र थापा र चन्द राखियो ।

यी पार्टीहरु बीचमा एकता र फुटमा विभक्त रहे । त्यसबेला गठन भएका दुई राप्रपा ०६२/०६३ को परिवर्तनपछि ०७४ को निर्वाचनसम्म आइपुग्दा विधिवत रुपमा तिन वटा राप्रपा बनेका छन् ।

०४७ देखि ७४ सम्मको यात्रामा राप्रपाले दुई वटा प्रधानमन्त्री, एक उपप्रधानमन्त्री, दर्जनौ मन्त्री, राज्यमन्त्री र त्यतिकै हाराहारीमा सहायकमन्त्री पायो । पटकपटक सत्तामा पुग्यो । तर, पटकपटक सत्तामा पुगेको त्यो पार्टी आज मृत्यु शैयामा पुगेको छ । यसबारे अझैं विभिन्न चिरामा विभक्त भएका राप्रपाका नेताहरु गम्भीर होलान भन्ने लाग्दैन । किनकी राप्रपाका नेताहरु गम्भीर भइदिएको भए पार्टीले अहिलेको जस्तो लज्जास्पद अवस्थाको सामना गर्नुपर्ने थिएन ।

बहुदलीय व्यवस्थाको पुनरागमन हुँदा पनि तत्कालीन राप्रपाको अवस्था नाजुक थिएन । ०४८ को आम निर्वाचनमा ३ सीट जितेको राप्रपाले ०५१ सालसम्म आइपुग्दा २० सीट जित्न सफल बनेको थियो । त्यसैगरी ०७० मा पनि ३७ सीट पाएकै थियो । तर, राप्रपा भित्रका कथित नेतृत्वकै कारण ०७४ सालमा १ सीटमा खुम्चिनुपर्ने अवस्था आयो । त्यो एक सीट पनि वाम गठबन्धनमा नपरेको भए सम्भव थिएन ।

०४८ देखि ०७४ सम्म आइपुग्दा पार्टी नेतृत्वहरुले कहिले पनि राप्रपालाई अण्डा दिने कुखुराको रुपमा संरक्षण गर्न सकेनन् । नेतृत्वले पार्टीलाई कहिले पनि सही गति दिन सकेनन् । पार्टीलाई जुन रुपमा लैजानुपर्ने हो, त्यो बाटामा नलगी गलत र कुबाटोमा हिडाउने प्रयास भयो । पार्टीभित्रका सीमित ठेकेदारहरु आफु मोटाउने काम गरे, पार्टीलाई मानव कंकाल जस्तो मात्रै बनाए । एक प्रकारले पार्टीको नेतृत्व नै गलत व्यत्तिःको हातमा गयो ।

०५१ मै क्यान्सर लागेको राप्रपा क्रमसः दुब्लाउँदै हाड र छाला मात्र बाँकी रहेको अस्थिपञ्जर जस्तो बन्यो । त्यस्तो अवस्थाको पार्टीले प्रगति गरेर ठूलो पार्टी बन्छ भन्ने थिएन । त्यसमा पनि चीर निन्द्रामा नपरेको भए भलै अहिलेको जस्तो दुर्गती चाँही भोग्नुपर्ने थिएन । नेतृत्वको व्यक्तिगत कुन्ठा, रिसिइबी, घमण्ड र धोकाका कारण कार्यकर्ता पटकपटक जल्न र मर्न बाध्य भए । दृश्य र अदृश्य शक्तिले राप्रपालाई आफ्नो अनुकुल हुनेगरी पटक–पटक फुटाए । र आफ्नो अनुकुल बनाउन जुटाए पनि ।

एउटा सिद्धान्त बोकेको पार्टी नेतृत्व सीमित स्वार्थमा फुटिरह्यो । जुटिरह्यो । प्रारम्भमा बलियो भए पनि तरल अवस्थामा पुराउन शत्तिःकेन््रहरुले भरपुर प्रयोग गरे । जुट र फुटको गणित जोड घटाउँमा लाग्दालाग्दै यसका नेतृत्वले आफ्ना कार्यकर्तालाई हेर्ने फुर्सद नै पाएनन् । जसका कारण इमान्दार कार्यकर्ताहरुमा निरासा छायो । खेल्दाखेल्दै र हास्दाहास्दै ०७४ को बिहानीसम्म आइपुग्दा राप्रपालाई रातमा बर्बराउने रोगले छोयो । तैपनि अर्झै यसका नेतृत्वहरुले चेत खाएका छैनन् । जनता र अन्य राजनीतिक पार्टीहरुले टेरपुच्छर नलगाउँदा पनि यिनीहरुको होस खुलेको छैन ।

राजनितिमा सबैभन्दा प्रधान कुरा नै जनमत हो । अब जनमत गुमाएको राप्रपालाई कसले टेर्लान् त अब ? मलाई लाग्छ राप्रपाले अबका दिनमा बारीको डिलमा बसेर अरुले खेलेको खेलमा थपडी बजाउनुको अर्काे विकल्प छैन । हालका नेतृत्वहरुले कार्यकालभरी भाइछोरा, नातागोता, इस्टमित्र, ससुराली, मावलीबाहेक अरुलाई नहेर्दाको परिणाम आज देखिएको छ । कुकुर मर्दा सहिद हुने अवस्था आयो । माओवादी युद्धकालमा राप्रपा भएकै कारण मारिएका कार्यकर्ताको खोजी गरिएन । उनीहरुका परिवारले के पाए ? कुनै नेतृत्वले खोजेको छ ? छैन । पायो त नेतृत्वले सान, सौगात, मानसम्मान, इज्जत प्रतिष्ठा, झन्डा र डन्डा ।

कुनै दिन कुनै नेताले कुनै कार्यकर्ताको चर्चा गरेको पाइएन । आफ्नो घर घुम्ने र भजन गाउने चाटुकार नै असली कार्यकर्ताको रुपमा परिचित हुँदै गए । फलस्वरुप असली संगठनात्मक क्षमता भएका कार्यकर्ताहरु पलायन हुँदै गए । अन्ततः राप्रपा सिपाइ बिनाको जर्नेल जस्तै बनेको छ ।

नेतृत्वले ‘माछा देख्दा दुलोभित्र हात र सर्प देख्दा दुलो बाहिर हात’ भने जस्तो गर्नु हुन्नथ्यो । नेतृत्व हावी भएको बेला कार्यकर्ता ओझेलमा परे । अब राप्रपाको खेल बन्द भइसकेको छ । कार्यकर्ता विना मैदानमा गएर मात्र केही हुन्न । त्यसकारण फेरि राजनीतिक मैदानमा उत्रिने हो भने धैर्य गर्नसक्नुपर्छ । कार्यकर्तालाई टिकाउनुपर्छ । अहिलेको जमाना युवाको जमाना हो । त्यो पनि बुझ्नुपर्छ ।

यसो गरौं कि ?
नेपाली राजनीतिमा कुनै समय सत्ताको चाबी क्याप्चर गर्ने हैसियत भएको राप्रपा आज खाल हारेको जुवाडेझै घर न घाटको भएको छ । नेपाली जनता राप्रपा भन्ने नामसँग आक्रोसित छन् । नामै सुन्न चाहने अवस्था पनि छैन । नेतृत्वप्रति झनैं असन्तुष्टी बढेको छ । त्यसकारण अब राजनीतिको मैदानमा आउने हो भने अहिलेका राप्रपाहरुका नेतृत्वले नाम परिवर्तन गरेर एउटै झण्डामुनी बस्न सक्नुपर्छ ।

अहिलेका ३ वटा राप्रपाका अध्यक्षहरुको सल्लाहकार समिति बनाएर अबको नेतृत्व युवा पुस्तालाई जिम्मा दिनुपर्छ । पूर्व अध्यक्ष स्वतः सल्लाहकार समितिमा रहेने व्यवस्था गरौै । तिनै पार्टीका नेता भन्ने ठालुहरु (पदाधिकारी तथा सदस्यहरु) को केन्द्रिय परिषद बनाऔं । ७० वर्षको उमेर कटेकाहरुलाई कार्यकारी पदमा नराखौं । आगामी २ वर्षभित्र माहाधिवेसन हुने गरी संगठनलाई अर्जुनदृष्टिमा राखौं । विज्ञहरुको परामर्शमा पार्टीको नाम र चुनाव चिन्ह रोजौं ।

त्यसका अलावा नेतृत्वले कसैको कसम खाएर भन्दा पनि माटोको कसम खाऔं । व्यक्तिलाई होइन, पार्टीलाई हेर्ने बानी बसालौं । यदि यसो गर्न सकियो भने आगामी ५ वर्षमा पार्टीलाई जिवित मात्रै होइन, एउटा शक्तिशाली पार्टीको रुपमा स्थापित गर्न सकिन्छ । नत्र अहिलेकै अवस्था हो भने कि कुनै पार्टीमा विलय हुनुपर्छ । वा यो राप्रपा भन्ने पार्टी घर न घाटको हुन्छ । यसतर्फ नेतृत्वले बेलैमा सोचोस ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...