सातै प्रदेशका प्रदेशसभा सदस्यले लिए शपथ, प्रदेश प्रणालीको अभ्यास शुरु

7 pardesh

काठमाडौँ । मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उनीहरुले शपथ लिएसँगै मुलुकमा संक्रमणको खाडल साँगुरो हुनाका साथै संघीयता कार्यान्वयनले एक चरण पार गरेको छ ।

यसअघि विकेन्द्रीकरणका नाममा मुलुकमा ५ विकास क्षेत्र भए पनि ती निजामती कर्मचारीमातहत थिए । प्रदेशको अभ्यास नेपालको संविधानबमोजिम पहिलो पटक हुन लागेको छ । भारतलगायत मुलुकमा प्रदेश प्रणालीले काम गरिरहेको छ ।

प्रदेश प्रमुखमा नियुक्त प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, रत्नेश्वरलाल कायस्थ, अनुराधा कोइराला, बाबुराम कुँवर, उमाकान्त झा, दुर्गाकेशर खनाल र मोहनराज मल्लले पदबहालीपछि आज प्रदेशसभाका ज्येष्ठ सदस्यलाई शपथ दिलाउएपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाएको हाम्रा समाचारदाताले जानकारी दिए ।

अन्तरिम व्यवस्थापनका लागि राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीको नेतृत्वमा प्रदेश प्रमुखको सचिवालयका लागि श्रेणीविहीनबाहेक १८ कर्मचारी खटाइसकिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।

प्रदेशसभा सदस्यले शपथ लिएसँगै राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली तयार गरी प्रकाशन गर्न निर्वाचन आयोगलाई बाटो खुलेको छ । आयोगले यसअघि नै उक्त निर्वाचनका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको छ ।,

सरकारले प्रदेशको तत्काल कार्यसञ्चालनका लागि विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, रुपन्देही अर्थात् बुटवल, सुर्खेत र धनगढीलाई स्थान तोकेको छ । प्रदेशको राजधानी भने प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट आफैँले तोक्न सक्ने सवैधानिक व्यवस्था छ ।

नेपालको संविधानअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० गरी कूल ५५० प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभाका ६० प्रतिशत सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम र ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने व्यवस्था छ । प्रदेशसभाको कार्यकाल ५ वर्षको हुनेछ ।

प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान र ३० दिनभित्र मुख्यमन्त्री नियुक्ति गर्नेछन् । निर्वाचन आयोगले यही माघ ३ गते प्रदेशसभा सदस्यको अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

संविधानअनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यले आफूमध्येबाट प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्नुपर्ने छ । प्रदेश सभामुख वा उपसभामुखमध्ये एक महिला तथा फरक फरक दलको प्रतिनिधि हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ । प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थितिको आह्वान गर्न सक्नेछ ।

 

प्रतिकृया दिनुहोस