पर्यटनका लागि घरवास र पदयात्रा

Tangting

पोखरा । पछिल्लो समयमा बढ्दै गएको घरवास होम स्टे कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ ।

नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत गरी घरवास पर्यटनको अवधारणालाई अघि सारिएको हो ।

पर्यटकलाई सुविधा सम्पन्न रिसोर्ट तथा होटल नभएर गाउँकै भान्सामा खाना तथा आवासजन्य सुविधा प्रदान गर्ने सोचका साथ घरवास पर्यटनको अवधारणा शुरु भएको हो ।

अन्तर्राष्ट्रियरुपमा नेपाल पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य रहेको अवस्थालाई दृष्टिगत गरी ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च भिटोफ प्रदेश नं ४ ले घरवास र पदयात्रा पर्यटनलाई सँगसँगै जोड्ने अभियानको थालनी गरेको मञ्चका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।

‘यहाँका पर्यटकीय गाउँ पुग्ने पर्यटकको इच्छा पदयात्रासँग पनि जोडिएको हुन्छ’, उनले भने, ‘घरवास सञ्चालन भएका एक ठाउँबाट अर्को ठाउँमा पुग्ने बाटोलाई पदमार्गका रुपमा व्यवस्थित गरे त्यसबाट घरवास र पदयात्रा पर्यटन दुवैको विकास सम्भव हुन्छ ।’

मञ्चको अगुवाइमा कास्कीका घरवास सञ्चालन भएका पर्यटकीय गाउँ ताङ्तिङबाट कर्पुडाँडा र कर्पुडाँडाबाट याङ्जाकोटलाई पदयात्रासँग जोड्न लागिएको छ । पदमार्गसहित ‘ताङतिङ–कर्पुडाँडा–याङ्जाकोट’ जोड्ने अभियान कास्कीकै पर्यटकीय विकासमा महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उनले बताए ।

पदयात्रा र घरवासलाई सँगसँगै जोड्ने सोचका साथ अभियान सञ्चालन गरिनु समग्र पर्यटकीय विकासका लागि महत्वपूर्ण कार्य भएको नेपाल टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघका सहसचिव धर्मराज पन्थीले बताए ।

‘नेपालमा पदयात्राकै लागि धेरै बाह्य पर्यटक आउने गरेका छन्’, उनले भने, ‘पदयात्रा मार्गमा पर्ने गाउँमा घरवास कार्यक्रमलाई विकास गर्न सके यसले घरवास पर्यटन र पदयात्रा पर्यटन दुवैलाई टेवा पुग्छ ।’

जथाभावी बाटो खन्ने नाममा पदमार्ग छोटिने क्रम पदयात्रा पर्यटनको चुनौती बनेको उनको भनाइ छ । एउटा घरवासबाट अर्कोसम्म पुग्नका लागि छोटा पदमार्गको विकास गर्न सकेमात्र पनि त्यसले पदयात्रा पर्यटनमा राहत पुग्ने उनले बताए ।

नेपालमा घरवास पर्यटनको शुरुवात् २०५४ सालमा सिरुबारीबाट भएको मानिन्छ । सिरुबारीका समाजसेवी स्व क्याप्टेन रुद्रमान गुरुङको पहलमा पहिलोपटक घरवास कार्यक्रम शुरु गरिएको सो गाउँमा हाल १७ वटा घरमा उक्त सेवा सञ्चालनमा छ ।

घरवास पर्यटनको शुरुवात् स्थानीयस्तरबाट गरिएसँगै सरकारले पहिलोपटक पर्यटन ऐन, २०६५ मा घरवासलाई औपचारिक सम्बोधन ग¥यो भने २०६७ मा कार्यविधि ल्याइयो । नेपालको पर्यटकीय विकासमा घरवास पर्यटनले महत्वपूर्ण योगदान गर्ने स्पष्ट संकेत दिए पनि यो क्षेत्र अझै ओझेलमा परिरहेको मञ्चका पूर्व अध्यक्ष तारानाथ पहारी बताउँछन् ।

पदयात्रा पर्यटनसँगै घरवासलाई जोड्ने र यसको प्रचारप्रसार गर्न सके स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण नेपालमा रमणीय गाउँमा पर्ने उनको भनाइ छ । नेपालमा सबैभन्दा बढी घरवास कार्यक्रम गण्डकी तथा धवलागिरिमा सञ्चालनमा छ । तथ्याङ्कअनुसार गण्डकी र धवलागिरिमा मात्र घरवास सञ्चालन भएका गाउँको संख्या ६५ पुगेको छ भने कास्कीमा ३७ वटा घरवास दर्ता भई सञ्चालनमा आएका छन् ।

 

प्रतिकृया दिनुहोस