बेसहारा बालजीवनः मलाई नसोध कहाँ दुख्छ घाउ !

Cij

पारिवारिक विखण्डन वा समस्याले आवासगृहहरूमा पुगेका बालबालिकाको कथा सुन्नुभएको छ ? उनीहरूको पीडाले भन्छ– दुःख यस्तोसम्म भोग्नुपर्छ ।

हिंसामा परेका महिला तथा बालबालिकाका लागि एक गैरसरकारी संस्थाले कैलालीको अत्तरियामा सञ्चालन गरेको आवास गृहमा चार महिलासँगै १० बालबालिका बस्छन् । ७ र ६ वर्षका दाजुबहिनी रमेश र सुष्मा साउद पनि विगत डेढ वर्षदेखि त्यहीं बसिरहेका १० जनामध्येकै हुन् ।

बाबुआमा दुवै बेपत्ता भएपछि उनीहरू कैलालीको साविक गोदावरी गाविस-८ मा  बड्डीबज्यै अर्थात् आमाकी हजुरआमासँग बस्दै आएका थिए । ती बालबालिका राखेबापत नातिनी बुहारीको गाली खानुपरेपछि बड्डीबज्यैले उनीहरूलाई सुरक्षित आवास गृहमा ल्याएर राखिदिएकी हुन् । त्यसपछि उनीहरू यो अस्थायी केन्द्रलाई नै आफ्नो सधैंको घर ठान्दछन् । दुवै दाजुबहिनी अहिले अत्तरियाकै एक विद्यालयमा दुई कक्षामा पढ्छन् ।

उनीहरूकी बड्डीबज्यै धउली साउदका अनुसार रमेश एक वर्ष नपुग्दै र सुष्मा दुई महीनाको गर्भमा छँदा उनीहरूका बाबुले घर छाडेका थिए । कतै खोजतलास गर्दा पनि उनी फेला नपरेपछि आमा लक्ष्मी माइती डोटी गइन् । अनौठो के भयो भने लक्ष्मी माइत गएपछि उनकी आमा पनि एक्कासि घरबाट गायब भइन् ।

सुष्मा डोटीमै जन्मिइन् । त्यसको दुई वर्षपछि लक्ष्मी पनि अचानक बेपत्ता भइन् । त्यसरी क्रमैसँग हराएका रमेश र सुष्माका आमा, बाबु र हजुरआमा हालसम्म फेला पर्न सकेका छैनन् । सहाराविहीन दुवै बालबालिकालाई धउलीले आफ्नोे एकल महिला भत्ता र दाउरा बेचेको पैसाले आफूसँगै राखेर हुर्काएकी हुन् ।

सुरक्षित गृहमा राखिएका बच्चाहरूसँग भेटेको भन्दै नातिनीबुहारीले घरबाट निकालिदिएपछि अत्तरिया बजारमा तरकारी बेचेर गुजारा चलाइरहेकी ७५ वर्षकी धउली यी दुई बच्चालाई भेट्न आइरहन्छिन् । उनी सुरक्षित गृहका कर्मचारीहरूसँग भन्ने गर्छिन्, “यिनीहरूलाई अब यो घरबाट चाहिं ननिकालिदिनुहोला ।”

कञ्चनपुरको लक्ष्मीपुर गाउँपालिकाकी ६ वर्षीया अस्मिना चौधरी पनि अत्तरियाको सुरक्षित गृहमै बस्छिन् । उनले यो गृहलाई छात्रावासका रूपमा लिएकी छन् । उनी तीन वर्षकी हुँदा बाबु सुग्रिम चौधरीको जण्डिसका कारण मृत्यु भयो । विधवा आमा सीता डगौरामाथि परिवारले हेलाँ गर्न थाल्यो । त्यसपछि काखकी छोरी दिदीघर छाडेर उनी बेपत्ता भइन् ।

कैलालीको मोहनपुर गेटामा ठूलीआमा सरस्वतीसँग बस्दै आएकी अस्मिनालाई उनैले सुरक्षित गृहमा पु¥याइदिएकी हुन् । अस्मिनाका बाबुको नाममा एक बिघा जमीन छ । त्यो जमीन हडप्न बाजेबज्यैले उनीहरूलाई निकालेको ठूलीआमा सरस्वतीले बताइन् । “अस्मिनाको ज्यानमाथि नै खतरा देखेर उसलाई मैले नै सुरक्षित गृहमा पु¥याएकी हुँ, मलाई पनि धम्की आइरहन्छ”, उनले भनिन् । 

अत्तरियामा तीन कक्षामा पढिरहेकी अस्मिना छुट्टीको बेला ठूलीआमाको घर जान्छिन् । आमा कहाँ छिन् उनलाई थाहा छैन । आमालाई उनका बाजेबज्यैले कुटपीट गरी घरबाट निकालेपछि अर्की बहिनी पनि बेपत्ता छिन् ।

एउटै विद्यालयमा दुई कक्षामा पढ्ने गोपाल सिजापति पनि सुरक्षित गृह अत्तरियामै बस्छन् । भारतको गाजियावादमा काम गर्दै बसेका बाबु छविलालको ४ वैशाख २०७३ मा हत्या भएको थियो । गोपाल पनि त्यसबेला आमाबाबुसँग उतै बस्थे । बाबुको हत्यापछि उनलाई लिएर नेपाल फर्किएकी आमा लीलाको पनि २३ पुस २०६३ मा करेन्ट लागेर मृत्यु भयो । बाबुआमाविहीन बनेका गोपाललाई त्यसपछि फुपाजूले यो गृहमा ल्याएर छाडेका हुन् ।

गौरीगंगा नगरपालिका–११, कैलालीका वसन्त र रितेश बैजाली दाजुभाइ उस्तै वियोगको पीडा बेहोर्दैछन् । रितेश तीन महीनाको छँदा बाबुको क्षयरोग लागेर मृत्यु भयो । त्यसपछि आमाले अर्को विवाह गरिन् । उनका दुई दाजुभाइलाई हजुरआमाले आर्थिक अभावका बीच दुःखकष्टसँग हुर्काउँदै आएकी थिइन् । त्यो देखेर राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत मानबहादुर नेपालीले उनीहरूलाई यो गृहमा पु¥याइदिएका हुन् ।

अभिभावक नगुमाएका बालबालिका पनि परिवारका संरक्षकबाटै हिंसाको शिकार भई सुरक्षित गृहमा आइपुग्न बाध्य हुने गरेका छन् । कैलालीकी १३ वर्षीया सानु तिनैमध्ये पर्छिन् । गत वर्ष उनको पेट अस्वाभाविक रूपमा बढेको देखेपछि आमाले उनलाई नजिकको अस्पताल लगेर जँचाइन् ।

डाक्टरले सानुको पेटमा आठ महीनाको बच्चा रहेको जानकारी दिए । त्यो खबर सुनेर बेहोश भएकी आमाले होश खुलेपछि छोरीसँग सोधीखोजी गर्दा आफ्नै ५५ वर्षका बाजेको बलात्कारबाट उनी गर्भवती भएको पत्ता लाग्यो । बाजेको धाकधम्कीका कारण उनले घटनाबारे कसैलाई बताउन नसक्दा आठ महीनासम्म गुपचूप रहेको थाहा भयो । 

प्रहरीको सहयोगमा पीडित बालिकालाई महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल कैलालीले सञ्चालन गरेको सुरक्षित आवास गृहमा राखियो । त्यहाँ पुगेको १५ दिनमै उनले बच्चा जन्माइन् । आमा र बच्चा दुवै अहिले सोही गृहमा बस्दै आएका छन् । नातिनी बलात्कार गर्ने उनका बाजे चाहिं कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन् ।

बलात्कार गर्ने बाजेलाई कैद सजाय गरेर मात्र सानुलाई न्याय पाएको अनुभूति हुन नसक्ने ओरेक नेपालकी कैलाली जिल्ला संयोजक विनु राना बताउँछिन् । “जन्मेको साढे चार महीना भइसक्दा पनि बच्चाको जन्मदर्ता भएको छैन । पीडित बालिका र बच्चा दुवैको पुनस्र्थापना गर्न गाह्रो भइरहेको छ”, उनले भनिन् । छोरीलाई केही समयपछि परिवारमा फर्काउन तयार भएका पीडितका बाबुले उनीबाट जन्मेको बच्चालाई भने नस्वीकार्ने बताएका छन् ।

महिला तथा बालबालिकाका लागि सञ्चालित दुई सुरक्षित गृह बाहेक कैलाली जिल्लामा अनाथ बालबालिकाका लागि खुलेका ६ वटा बालगृह पनि छन् । तिनमा १९५ बालबालिका आश्रित छन् । अरू २७ अनाथ बालबालिका एउटा छात्रावासमा बस्छन् । बालगृह, सुरक्षित गृह वा छात्रावासमा बस्ने सबै बालबालिका महिला तथा बालबालिका कार्यालय कैलालीको सिफारिशमा राखिएका हुन् ।

कैलालीमा तीनै किसिमका गृहहरू गैरसरकारी संस्थाले चलाएका हुन् । तिनीहरूले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड सरकारले तोकिदिएको छ । बजेट र जनशक्तिको अभावमा उनीहरूको अनुगमन गर्न भने नसकिएको महिला तथा बालबालिका कार्यालय, कैलालीकी अधिकृत सन्ध्या सिंहले बताइन् । 

सुरक्षित गृह अत्तरियाकी सञ्चालक जानकी मलासीका अनुसार यहाँ राखिएका बालबालिकालाई माध्यमिक तहको शिक्षा पूरा भएपछि परिवार तथा उनीहरूको नजिकका संरक्षककहाँ पुनस्र्थापना गरिनेछ । यहाँका ६ बालबालिकालाई महिला तथा बालबालिका कार्यालयबाट कागज गरेर त्यसरी पुनस्र्थापित गराइसकिएको छ ।

गृह सञ्चालक मलासी पीडित महिला र बालबालिकाको मानवअधिकार संरक्षणमा रुचि राख्ने एकल महिला हुन् । पहिले उनी घरेलु हिंसामा परेका महिलाहरूलाई आफ्नै घरमा राखेर अल्पकालीन सुरक्षा दिने गर्थिन् । त्यसो गर्दा पीडितहरूको गोपनीयता भंग हुन थालेपछि उनले आफ्नै नेतृत्वमा ११ जनाको कार्यसमिति बनाई २०७२ जेठ ३० गते जिल्ला प्रशासन कार्यालय, कैलालीमा यस्तो काम गर्ने गैरसरकारी संस्था दर्ता गरेकी हुन् ।

दुई छोरीकी आमा मलासीलाई २९ वर्षको उमेरमा श्रीमान् गुमाएपछि बेहोर्नुपरेको घरेलु हिंसाबाट आफूजस्ता पीडितहरूको लागि सुरक्षित गृह खोल्ने प्रेरणा मिलेको थियो । उनले आफ्नोे सबै समय र श्रम सुरक्षित गृहमै लगाएकी छन् । मुठी दानबाट चलेको यस गृहमा उनकी छोरी गीतासहितका पाँच जनाले निःशुल्क सेवा गर्दै आएका छन् ।

जोखिममा परेका महिला तथा बालबालिकाको अल्पकालीन आश्रयका लागि ओरेक नेपालले कैलालीमा २०६३ सालदेखि सुरक्षित आवास गृह सञ्चालन गर्दै आएको छ । सन् २०१७ को जनवरी यता ओरेकमा दर्ता भएका महिला विरुद्धका घरेलु तथा यौन हिंसासम्बन्धी ९७ वटा घटनामध्ये ३४ वटा घटनासँग सम्बन्धित पीडितहरूलाई गृहमा पठाइएको सो संस्थाले जनाएको छ ।

यस अवधिमा घरेलु हिंसाका ६१, मानव ओसारपसारसम्बन्धी एक, बहुविवाहको एक, जबर्जस्ती करणीका नौ, जबर्जस्ती करणी उद्योगका तीन, यौन हिंसाका आठ, सामाजिक हिंसाका सात, बोक्सी आरोपमा भएको हिंसाका आठ र अपहरणका नौ घटना ओरेक कैलालीमा दर्ता भएका थिए । 

तीमध्ये २१ घरेलु हिंसा, दुई बहुविवाह, ६ जबर्जस्ती करणी, एक जबर्जस्ती करणी उद्योग र चार यौन हिंसामा परेका पीडित महिला तथा बालबालिकालाई सुरक्षित अवास गृहमा राखिएको छ ।

खोज पत्रकारिता केन्द्रबाट 

प्रतिकृया दिनुहोस