गुफा बजारमा पर्यटन सूचना केन्द्र स्थापना

Gufa

तेह्रथुम । गुराँसको राजधानीेका रुपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका सबै सूचना अब एकै ठाउँबाट पाइने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने गरी संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित टिएमजे क्षेत्रको मुख्य गन्तव्य गुफाबजारमा यो क्षेत्रकै पहिलो पर्यटन सूचना केन्द्र खुलेको हो ।

सरकारीस्तरबाटै पर्यटन सूचना केन्द्र सञ्चालन हुनुपर्ने भए पनि यत्तिका समयसम्म बेवास्ता भएको भन्दै स्थानीय युवा संगठित भएर पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका छन् ।

युवाले ‘तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्र’ नामक संस्थाका रुपमा संगठित भएर सूचना केन्द्र स्थापना गरेका हुन् । एउटै वनमा २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रका पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन साथै सो क्षेत्रका अत्यावश्यक सूचना सम्प्रेषणका लागि सूचना केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष केदारनाथ लिम्बुले बताए ।

‘सूचना केन्द्रबाट टिएमजे क्षेत्रका सबै सूचना उपलब्ध गराउने हाम्रो योजना छ’– उनले भने, ‘अहिले सुरुआतमा हामीसँग सहजै उपलब्ध हुने सूचनालाई व्यवस्थित गरेर राखेका छौँ ।’ केन्द्रमार्फत तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेको यो क्षेत्र हुँदै कञ्चनजंघा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा ¥याफ्टिङ गर्ने र टिएमजे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्रदान गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष लिम्बुको भनाइ छ ।

युवालाई सूचना केन्द्र स्थापनाका लागि नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले आर्थिक सहयोग गरेको छ । सो संस्थाको सहयोगमा आफूहरुले भवन निर्माण गरी प्रारम्भिक चरणका सूचनालाई व्यवस्थित गरी सूचना केन्द्र सञ्चालनमा ल्याएको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका सचिव सन्तोष लिम्बुले बताए ।

‘यो क्षेत्रले ‘गुराँसको राजधानी’ भनेर संसारमै नाम कमाएको छ, यहाँ आउने पर्यटकलाई सबै सूचना उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ सचिव लिम्बुले भने ।

प्रतिकृया दिनुहोस