७५ जिल्लाको सकियो समानुपातिकको मत गणना

एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी बन्यो तेस्रो, अन्य दलले कति मत पाए ? हेर्नुस् सची

3 party flag

काठमाडौं । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको समानुपातिकतर्फको ७५ जिल्लाको मतगणना सकिएको छ ।

प्रत्यक्षतर्फ ८० सिटमा विजयी भएको एमाले समानुपातिकतर्फ समेत पहिलो पार्टी बनेको छ । एमालेले ३१ लाख ६१ हजार दुई सय २३ मत ल्याएको छ ।

निर्वाचन आयोगका अनुसार एमालेभन्दा नेपाली कांग्रेस करिब ५० हजार मत अन्तरले पछाडि परेको छ । प्रत्यक्षतर्फ २३ सिटमा विजयी भएर तेस्रो पार्टी बनेको कांग्रेस समानुपातिकतर्फ ३१ लाख ११ हजार २ सय ६२ मत ल्याएर दोस्रो बनेको छ ।

प्रत्यक्षतर्फ ३६ सिटमा विजयी हुँदै दोस्रो दल बनेको नेकपा माओवादी केन्द्र समानुपातिकमा तेस्रो बनेको छ । माओवादी कांग्रेसभन्दा १८ लाख १५ हजार ४ सय ४२ मतले पछाडि छ । माओवादीले १२ लाख ९५ हजार आठ सय २० मत मत पाएको छ ।

आयोगका अनुसार ७५ जिल्लाको गणना हुँदासम्म चौथो पार्टी बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ४ लाख ६९ हजार ७ सय ९० मत पाएको छ । पाँचौ स्थानमा रहेको संघीय समाजवादी फोरमले ४ लाख ६८ हजार ९ सय ५६ मत पाएको छ ।

यता, चुनाव अगाडि सबैभन्दा धेरै चर्चा रहेको तर प्रत्यक्षतर्फ एक सिटमा पनि विजयी हुन नसकेको विवेकशील साझा पार्टीले २ लाख १२ हजार २ सय ९३ मत पाएको छ ।

मतका आधारमा सातौ दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राप्रपाले १ लाख ९६ हजार १ सय ९० मत मात्र पाएको छ । तर, प्रत्यक्षतर्फ १ सित जिते पनि राप्रपा राष्ट्रिय दल बन्न सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले ८८ हजार दुई सय ८० मत पाएको छ ।

नयाँ शक्तिले ८१ हजार ४ सय ४६ मत मात्र पाएको छ । राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय २३ मत पाएको छ । नयाँ शक्ति र राजमोले प्रतिनिधिसभातर्फ १/१ सिट जितेका छन् । तर, पनि ३ प्रतिशत मत ल्याउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट चुकेका छन् । अन्य दलले समानुपातिकतर्फ ३ लाख ५४ हजार ४ सय ९८ मत पाएका छन् ।

निर्वाचन आयोगका अनुसार अब दुई जिल्लाका केही क्षेत्रको मतगणना बाँकी छ । आयोगका सहायक प्रवक्ता मुकुन्द्र शर्माका अनुसार सुनसरी क्षेत्र नम्बर ३ र सर्लाही क्षेत्र नम्बर २, ३ र ४ को गणना जारी छ ।

 

प्रतिकृया दिनुहोस