राजीनामा दिएर घर बस्न देउवालाई एमालेको सुझाव

Uml press meet

काठमाडौं । नयाँ सरकारको नेतृत्व गर्ने तयारीमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमालेले कामचलाउ सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न लागेकोमा आपत्ति जनाएको छ ।

राष्ट्रियसभा गठनको बखेडा झिकेर सत्ता लम्ब्याउने खेलमा लागेको त होइन भन्ने आशंका समेत गरेको छ । सरकारले बिहीबार मन्त्रिपरिषद बैठकबाट ७ वटा प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ । तर, वाम गठबन्धनले यसमा आपत्ति जनाएको छ ।

एमाले पोलिटव्यूरो सदस्य तथा पूर्व कानुनमन्त्री अग्नि खरेलले प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने काम नयाँ सरकारले गर्ने बताए ।

‘जतिबेला गर्नुपर्ने हो, त्योबेला नगर्ने । अहिले चुनावले नयाँ म्याण्डेट दिइसकेपछि प्रदेश प्रमुख नियुक्त गर्ने, जीएम नियुक्ति जस्ता काम गर्न मिल्दैन’ खरेलले भने्, ‘उहाँले त अब तत्कालै निर्वाचनमा पराजय स्वीकार गरेर राजीनामा गर्ने र जय नेपाल भन्दै घर जानुपर्ने हो ।’

पूर्व कानुनमन्त्री समेत रहेका खरेलले अघि थपे, देउवाजीले किन राजीनामा दिनुभएको छैन, मलाई अचम्म लागिरहेको छ ।’ प्रदेशका सांसदहरुको सपथग्रहण, राष्ट्रियसभा निर्वाचन कानुन ल्याउने जस्ता काम अब नयाँ सरकारले व्यवस्थापन गर्ने खरेलले बताए ।

‘चुनावको लगभग सबै रिजल्ट आइसक्यो, प्रधानमन्त्रीमा थोरै पनि नैतिकता छ भने उहाँले गर्ने पहिलो काम भनेको राजीनामा हो’ उनले भने, ‘हामीले यो राजीनामा मागेको होइन, सम्झाएको हो ।’

खरेलले राष्ट्रियसभा गठन नहुँदैमा नयाँ सरकार गठन नरोकिने दाबी गरे । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी ऐन देउवा सरकारले नै नल्याएकोले अब यो काम नयाँ सरकारले गर्ने उनले बताए । समानुपातिकतर्फ परिणाम आएर बिजयी उम्मेदवार घोषणासँगै नयाँ सरकार गठन हुने उनको दाबी छ ।

एमालेले कामचलाउ सरकारबाट हुने कुनै पनि नियुक्ति, सरुवा बढुवा लगायतका दीर्घकालिन असर गर्ने निर्णयमा सहयोगी नबन्न कर्मचारी प्रशासनलाई सचेत गराएको छ ।

एमालेले मुख्य सचिव लोकदर्शन रेग्मी लगायत उच्च प्रशासकलाई गडबडीका मतियार नबन्न चेतावनी दिएको हो । एमालेका शीर्ष नेताहरुले मुख्य सचिव सहित उच्च प्रशासकहरुलाई कामचलाउ सरकारले मनपरी निर्णय गर्न खोजेको भन्दै सचेत गराएको स्रोतले जनाएको छ ।

एमाले नेताहरु मुख्य सचिवको भूमिकाप्रति असन्तुष्ट बनेका छन् । मुख्य सचिवले अडान लिने हो भने कामचलाउ सरकारले दीर्घकालीन महत्वका निर्णय लिन नसक्ने एमाले नेताहरु बताउँछन् ।

‘हाम्रा नेताहरुले पटकपटक कामचलाउ सरकारका गलत कामलाई रोक्न सचेत गराइसक्नु भएको छ । मुख्य सचिवजीलाई धेरैपटक भनिएको छ । अझै पनि उहाँको भूमिका नकारात्मक हुन्छ भने भविष्यमा उहाँले त्यसको परिणति भोग्नुपर्ने हुन्छ’ एमाले नेता बिष्णु रिमालले भने, ‘पार्टी अध्यक्षको पनि यसबारेमा ध्यानाकर्षण भइसकेको छ ।’

एमाले महासचिव ईश्वर पोखरेलले विज्ञप्ति निकालेरै मुख्य सचिव लगायत कर्मचारी नेतृत्वलाई सचेत गराइसकेका छन् ।

सरकारले गोरखापत्र संस्थान र चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेकोमा सो निर्णय नयाँ सरकारले कुनै हालतमा निरन्तरता नदिने महासचिव पोखरेलले बताइसकेका छन् ।

बिहीबार अन्य संस्थानहरुमा पनि नयाँ नियुक्ति गर्ने तयारी भइरहेको सूचना पाएपछि एमालेले खबरदारी गरेको छ । नेपाल प्रहरीका उच्च अधिकारीहरुको बढुवा तथा ३० वर्षे सेवा अवधिको बारबन्देज हटाउने चलखेल भइरहेको जानकारी समेत आएको एमाले नेताहरुले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...