कमल थापा भन्छन्, धनकुटामा वाम तालमेल नै भएको छैन

अरु दलसँग तालमेल गरे कारवाही

Kamal thapa

धनकुटा । राष्ट्रिय प्रजातन्त्र पार्टी धनकुटाले एक साताअघि मात्र वाम तालमेल गरेर वाम गठबन्धनको पक्षमा मत माग्न थालेपछि केन्द्रले हस्तक्षेप गरेको छ ।

राप्रपा धनकुटाले धनकुटामा वाम गठबन्धनलाई समर्थन गरेको भनिए पनि केन्द्रिय कार्य समितिले त्यसको खण्डन गरेको छ ।

वाम गठबन्धनलाई समर्थन गरेको एकसातापछि केन्द्रिय अध्यक्ष कमल थापाले धनकुटामा कुनै वाम गठबन्धनसँग कुनै प्रकारको तालमेल नभएको बताएका छन् । ‘धनकुटामा कुनै तालमेल भएको छैन, त्यो हावा जस्तो कुरा हो’ थापाले भने, ‘धनकुटामा वाम तालमेल नै भएको छैन, राप्रपा धनकुटा आजदेखि वाम गठबन्धनको विरुद्धमा लागिसकेको छ ।’

उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले झापाबाहेक अन्य जिल्लामा वाम तालमेल नभएको र केन्द्रसँगको सहकार्य विना कतै सहकार्य गरेको भए त्यसलाई स्वीकार्न नसकिने बताए । ‘केन्द्रले त्यस्तो अधिकार नै दिएको छैन, अधिकार नै नदिई त्यसरी जिल्लाले आफुखुसी तालमेल गर्न पाइन्छ र ?’ थापाले भने, ‘अहिले जिल्लाले त्यसको खण्डन गरिसकेको छ, झापाबाहेक सबै ठाउँमा लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरिएको छ ।’

धनकुटामा ७ मंसिरमा पत्रकार सम्मेलन गरी राप्रपा धनकुटा अध्यक्ष वालानन्द भूर्तेलले आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्ने बताएका थिए ।

सो पत्रकार सम्मेलनमा राप्रपाका भूर्तेल, वाम गठबन्धनका तर्फबाट तिलकप्रसाद राई र दुर्गा लिंखाले संयुक्त विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभामा वाम गठबन्धनका राजेन्द्र राई र प्रदेशसभामा निरन राई र इन्द्रमणी पराजुलीलाई सूर्य चिन्हमा मतदान गर्ने सहमति गरिएको उल्लेख गरिएको थियो ।

तर, पार्टी अध्यक्ष कमल थापाले सबै जिल्लामा लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने उल्लेख गरेका छन् । उनले आफुखुसी अन्य दलसँग सहकार्य गरे कारवाही गर्ने बताए ।

प्रतिकृया दिनुहोस