सिरहा ४ मा दुई मन्त्रीको रोचक प्रतिस्पर्धा

आखिर कसले मार्ला त बाजी ?

Ajayshankar rajlal

लहान । आगामी मंसिर २१ गते हुने निर्वाचनमा सिरहामा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

सिरहाको क्षेत्र नं ४ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको हो ।

प्रतिनिधिसभाका लागि सो क्षेत्रबाट पूर्वमन्त्रीद्वयसँगै नेपाली काँग्रेसका नेता तथा निवर्तमान सांसद मोख्तार अहमद पनि सशक्त उम्मेदवारका रूपमा हेरिएको छ ।

विगतदेखि नै कम्युनिस्ट पार्टीको पकड भएको क्षेत्र मानिएको यस निर्वाचन क्षेत्रमा पर्ने पाँच वटा स्थानीय तहमध्ये गत असोज २ मा सम्पन्न स्थानीय तह निर्वाचनमा मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिकामा माओवादी केन्द्र र नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको थियो भने कल्याणपुर नगरपालिकामा कांग्रेस र विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरमले विजय हासिल गरेको थियो ।

पार्टीभत्र पनि कुशल संगठकका रूपमा परिचित माओवादी नेता नायक स्थानीयस्तरमा राम्रो पकड भएको नेताका रूपमा चिनिन्छन् । जनतामाझ लोकप्रिय नेताका रूपमा पहिचान बनाउनु र स्थानीय तह निर्वाचनमा एमाले र माओवादीले मत पाएकाले वाम गठबन्धनका उम्मेदवारलाई चुनावी अंकगणितको हिसाबले अरु उम्मेदवारभन्दा केही अगाडि देखिएको बुद्धिजीवीहरुका भनाइ छ ।

जनयुद्धकालदेखि नै अविनाशका रूपमा पहिचान बनाउन सफल पूर्वमन्त्री नायक चुनाव आफूले जित्ने बताउँछन् । उनी भन्छन्, ‘जनताकै बीचमा रहेर विगतदेखि नै जनप्रिय काम गरेकाले आफूलाई जनताले निर्वाचित गर्नेछ ।’

मधेश आन्दोलनकै बीचबाट राजनीतिमा सक्रिय भएका राजपा नेता यादवले पूर्वमन्त्री नायकलाई ठूलै टक्कर दिने अनुमान छ । यस क्षेत्रको दक्षिणी भेगमा यादव समुदायको बाहुल्यता रहेको र मधेश आन्दोलनको प्रभाव क्षेत्रसमेत भएकाले राष्ट्रिय स्तरमै बौद्धिक नेताका रूपमा पहिचान बनाएका यादवको पक्षमा पनि चुनावी परिणाम आउन सक्ने एकथरिको भनाइ छ । तर यस क्षेत्रका बुद्धिजीवीले कम्युनिस्टको पकड मानिएको यस क्षेत्रमा राजपा नेता यादवलाई जित्न गाह्रै हुने विश्लेषण गर्न थालेका छन् ।

मधेश आन्दोलनकै बीचबाट सक्रिय राजनीति शुरु गरेका राजपा नेता यादवले आफ्नो जित्ने आधार बलियो रहेको दाबी गर्छन् । ‘मधेश आन्दोलनको उद्गमस्थल हो सिरहा’ उनी भन्छन्, ‘मैले यहाँ बसेर मधेश र मधेशी जनताका लागि संघर्ष गर्दै आएकाले आफूलाई यहाँको जनताले रोज्छ भन्नेमा विश्वस्त छु ।’

त्यस्तै प्रखर वक्ता र इमान्दार छविका नेताका रूपमा परिचित काँग्रेस उम्मेदवार मोख्तार अहमद पनि चुनावी नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छन् । पहाडी समुदायका साथै दलित, यादव र मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा यी तीनैजना बीचको प्रतिस्पर्धा रोचक हुने स्थानीय बुद्धिजीवीको कथन छ । तीनैजनाले आफ्नो जित निश्चित रहेको दाबी गरे पनि जनताको अभिमत कसको पक्षमा आउने अहिले नै अनुमान गर्न गाह्रो रहेको स्थानीयवासी बताउँछन् ।

सिरहाको १७ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह समेटिएको यस क्षेत्रमा पुरुष ४३ हजार १९६ र महिला ३८ हजार १०६ गरी कूल ८१ हजार ३०२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...