धनकुटामा माओवादी कार्यकर्ता खोजी खोजी पक्राउ

Maobadi flg

धनकुटा । विभिन्न जिल्लामा नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले उम्मेदवारहरु माथि सांघातिक आक्रमणको प्रयास जारी राखेपछि धनकुटामा प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न विषेश अिभयान चलाउन थालेको छ ।

प्रहरीले जिल्लामा माओवादी गतिविधि शुन्य होस भनेर विप्लव नेतृत्वको माओवादीमा समर्थन गर्ने जतिलाई खोजी खोजी पक्राउ गर्न थालेको छ । यसैक्रममा प्रहरीले जिल्लाबाट हालसम्म ८ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले जिल्लामा शनिबार बिहान मात्रै पनि दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार महालक्ष्मी नगरपालिकाका सेक्रेटरी विशाल मगर र पाख्रिवास नगरपालिकाका सेक्रेटरी आलोक भनिने हरी श्रेष्ठलाई पक्राउ गरेको छ । दुवै जनालाई सादा पोशाकमा खटिएका प्रहरीले पाख्रीवास नगरपालिका–३ बाट पक्राउ गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए ।

निर्वाचन विरोधी कुरा गर्ने तथा मतदाता भड्काउने काम गरेको पाएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी राजभण्डारीले बताए । चुनावलाई शान्तिपूर्ण बनाउन उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ ।

पक्राउ पर्नेको संख्या ८ पुग्यो
धनकुटामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गत बुधबारदेखि ४ दिनमा प्रहरीले नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला इन्चार्ज गौतम र जिल्ला सदस्य रणकुमार राईलाई गत बिहीबार बिहान खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको साप्तिङटारबाट प्रहरीले पक्राउ गरेको थियो । बुधबार जिल्ला सदस्य बिज्ञान भनिने मोहन ओझालाई हिले, रञ्जित राईलाई थलथले र प्रेम कट्टेललाई पाख्रिवासबाट पक्राउ गरेको थियो । त्यसैगरी प्रहरीले जिल्ला सदस्य सुमन राईलाई शुक्रबार साँझ धनकुटा–२ भीरगाउँबाट पक्राउ गरेको छ ।

यसअघि गत असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि निर्वाचन विरोधी गतिविधि गरेको भन्दै नेकपाका जिल्ला इन्चार्ज आकाश शर्मा भनिने माधव गौतमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका थियो तर, उनीहरुलाई निर्वाचन सकिएपछि रिहा गरेको थियो । निर्वाचन विरोधी गतिविधि गर्दै आएको भन्दै प्रहरीले नेकपाका नेता–कार्यकर्तामाथि निगरानी बढाएको छ।

प्रतिकृया दिनुहोस