निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन, यसपटक हामी ब्यालेटले सहिद बनाईदिन्छौँ : राजेन्द्र महतो

Rajendra mahato ji

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एव्म धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेद्धवार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी कार्यक्रममा महतोले अहिलेको निर्वाचनलाई आफूहरुले निर्वाचनरुपी आन्दोलन कै रुपमा उपयोग गरिरहेको बताउँदै भने,‘जनताको मत आन्दोलनको पक्षमा आउनुपर्छ, हुनुपर्छ ।

आन्दोलनमा सहभागिता भएका सम्पूर्ण जनताहरुले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ।’

उनले बोल्दै नेता महतोले विगतमा भएका मधेश आन्दोलनका विरुद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा पनि तागदकारी हतियार ब्यालेट पाएकोले अब त्यसको जवाफ दिने बेला आएको स्पष्ट पारे ।

उनले भने,‘अब ब्यालेटको उपयोग जनताले गर्नेछन् । सरकारी शक्तिशाली हतियारभन्दा बलियो हतियार हामीसँग छ, हिजोको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठमा ६ जना मधेशी दाजुभाईहरुको हत्या भयो, अब त्यसको पनि हिसाबकिताब जनताले दिन्छन् । मधेशी जनताको विरुद्धमा संविधान जारी भयो, यो हमीलाई कहिल्यै स्विकार्य छैन, यो संविधानको पक्षमा आफूले पनि हस्ताक्षर गरेर अरु मधेशीलाई पनि बाध्य बनाउने कांग्रेसका शीर्ष मधेशी नेता यहीँ जनकपुरका हुन्।’

मधेश आन्दोलनका क्रममा राज्यले मधेशीहरुको हत्या गरेकोले अब सरकारमा बसेर गोली चलाउने, दमन गर्नेहरुलाई अब जनताले राम्रोसँग हिसाबकिताब चुक्ता गराउने उनको भनाई थियो । महतोले अघि थपे,‘जबसम्म समग्र मधेशको विकास हुँदैन, मधेशमा कुनै न कुनै आन्दोलन भैरहन्छ । ब्यालेट जनताको हातमा छ । मधेश आन्दोलनलाई समाप्त पार्नेको विरुद्धमा अब मत हालेर देखाउने बेला आएको छ। उनीहरुलाई चुनावबाटै हराएपछिमात्रै सिँगो मधेशी जनताले सफलता पाउनेछन्।’

उनको पार्टी स्वयम पनि मधेशीको भलो गर्ने पार्टी होईन, आन्दोलनकारीलाई गोली ठोक्नेले अहिले आएर म मधेशी जनताको पक्षमा छु भनेर भन्नु हाँस्यस्पद कुरा हो, यो कुरा जनताले अब पत्याउनेवाला छैनन, उनलाई साँच्चिकै भन्ने हो भने पनि नैतिक रुपमा मत माँग्ने अधिकार छैन ।’

सोही क्षेत्रबाट कांग्रेसबाट उम्मेद्धवार समेत रहेका निधिप्रति निकै कडा रुपमा प्रस्तुत भएका महतोले अब निधिलाई जनताले नपत्याउने ठोकुवा गरे उनले थपे,‘जसको सन्तानलाई गोली हानेर हत्या गर्नेले त्यही पीडित परिवारसँग अब के भनेर भोट माँग्छन, यो त हुनै सक्दैन, यो निर्वाचन क्षेत्र नम्बर ३ मा पनि हुँदैन, र धनुषामा पनि हुँदैन।’

उनले जनकपुरवासीले नेता निधिलाई पटक पटक चुनाव जिताएर पठाएपनि उनले यहाँको विकासको लागि सिन्को पनि नभाँचेको आरोप लगाए । उनले थपे,‘यो जनकपुरको अवस्था हेर्नुहोस्, यो निधि जहिल्यैपनि सरकारमा बस्यो, अहिले चुनावमा कुन आधारमा जनताको समर्थन लिन खोजेको हो ? मैले त बुझ्न सकेको छैन, त्यसैले अब उनले चुनाव जित्ने त कुरा परै जाओस्, मत माँग्ने पनि नैतिकता छैन, अब जनता विगतमा गरेको गल्ती दोहोर्याउने पक्षमा छैनन।’

महतोले निधिसँग जनकपुरका जनताले बदला लिने समेत दाबी गरे । उनले आफू सर्लाहीको मान्छे धनुषा आएको विषयलाई ठूलो नबनाउन आग्रह गर्दै भने,‘आन्दोलनकारीको कुनै गाउँ, घर, क्षेत्र र जिल्ला हुँदैन, हामी अहिलेपनि आन्दोलनकै क्रममा छौं, विगतमा ६/६ महिना विरगन्जमा गएर आन्दोलन गरें, कहिले जनकपुर त कहिले विराटनगरमा गएको छु, यो निर्वाचनमा पनि हामी आन्दोलन गर्न आएका हौँ।’

उनले पार्टी नेतृत्वको सल्लाह र आम मधेशी जनताहरुको माँग अनुसार नै आफू धनुषामा चुनाव लड्न आएको स्पष्ट पारे । उनले भने,‘उच्च प्राथमिकताका साथ म जनताको माँगलाई, आग्रहलाई सम्मान गर्दै यहाँ चुनाव लड्न आएको छु, जनकपुरको विजयी भनेको सम्पूर्ण मधेशको विजयी हो । यहाँको सफलता भनेको सबैको सफलता पनि हो, धनुषालाई प्राथमिकतामा लिएका छौँ।’

मधेशी जनताको हत्यारालाई सबक सिकाउनको लागि जनकपुरका जनताले नेतृत्ववर्ग आउनुपर्छ भनेर व्यापक माँग गरेको कारण आफू यहाँ आएको उनको भनाई थियो । उनले भने,‘लडाई गर्ने मान्छेको कुनै क्षेत्र हुँदैन, सहिदको कुनै क्षेत्र हुँदैन, आन्दोलन हुने सबै जिल्लाहरु उसको क्षेत्र हुन् ।

सबैभन्दा बढि र ठूलो आन्दोलन यहाँ जनकपुरमा भएको छ, गोली चलाउने र जनताको विरुद्धमा संविधान बनाउने नेताले जितेर गयो भने विश्वले के भन्छ ? त्यसैले यस्तो नहोस् भनेर नै हाम्रो पार्टीले म जस्तो दह«ो र सक्षम नेतृत्वलाई उसँग लड्न पठाएको छ। म पार्टीको भावनालाई सम्मान गर्दै यहाँ आएको छु । म लडाई लड्न आएको हुँ । अब तपाई मधेशी जनताले भरपुर जवाफ दिनुपर्छ ।’

समग्र मधेशमा तपाईहरुले कति सिट जित्नुहुन्छ भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा नेता महतोले भने,‘आन्दोलनले चुनाव जित्छ । जनताले जति सिट जिताउँछ, त्यति सिट जित्छौं । तर यति कुरा प्रष्ट हुनुहोस् कि हामी अध्यधिक धेरै सिट जित्छौं । अब कांग्रेसीको दिन गए । उनीहरुले हाम्रो विकास गरेनन् । जनताले अब कुरा बुझिसके ।

यहाँ मधेशवादीबाहेक अरु कसैको केही चल्नेवाला छैन । अब जनता भ्रममा छैनन् । संघर्ष नै हो । निर्वाचनलाई हामीले आन्दोलनकै रुपमा लिएका छौं । भोलि मधेशविरोधी नै चुनाव जितेर गए भने मधेश आन्दोलन गलत थियो भन्छन्, त्यसैले जनता सतर्क छन् । योपटक जनताको हातमा बन्दुक छ । त्यो बन्दुक भनेको ब्यालेट छ । बुलेटभन्दा पनि ब्यालेट नै तागददार छ। ब्यालेटले सहिद बनाईदिन्छौं ।’

महतोले जनकपुरको आत्मा मिथिला भएको भन्दै यसलाई स्मार्ट सिटी र साँस्कृतिक नगरीको रुपमा विकास गर्ने आफ्नो अठोट रहेको सुनाए । उनले थपे,‘धार्मिक पर्र्यटनको विकास हुन्छ । जनकपुर भनेको नै संस्कृतिको धरोहर छ । पर्यटनको हब बनाउन सकिन्छ । जनकपुर नमुना शहर बनाउनुपर्छ । मधेशको नाक भनेको जनकपुर नै हो । प्राथमिकताका साथ विकास गर्नुपर्छ । त्यो म गर्छु।’ कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले आफू चुनावी अभियान लिएर मधेश झरेको बताउँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र धाँधलीरहित बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्नेमा जोड दिए ।

प्रतिकृया दिनुहोस