अमेरिकी र रुसी विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता

Kerry and lavrow

न्युयोर्क,। अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच सोमबार बिहान न्युयोर्कमा भेटवार्ता भएको समाचार छ ।

उनीहरु संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा सहभागिताका लागि न्युयोर्क पुग्नुभएको समाचारमा जनाइएको छ । सोही क्रममा उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।

सो भेटवार्तापछि रुसी विदेशमन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले सम्वाददातालाई भने सो भेटका क्रममा विशेषगरी सिरियामा देखिएको राजनीतिक सङ्कटका विषयमा कुराकानी भएको थियो ।

मध्यपूर्वमा देखिएको समस्या, मिन्स्क सम्झौता र सिरियामा देखिएको पछिल्लो समस्याका बारेमा सो भेटवार्ताका क्रममा कुराकानी भएको उनले जानकारी दिए ।

जेनेभामा भएको सहमति बमोजिम शान्तिपूर्ण माध्यमबाट सिरियाली समस्याको समाधान निकाल्ने तथा सैन्य कारबाहीका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने विषयमा उनीहरुबीच कुराकानी भएको पनि प्रवक्ताले जानकारी दिए ।

सिरियामा विगत ६ बर्षभन्दा लामो समयदेखि हिंसा मच्चिएको छ । सो हिंसामा परी तीन लाखभन्दा बढीको ज्यान गएको छ । अरु लाखौँ व्यक्ति हिंसाको चपेटामा परेका छन् ।

उक्त समस्याको समाधानका लागि शान्तिपूर्ण वार्ताका प्रयासहरु भएका भए पनि त्यो सम्भव हुन सकेको छैन । सैनिक कारबाहीबाटै नागरिकको ज्यान जाने गरेको छ ।

महासभामा रुसी राष्ट्रपति पुटिन सहभागी नहुने यसैबीच न्युयोर्कबाट प्राप्त अर्को एक समाचारमा यस पटकको संयुक्त राष्ट्रसंघको महासभामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएको छ ।

तर उनका अमेरिकी समकक्षी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सो सभामा सहभागी भएर आफ्ना धारणा राख्ने भएको छ ।

यस पटक राष्ट्रसंघको ७२ औं महासभाको मुख्य आकर्षण अमेरिकी राष्ट्रपति ट्रम्प हुनुहुने भएका समाचारहरु पनि विभिन्न समाचार समितिहरुले जनाएका छन् ।

उत्तर कोरियाले बारम्बार गरिरहेको आणविक परीक्षण र त्यसको जवाफमा अमेरिकी राष्ट्रपतिले दिने जवाफ वा राष्ट्रसंघले नै यस विषयमा अख्तियार गर्ने रणनीतिलाई मुख्य आकर्षणका रुपमा हेरिएको समाचारमा बताइएको छ ।

राष्ट्रसंघको ७२ औँ महासभा औपचारिक रुपमा यसैहप्ता सुरु हुदैछ । यसको सम्पूर्ण तयारी पूरा भएको र यसका लागि विश्वका नेताहरु यहाँ आउने क्रम सुरु भएको र कतिपय आइसकेको न्युयोर्कबाट प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस