लमजुङमा पर्यटक चहलपहल शुरु

Lamjung 1

लमजुङ । लमजुङमा पर्यटकको चहलपहल शुरु भएको छ । सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहरमा पर्यटकको चहलपहल शुरु भएको हो ।

बढी व्यस्त मानिने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकको आगमन बढेपछि व्यवसायी उत्साहित भएका छन् । सेप्टेम्बर र अक्टोबर महिना नेपालमा पर्यटक भित्रिने मुख्य समयको रुपमा लिइन्छ ।

अहिले लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको संख्या दैनिक ७० को हाराहारीमा रहेको टिम्स पर्यटन जाँचकेन्द्र बेँसीशहरका नन्दराज भट्टले बताए ।

अन्नपूर्ण पदमार्गसँगै जिल्लाका घलेगाउँ, काउलेपानीलगायतका ग्रामीण पर्यटकीय गाउँ आउनेको संख्या पनि उल्लेख्य थपिएको छ ।

राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय चर्चा कमाएका लमजुङका पर्यटकीय गाउँले स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्नाले पर्यटन व्यवसायी पनि उत्तिकै उत्साहित भएका छन् ।

लमजुङ सदरमुकाम बेँसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीशहरबाट खुदी, भुलभुले, ङ्यादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

अन्नपूर्ण पदमार्गसँगै समुद्री सतहबाट सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल पुग्ने पर्यटक पनि प्रशस्तै आउने गरेका छन् ।
अन्नपूर्ण पदयात्रा मार्ग विश्वका १० उत्कृष्टमध्ये एक हो ।

एक्यापका अनुसार अन्नपूर्ण पदमार्गमा सबैभन्दा धेरै बेलायत, इजरायल, कोरिया, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायतका देशका नागरिक आउने गर्छन् ।

प्रतिकृया दिनुहोस