लुक्ला विमानस्थल ८ दिनदेखि अवरुद्ध, पर्यटक रोकिए  

Lukla 123

 

सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको ८ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् ।

बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको ८ दिनदेखि उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।

उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए ।

तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाका अनुसार अहिले पर्यटक आउने मौसम भए पनि दैनिक ४÷५ उडान हुने गरेकामा ८ दिनदेखि ठप्प भएको हो ।

लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकाप्टर मगाएर त्यहाँबाट राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन् ।

लुक्लाबाट फाप्लु पुग्न सामान्तया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ ।

सो जिल्लाको अर्को विमानस्थल फाप्लुमा पनि करिब १ महिनायता उडान हुनसकेको छैन । फाप्लुबाट भने सडक यातायात सञ्चालनमा रहेकोले यात्रुले विकल्प पाइरहेका छन् ।

प्रतिकृया दिनुहोस