प्रधानसेनापतिले भने– ‘सैनिक सहयोग निरन्तर रहोस्’  

Senatapat

 

लन्डन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक सहयोगलाई निरन्तरता दिन बेलायती सेनासमक्ष आग्रह गरेका छन् । बेलायतको साताव्यापी सद्भावना भ्रमणका क्रममा यहाँका उच्च सैनिक अधिकारीसँगको भेटवार्तामा क्षत्रीले यस्तो आग्रह गरेका हुन् ।

‘बेलायती र नेपाली सेनाबीचको सम्बन्ध अझ प्रगाढ तुल्याउन विभिन्न विषयमा कुराकारी भयो,’ क्षत्रीले कान्तिपुरसँग भने, ‘बेलायतले नेपाली सेनालाई दिएको सैनिक सहयोगबारे पनि विचारविमर्श भयो ।

नेपाली सेनाले बेलायतमा विशेष तालिम गरिरहेकामा त्यसलाई निरन्तरता दिनेबारे पनि छलफल भयो ।’ बेलायती सेना नेपाल गएर नेपाली सेनासँग निरन्तर तालिम लिने सम्बन्धमा समेत कुरा भएको क्षत्रीले बताए ।

भ्रमणका क्रममा बेलायती सेनाले द्वन्द्वकालमा नेपाली सेनालाई गरेको सहयोगबारे पनि छलफल भएको प्रधानसेनापतिले बताए ।

‘बेलायती सेनाले हामीलाई तालिमको कोटा अभिवृद्धि गर्दै आएकामा यसलाई निरन्तरता दिने विषयमा पनि कुरा भएको छ,’ क्षत्रीले भने, ‘खासगरी यो गुडविल भिजिट हो । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिने सिलसिलामा भ्रमण उपलब्धिमूलक भएको छ ।’

भूकम्पका बेला तीनवटा चिनुक हेलिकप्टर नेपालमा उड्न नदिई फर्काइएको र बहालवाला कर्णेल कुमार लामालाई बेलायतले मुद्दा हालेपछि बेलायत र नेपाली सेनाबीचको सम्बन्ध चिसिएको जिज्ञासामा क्षत्रीले केही असमझदारी भएको स्वीकार गर्दै भने, ‘भविष्यमा यस्तो घटना नदोहोरियोस् भन्नेमा हामी दुवै पक्ष उत्तिकै सचेत हुनुपर्छ । सच्चा र हार्दिक भ्रमणले यस्ता असमझदारी सम्बोधन गर्नेछ ।’

बेलायतले नेपालको विकास प्रक्रियामा पुर्‍याउँदै आएको सहयोग र पुरानो मित्रतालगायत विषयमा पनि छलफल भएको उनले जानकारी दिए । बेलायतका सेनाध्यक्ष निकोलस प्याट्रिक कार्टरको औपचारिक निमन्त्रणामा आइतबार बेलायत आएका प्रधानसेनापति क्षत्रीले बेलायती उच्च सैन्य अधिकारीसँग भेटघाट गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस