भारतमा भीषण वर्षा, ६ जनाको मृत्यु

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषणबाढी पहिरोमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ ।

गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ६ जनाको ज्यान गुमाएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू दुई जनाको क्रमशः तेहरी र पीथोरागर्ह जिल्लामा भेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

वर्षाका कारण देहरादुनदेखि दिल्लीसम्म जोड्ने राष्ट्रिय राजमार्गसमेत अवरुद्ध भएको जिल्ला उद्धार तथा व्यवस्थापन केन्द्रका अधिकारी पियुष राउटेलाले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

राज्य सरकारले बाढीपहिरोका कारण अप्रिय घटना हुनसक्ने आश¬ङ्काले केदारनाथ जाने तीर्थयात्रीहरुलाई समेत रोक लगाएको छ । मौसम विभागले अझै केही समय वर्षा भइरहने पूर्वानुमान गरेको छ । साथै प्रमुख नदीहरुलाई खतराको सूचीमा राखिएको छ ।

पहाडी राज्य उत्तराखण्ड यसअघि सन् २०१३ मा पनि बाढीपहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने ५ हजार ७ सय जना बेपत्ता भएका थिए । उनीहरुको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस