मेक्सिकोमा पत्रकारको हत्या बढ्यो, १६ वर्षमा सय पत्रकार मारिए

मेक्सिको । मेक्सिकोमा बितेका केही वर्षयतादेखि पत्रकार मारिने क्रम बढ्दो मात्रामा रहेको छ । यसलाई पत्रकारिता र नागरिक अभिव्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय संघङ्घसंस्थाले निकै दुःखद र गम्भीर अवस्था भनेका छन् ।

साल्भादोर आदामे नामका एकजना पत्रकारलाई अपहरणपछि हत्या गरिएको दुई हप्तापछि नै फेरि अर्का एकजना होन्डुरसका विदेशी पत्रकार पनि मेक्सिकोमा मारिएका छन् । यो अवस्थालाई अधिकारवादीहरुले चिन्तापूर्ण अवस्था भनेका छन् ।

होन्डुरसका एकजना पत्रकार गएको केही महिनायतादेखि मेक्सिकोको कारजाम प्रान्तमा बस्दै आएका थिए । उनले मेक्सिकोमा नै शरण मागिरहेका थिए । तर उनलाई सोही प्रान्तमा नै सोमबार हत्या गरिएको छ ।

शरण मागेर बसेका उनले स्थानीय एक टिभीमा काम गरिरहेका थिए । एडबिन रिभरे पाज नामका ती पत्रकारलाई उक्त राज्यको अकिक्यान नामक शहरमा बन्दुकधारीहरुले सोमबार दिउँसै हत्या गरेका थिए । सो जानकारी उक्त शहरबाट पत्रकार र अधिकारवादीहरुले दिएका छन् ।

उनले स्थानीय टिभीमा फोटो पत्रकारका रुपमा काम गरिरहेका थिए । उनी यसवर्ष मारिने सातौँ पत्रकार हुन् । यसअघि गत दुई हप्तामा सोही राज्यमा नै एकजना टिभी पत्रकारको गोली हानी हत्या गरिएको थियो ।

यहाँ सन् २००० यता उनी समेतगरी १०० जनाभन्दा बढी पत्रकार मारिएका छन् । मेक्सिको पत्रकारका लागि विश्वकै एक अति जोेखिमयुक्त देशका रुपमा रहेको छ ।

पत्रकार भएकै कारण मारिएका उनीहरुको हत्याराको खोजी भने हुने गरेको छैन । पत्रकारमाथि मेक्सिकोमा ठूलो हत्याहिंसा हुने गरेको भए पनि यसको आवश्यक सुनुवाई कुनै निकायबाट नहुँदा दण्डहीनता झन बढ्दै गएको पत्रकारहरुको गुनासो छ ।

पत्रकारको हक अधिकारको संरक्षणमा कार्यरत संस्थाहरुद्वारा प्रकाशित एक प्रतिवेदनमा पत्रकार हत्याका कम्तीमा पनि ९० प्रतिशत घटनामा सम्लग्नमाथि कारबाही हुने गरेको छैन ।

मेक्सिकोका लागि होन्डुरसका एकजना कन्सुलर राउल ओटेनियल मोराजिनले यो हत्याको छानबिन गरी दोषीमाथि कारबाही गर्न मेक्सिकोको सरकारसँग आग्रह गर्ने बताए ।

रिपोर्टर्स विदाउट बोर्डरका अनुसार मेक्सिको विश्वमा पत्रकारको हत्या हुने देशको उच्च जोखिममा पर्दछ । सो संस्थाका अनुसार पत्रकारमाथि हुने हिंसाको विश्व सूचीमा मेक्सिको तेस्रो स्थानमा पर्दछ ।

प्रतिकृया दिनुहोस